नेकपाको २१ जनसंगठनका नेतृत्व घोषणा

नेकपाको २१ जनसंगठनका नेतृत्व घोषणा


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विभिन्न जनसंगठनको नेतृत्वको एकतालाई पूर्णता दिएको छ । पार्टी एकताको एक वर्ष तथा जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस मनाउन तत्कालीन नेकपा (एमाले) को पुरानो कार्यालय मदननगर, बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा ती नेतृत्वको नामावली सार्वजनिक गरिएको हो ।

पार्टीका महासचिव विष्णु पौडेलले बिहीबार सम्पन्न सचिवालय बैठकको निर्णयअनुसार ती २१ वटा जनसंगठनको नाम, संयोजक, सहसंयोजक र केन्द्रीय कमिटीको संख्या सार्वजनिक गरेका हुन् ।

घोषित विवरणअनुसार अखिल नेपाल किसान महासंघको संयोजकमा वामदेव गौतम र सहसंयोजकमा चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल राष्ट्रिय विद्यार्थी संगठनको संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ, युवा संघ नेपालको संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’, सहसंयोजक रमेश पौडेल तोकएका छन् ।

यसैगरी अखिल नेपाल महिला संघको संयोजकमा अमृता थापा र सहसंयोजकमा सीता पौडेल, ट्रेड युनियन महासंघ नेपालको संयोजक विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिंखडा, प्रेस संगठन नेपालको संयोजकमा महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेत चयन भएका छन् ।

यसैगरी, नेपाल बुद्धिजीवी संगठनका संयोजक डा. दिनेशचन्द्र देवकोटा, सहसंयोजकमा कृष्ण केसी, पेसागत महासंग नेपालको संयोजकमा विश्वनाथ प्याकुरेल र सहसंयोजकमा दयाराम बस्याल, जनसांस्कृतिक महासंघ नेपालको संयोजकमा खगेन्द्र राई र सहसंयोजकमा सूर्य पौडेल (सरल सहयात्री) चयन भएका छन् ।

त्यस्तै, नेपाल मुस्लिम संगठनको संयोजकमा सिराज महम्मद फारुकी, सहसंयोजकमा अत्तहर हुसेन फारुकी, नेपाल दलित मुक्ति संगठनको संयोजकमा तिलक परियार, सहसंयोजकमा ओमबहादुर विश्वकर्मा, आदिवासी जनजाति महासंघको संयोजक सुरेश आलेमगर र सहसंयोजकमा शेरबहादुर तामाङ, नेपाल अपांग संगठनको संयोजकमा इन्द्रमाया गुरुङ, सहसंयोजकमा रामप्रसाद ढुंगाना, खेलकुद महासंघ नेपालको संयोजकमा पुरुषोत्तम पौडेल र सहसंयोजकमा शिव कोइराला घोषित भएका छन् ।

यसैगरी उद्योग व्यवसायी महासंघको संयोजकमा लक्ष्मीदास मानन्धर र सहसंयोजकमा श्याम पाठक, प्रवासी नेपाली मञ्च (भारत) मा संयोजक लोकनाथ भण्डारी र सहसंयोजकमा ईश्वरी भण्डारी, नेपाल भूमिहीन सुकुमबासी संगठनको संयोजकमा रामप्रीत पासवान र सहसंयोजकमा पदम देवकोटा, भूतपूर्व सैनिक तथा प्रहरी संगठनको संयोजकमा धनबहादुर चन्द र सहसंयोजकमा जीवन बुढा, मानवअधिकार तथा सामाजिक अभियान नेपालको संयोजकमा मीनबहादुर शाही र सहसंयोजकमा हुकुम पोखरेल रहेका छन् ।

नेपाल कानुन व्यवसायी संगठन, नेपाल निर्माण व्यवसायी संगठन र नेपाल इन्जिनियर संगठनको यसअघि नै एकता सम्पन्न भइसकेको थियो । बाँकी रहेको एकता प्रक्रिया चाँडै टुंगो लगाइने महासचिव पौडेलले जानकारी दिए ।