‘गिरिजाप्रसादको योगदानलाई भुल्न नहुने’

‘गिरिजाप्रसादको योगदानलाई भुल्न नहुने’


नेपाली काङ्ग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकमा शान्ति स्थापनार्थ नेतृत्वदायी भूमिका खेल्नुहुने पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई देशले बिर्सन नहुने बताएकी छिन् ।

जिपी कोइराला फाउण्डेसनले शुक्रबार भक्तपुरमा आयोजना गरेको गिरिजाप्रसाद कोइरालाको तस्बिर प्रदर्शनी एवं विचार गोष्ठीमा उनले देशमा शान्ति स्थापनादेखि राजतन्त्र अन्त्य र संविधान निर्माणमा समेत सबै दललाई एकताबद्ध बनाइ अगाडि बढ्नुभएको कोइरालाको योगदानलाई कसैले भुल्न नहुने बताइन् ।

सशस्त्र युद्धमा होमिएको तत्कालीन माओवादीलाई शान्ति वार्तामा ल्याउन, राजतन्त्र विरुद्धको आन्दोलनमा सबै दलको मोर्चाबन्दी बनाइ आन्दोलन गर्न र संविधान निर्माणमा समेत कोइरालाको अतुलनीय भूमिका रहेको नेत्री कोइरालाको भनाइ थियो ।

काङ्ग्रेसका केन्द्रीय नेता गुरुराज घिमिरे, कमला पन्त, रीता खनाल, पूर्व सांसद लेखनाथ न्यौपाने, काङ्ग्रेस भक्तपुर जिल्ला अध्यक्ष दुर्लभ थापा, जिपी फाउण्डेसनका जिल्ला अध्यक्ष विदुरमानसिंह बस्नेतलगायतले गिरिजाप्रसाद कोइरालाले सहमति, सहकार्य र एकताका लागि खेलेको भूमिकाको चर्चा गरे ।