माओवादीभित्र भागशान्ति जयनेपाल-डा. सन्देश शर्मा

माओवादीभित्र भागशान्ति जयनेपाल-डा. सन्देश शर्मा


एकीकृत नेकपा (माओवादी)भित्रको ‘सङ्घर्ष र रूपान्तरण’को कोकोहोलो पदीय भागबण्डामा गएर साम्य भएको छ । माओवादीले आफ्नोतर्फबाट मन्त्रिमण्डलमा हेरफेर गरेर एक महिना नबित्दै धरापमा पर्ने सरकारमा पठाउन नयाँ अनुहार पठाएको छ । मन्त्री पदको भागबण्डा मिल्नासाथ माओवादीभित्रको झगडा साम्य हुनुले स्पष्ट गर्छ- झगडा त खाने मामलामै भएको रहेछ । वैचारिक, कार्यनीतिक वा कार्यक्रमिक अन्तरि्वरोध देखाउने दाँत मात्र रहेछन् । चपाउने दाँतले चपाउन खोजेको भनेको त उही पद, प्रतिष्ठा र पैसा नै रहेछ । र, माओवादीलाई एमाले बनाउने अभियान जसले चलाइरहेको छ, त्यो शक्ति सफल हुँदै गएको यसबाट स्पष्ट हुन्छ । माओवादीको एमालेकरणको उम्दा उदाहरण हो- माओवादीभित्रको पदीय भागबण्डा र भागबण्डालगत्तैको शान्ति । यसैलाई नेपालमा ‘भागशान्ति जयनेपाल’ भन्ने गरिएको छ । हालसम्म ‘लालसलाम’ भन्दै आएका माओवादी अब भने ‘भागशान्ति जयनेपाल’मै रमाउन थालेका छन्, रमाउनेछन् ! बधाई छ, काङ्ग्रेस र स्व. गिरिजाबाबुलाई, यसरी माओवादीमा व्यापक लोकतान्त्रिक रूपान्तरण भएकोमा ।
कस्तो दुखदार्श्चर्य ! आफ्ना मान्छेलाई मन्त्री बनाउन पाएपछि कमरेड किरण उर्फ चैतन्य उर्फमोहन वैद्यलाई ‘विद्रोह’ नभए पनि त हुनेरहेछ । पद र शक्तिको हिस्सा पाएपछि कमरेड बाबुराम भट्टराईलाई पनि ‘प्रचण्डको प्राधिकार’ मान्य हुने रहेछ । प्रचण्ड त प्रचण्डै भइगए । संसदीय दलको नेता र अध्यक्ष भइरहन पाएपछि ‘आफूलाई भौतिक रूपमै सिध्याउन खोज्ने वा पार्टीभित्रै धुरु-धुरु रुवाउने षड्यन्त्रमा लागेकाहरू’ पनि मित्र भइहाल्ने रहेछन् । पद र शक्तिको यही बाँडफाँड नमिल्दा उत्पन्न हुने झैझगडा र कोकोहोलोलाई माक्र्सवादले ‘सङ्घर्ष’ र ‘अन्तरि्वरोध’ भन्दोरहेछ । पदीय भागबण्डा मिल्नुलाई माक्र्सवादले ‘नयाँ आधारमा नयाँ एकता’ भन्दोरहेछ । अनि भागबण्डापछि मुलुकमा सिर्जना हुने अवस्थालाई माक्र्सवादले ‘रूपान्तरण’ भन्दोरहेछ । यसैलाई विज्ञानको नियम मानेर माओवादी कार्यकर्ता चुपचाप नेतृत्वको नौटङ्की हेरेर बस्नुपर्दोरहेछ । सबैभन्दा ठूलो कुरो, पन्ध्र हजार नेपालीको बलिदान त केही नेतालाई प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री बनाउन पो भएको रहेछ !
