एमाले र माओवादी एकताको एकबर्ष पूरा

एमाले र माओवादी एकताको एकबर्ष पूरा


आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा घोषणाको एक वर्ष पूरा भएको छ । एमाले र माओवादी दुई ठूला कम्युनिष्ट पार्टी गत वर्ष आजकै दिन एक भएका थिए ।

तर, एक वर्षमा पनि सांगठनिक एकता अलमल मै रहेको नेकपाका नेता तथा कार्यकर्ता नै बताउँछन् । पार्टीभित्र एकातिर फरक समूह र उपसमूह थपिँदै छन् भने अर्कोतिर शीर्ष तहमै विवादहरू दोहोरिइरहेका छन् ।

बिहीबार बसेको सचिवालय बैठकले नेकपाले पोलिटब्यूरो सदस्यसहित जनवर्गीय संगठनको नेतृत्व टुङ्गो लगाएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रको भागवण्डा गर्दै पोलिटब्यूरो सदस्य र अधिकांश जनवर्गीय संगठनको संयोजक र सहसंयोजक तोकेको हो । भागबण्डाअनुसार नेकपाको पोलिटव्यूरोमा पूर्व एमालेबाट ८१ र पूर्वमाओवादी केन्द्रबाट ६६ जना गरी १ सय ४७ जनाको हुनेछ । पोलिटव्यूरोमा स्थायी कमिटीका ४५ सदस्य पनि रहने नेकपाले जनाएको छ । पूर्व एमालेबाट यसअघिको पोलिटव्यूरोमा रहेका ५९ जना परेका छन् । त्यस्तै पूर्वएमालेबाट २२ जना नयाँ अनुहारले पोलिटव्यूरोमा स्थान पाएका छन् । जनवर्गीय संगठनमा पूर्वएमालेले १३ र पूर्वमाओवादीले ९ वटाको नेतृत्व पाएका छन् ।

संयोजक तत्कालिन एमालेले पाएको संगठनमा सह–संयोजक माओवादी केन्द्र र तत्कालिन माओवादीले पाएको संगठनमा एमालेले सह–संयोजक पाएको छ ।