ओमानमा रहेका पुनद्वारा दाङका अग्निपीडितलाई राहत

ओमानमा रहेका पुनद्वारा दाङका अग्निपीडितलाई राहत


  • आरके श्रीवास्तव, ओमा

गत वैशाख २४ मा दाङ सिरुखर्क भएको आगलागी घटनाका पीडित बाह्र परिवारलाई रहत वितरण गरिएको छ । घोराही उपमहानगरपालिका १ सिमलटारा स्थायी बसोबास भई हाल वैदेशिक रोजगारीको सिलसिलामा ओमानमा रहेका शोभाराम पुनले पीडित परिवारलाई आफ्ना आमाबुबाको हातबाट लत्ताकपडा र खाद्यान्न वितरण गराएका हुन् ।

विगत १० वर्षदेखि वैदेशिक रोजगारीका लागि ओमान रहेका पुन सामाजिक काममा निकै सकृय छन् । उनी ओमान नेपाली एकता समाजमा पनि आबद्ध छन् ।

घटना र विचारसँगको कुराकानीमा पुनले भने, ‘ड्युटीबाट भर्खरै रुममा फर्किएको थिएँ, फेसबुक खोलेर हेर्दा आफू जन्मेहुर्केको गाउँ ठाउँमा वनबाट निस्केको आगोले सारा गाउँ नै जलाएको समाचार आयो, मन निकै आत्तियो र के गरौँ कसो गरौँ भन्ने भयो । तत्काल घटनास्थल पुग्ने मेरो अवस्था नभएकोले घरमा फोन गरेर बुबाआमासँग बुझेँ । कसैको केही नरहेको, सबै जलेर नष्ट भएको खबर सुनेर मन भक्कानियो । अनि, बुबाआमा र श्रीमतीसँग समन्वय गरेर पीडित सबै घरपरिवारलाई चामल, नुन, तेल लत्ताकपडा वितरण गराएँ ।’

‘गर्मी यामको समय छ आगलागी हुने सम्भावना अति नै हुन्छ तर त्यसबाट बच्ने उपाय हामीसँग केही छैन, अहिले त स्थानीय सरकार छ तर नगरपालिकाको कार्यलय १५ किलोमीटर टाढा रहेकोले त्यहाँबाट दमकल आउन नै समस्या छ । वडा कार्यलयमा त झन केही पनि छैन । कमसेकम प्रत्येक वार्ड कार्यलयमा आगो निभाउने ग्यास बल तथा सिलिन्डर राख्न सके केही हदसम्म क्षतिपूर्ति नियन्त्रण गर्न सकिन्थ्यो कि ?’ चिन्ताका साथ पुनले भने ।