सरकारसँग जारी वार्ता सकारात्मक : राप्रपा

सरकारसँग जारी वार्ता सकारात्मक : राप्रपा


राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल सरकारसँग जारी वार्तालाई सकारात्मक रुपमा लिँदै यथाशीघ्र चाँडो दोस्रो चरणको वार्ता प्रारम्भ गर्न पार्टी वार्ता समितिलाई निर्देशन दिएको छ । राप्रपाका अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी कार्यालय धूम्रबाराहीमा शुक्रबार बसेको पार्टीको विशेष बैठकमा पार्टी र नेपाल सरकारबीचको वार्ताका सम्बन्धमा सो पार्टीका वरिष्ठ नेता दीपक बोहराले बैठकलाई जानकारी दिएका थिए ।

बैठकमा ‘जनसङ्घर्ष’को पहिलो चरणको समीक्षा र दोस्रो चरणको तयारीका सन्दर्भमा संयोजक तथा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङबाट प्रस्तुत प्रतिवेदनमाथि विस्तृत छलफल र समीक्षा भएको पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रदेश कार्यसमितिका अध्यक्षहरुले प्रदेशको विद्यमान सङ्गठनात्मक स्वरुप र भावी कार्ययोजनाबारे बैठकमा प्रस्तुत गरे भने सङ्गठन सुदृढीकरण र सक्रिय सदस्यता वितरण कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउन पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य तथा सबै तहका कार्यसमितिलाई बैठकले निर्देशन दिएको बताइएको छ ।