हुन त, माओवादीभित्रको अन्तरसङ्घर्षसँग पङ्क्तिकारलाई कुनै लेनादेना छैन । तर, बाटोमा हिँडिरहँदा कुनै भौतिक संरचना ढल्यो भने बटुवालाई पनि त्यसले किच्न सक्छ । संरचना ढल्छ र त्यसले आफूलाई पनि किच्छ कि भनेर बटुवा सजग भएर हिँड्नुपर्छ । आफ्नो चर्चित स्तम्भ ‘समय समय’मा एकपटक जनार्दन आचार्यले एउटा कथा उल्लेख गरेका थिए । अलिअलि सम्झना भएअनुसार सो कथामा हुन्छ के भने जनार्दन आचार्यलगायतका केही साथी असनको गल्ली भएर कतै जाँदै थिए । त्यसैबेला झमझम पानी पर्‍यो । ती बटुवाहरू एउटा घरमा ओत लाग्न पुगे तर भयभीत हुँदै । किनकि, त्यो घर कुनै पनि बेला भत्कन सक्थ्यो, जीर्ण थियो । हुन त त्यो घर भत्कोस् कि नभत्कोस्, अरूलाई केको टन्टा ? तर, घर भत्किएमा ओत लागेका बटुवालाई पनि त्यसले पर्ुनसक्ने खतरा रहेकाले त्यो घर नभत्कियोस् भन्ने कामना बटुवाले पनि गर्छ । माओवादी पनि नभत्कियोस् भन्ने चिन्ता यहाँ जुन हिसाबले गरिँदै छ त्यो भनेको ‘बटुवा-चिन्ता’ नै हो । किनकि, माओवादी फुटेमा त्यसले माओवादीसँग सरोकार नराख्ने पक्षलाई पनि त पिरोल्न सक्छ ।
तर, जुट र फुट इमानको धरातलमा हुनुपर्छ । स्वार्थका लागि हुने जुट र फुट भनेको बेइमानी मात्र हो । कम्युनिस्ट पार्टीमा आरोप-प्रत्यारोप अलि बढी नै ‘घटिया’ हुन्छ । सो आरोप-प्रत्यारोपले गैरकम्युनिस्टको कानलाई पनि डिस्टर्भ गर्छ । अस्ति प्रचण्डको प्रमुख आतिथ्यमा प्रज्ञा-प्रतिष्ठानमा आयोजित एक अन्तर्त्रिmयाका वक्ताहरूले अर्को पक्षलाई तल्लो स्तरमै गाली गरे । हुन त उनीहरू आफूलाई नागरिक समाज वा स्वतन्त्र बुद्धिजीवी, लेखक र पत्रकार ठान्छन् । तर, उनीहरूमध्ये कसैले वैद्य र बाबुरामलाई षड्यन्त्रकारी भने । अझै कसैले ‘टपरे’ भने । अनि स्वयम् प्रचण्डले स्व. गिरिजाप्रसाद कोइरालाको हवाला दिएर भने, ‘गिरिजाबाबुले भन्नुभएको थियो- प्रचण्डजी तपाईंलाई बाहिरबाट खतरा छैन, भित्रैबाट छ । तपाईंलाई तिनले कि भौतिक रूपमै सिध्याउँछन् कि पार्टीभित्रै धुरुधुरु रुवाउँछन्, मलाई अहिले आएर बूढा -गिरिजाबाबु)ले बुझेरै भनेका रहेछन् जस्तो लागेको छ ।’ यसरी आफ्ना विरोधीपक्ष आफ्नो भौतिक सफायामै लागेको आशङ्का सार्वजनिक रूपमै गर्ने चलन कम्युनिस्ट पार्टीमा मात्र चल्तीमा छ । आफूविरोधीलाई ‘गद्दार’, ‘सीआईडी’, ‘दक्षिणपन्थी’लगायत चरम आरोप लगाएर शत्रुवत् कटुता प्रकट गर्ने कम्युनिस्ट नेताहरू एकताको नाममा भने चर्को नाटक गर्छन्, एकता र रूपान्तरण शब्दालङ्कार भरेर । चुनवाङ बैठकपछिको माओवादी नेताको रुवावासी देखेकै हो । अनि त्यसयताका गालीगलौज पनि देखे-सुनेकै हो । यसैगरी अहिलेको भागबण्डाको नाटक पनि देखिहाल्यौँ ।
कम्तीमा माओवादीचाहिँ एमाले नबनोस् भन्ने पङ्क्तिकारलगायत धेरैको चाहना थियो । तर, माओवादी एमाले होला कि भन्ने चिन्ता गरेर बसेकाहरूले चालै नपाई माओवादी एमाले भइसकेछ । माओवादीबाट अचेल ‘एमाले-एमाले गन्ध’ आउनुको अर्थ हो- ऊ एमाले भइसकेको छ । त्यो रूपमा प्रकट हुने क्रममा छ । विचार र सिद्धान्तका नाममा कोकोहोलो मच्चाउने, देशको शान्ति र संविधान प्रक्रिया नै धरापमा पार्ने अनि पदीय भागबण्डामा गएर सहमति कायम गर्ने शैली भनेको एमालेशैली हो । पदीय भागबण्डा नमिलेको भए माओवादी पनि हिजो एमाले फुटेझैं फुट्ने त रहेछ नि ! यदि सबैलाई पद नै प्यारो रहेछ भने किन ‘क्रमभङ्ग’ र ‘महान् क्रान्ति’को नारा दिइएको होला ? ‘भागशान्ति जय नेपाल’ नारा नै उपयुक्त छ नि ! किन ‘नयाँ नेपाल’को नारा दिएको होला ?