‘१३औँ साग राष्ट्रिय प्रतिष्ठा र अन्तर्राष्ट्रिय जिम्मेवारी’

‘१३औँ साग राष्ट्रिय प्रतिष्ठा र अन्तर्राष्ट्रिय जिम्मेवारी’


  • श्रीविक्रम भण्डारी

पछिल्लो समय १३औँ सागको मिति तोकिएपछि मन्त्री जगतबहादुर सुनारले १३औँ साग राष्ट्रको प्रतिष्ठा र अन्तर्राष्ट्रिय जिम्मेवारी भएको खुलासा गरेका छन् । आठौँ साफ र १८औँ एसियाली खेलकुदको साख जोगाउन १३औँ साग सिङ्गो राष्ट्रको लागि गौरवको कुरो भएको र यसले नेपाली खेलकुदमा सकारात्मक सन्देशको प्रवाह गर्ने बताएका छन् ।

यसभन्दा अघि दुई पटक १३औँ सागको आयोजनाको मिति सारणी गरिएको थियो । १३औँ साग ६ महिनापछि धकेलिएको थियो । सागको आयोजना नियमअनुसार ०७५ को फागुन–चैतमा हुनुपथ्र्यो । त्यसबेला परेको आठौैँ राष्ट्रिय खेलकुद प्रतियोगिताको चटारो र पूर्वाधार निर्माणमा भएको ढिलाइका कारण तोकिएको समयमा १३औँ आयोजना हुन सकेन । अर्थात् सो दुई वर्षको अवधिमा राज्यले १३औँ सागको आयोजनाबारे एक शब्द पनि उच्चारण गरेन । १३औँ सागको आयोजनामा आयोजक राष्ट्र नेपालले ढिलासुस्ती गरेपछि दक्षिण एसियाली राष्ट्रहरूले सागको आयोजना तोकिएको समयमा गर्न नेपाल ओलम्पिक कमिटीमार्फत नेपाललाई दबाब दिएका थिए ।

त्यसपछि दबाबमा परेको नेपालले थाइल्यान्डमा बसेको ओलम्पिक कमिटी अफ एसिया (ओसीए)को बैठकमा पहिले सारणी गरेको मितिमा नै १३औँ सागको आयोजना गर्ने प्रतिबद्धता जाहेर गरेको थियो । उक्त बैठकमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र राज्यको प्रतिनिधिको रूपमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले सहभागिता जनाएका थिए ।

उक्त ओसीएको बैठकमा सहभागिता जनाएको एक साताभित्रै युवा तथा खेलकुद मन्त्रालयका कर्मचारीहरूको सहभागितामा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले १३औँ सागको आयोजनाको मिति घोषणा गरेका थिए । सो घोषणामा श्रेष्ठले १३औँ सागको आयोजना मङ्सिर १५ देखि २४ गतेसम्म हुने जानकारी गराएका थिए । अहिले आठौँ राष्ट्रियको समापनसँगै गत साता मन्त्रालयमा बसेको बैठकले १३औँ सागका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने निर्णय गरेको छ । यो निर्णयसँगै तातेका खेलकुदमन्त्री सुनारले १३औँ सागको आयोजनाको विगुल फुक्दै सरकार सागको तयारीमा होमिएको सार्वजनिक रूपमा सूचना प्रभाव गरेका छन् । जसलाई अहिले नेपाली खेलकुदमा सकारात्मक रूपमा लिइएको छ ।

दक्षिण एसियाली खेलकुदको शुभारम्भ नेपालबाट भएको थियो । दक्षिण एसियाली मुलुकहरूका बीचमा आपसी भाइचारा, प्रेम, सद्भाव र शान्ति स्थापनाका लागि नेपालले पहिलोपटक सन् १९८४ मा काठमाडौंमा पहिलो साफ प्रतियोगिताको आयोजना गरेको थियो । त्यसपछि सन् १९९९ मा आठौँ साफको दोस्रोपटक सफल आयोजना गरेको नेपालले १३औँ सागको आयोजनाको जिम्मेवारी पाएको थियो । नेपालले आठौँ सागको आयोजना गर्दा ऐतिहासिक सफलता प्राप्त गर्दै साफमा पहिलोपटक दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । अहिलेसम्म भारत, बंगलादेशले तीन तीनपटक सागको आयोजना गरिसकेका छन् भने नेपालले १३औँ सागको सफल आयोजना गर्न सके नेपाल पनि उक्त लिस्टमा समावेश हुनेछ ।

खेलकुदमन्त्री सुनारले १३औँ सागको तयारीमा सरकार जुटिरहेको स्पष्ट पारेका छन् । आगामी डिसेम्बर १ देखि १० तारिखसम्म हुने उक्त प्रतियोगिता भव्य रूपमा आयोजना र सफल रूपमा सम्पन्न गर्ने गरी सरकार तयारीमा जुटिरहेको मन्त्री विश्वकर्माले विश्वास दिलाए । मन्त्री विश्वकर्माले अब साग प्रतियोगिताको मितिमा कुनै द्विविधा नभएको पनि स्पष्ट पारे ।

सरकारको आर्थिक वर्ष ०७६ र ०७७ सालको नीति तथा कार्यक्रममा पनि सन् २०१९ भित्रै अन्तर्राष्ट्रिय महत्वको १३औँ साग प्रतियोगिता आयोजना गर्ने कुरा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधनको क्रममा भनिसकेको र कार्यक्रम पनि पारित भइसकेको मन्त्री सुनारले जनाए । केही दिन अघि मात्रै आफ्नै अध्यक्षतामा उक्त प्रतियोगिता तयारी तथा व्यवस्थापन समिति गठन भएको उनले जानकारी दिए । उनले भने, ‘हालै बसेको समितिको बैठकले महत्वपूर्ण निर्णय गरेको छ । अब हामीले छिट्टै लोगो र मस्कट सार्वजनिक गर्छौँ ।’ त्यति मात्रै नभए उक्त प्रतियोगितामा सहभागी राष्ट्रहरूलाई औपचारिक रूपमै आमन्त्रण गर्ने पनि निर्णय भएको उनले जनाए ।

विश्वकर्माले १३औँ साग आफूहरूको लागि गौरवको विषय पनि भएकोले भव्यताका साथ सम्पन्न गर्नेतर्फ तयारीमा जुटिसकेको बताए । हामीले तेस्रोपटक सागको आयोजना गर्दैछौँ भन्दै सुनारले भने, ‘यो प्रतियोगिताको विगत हेर्दा हाम्रो गर्विलो इतिहास छ, १९९९ मा नेपालले दोस्रो स्थान हासिल गरेको थियो ।’ सीमित स्रोत र साधनको बाबजुद पनि नेपालले खेलकुद क्षेत्रमा प्रगति गरेको सुनारले स्पष्ट पारे । उनले भने, ‘हाम्रो उत्साहजनक र गौरव गर्न सक्ने इतिहास छ । र, अझै गौरव गर्नलायकको अवस्था बनिरहेको छ ।’

१३औँ साग प्रतियोगितमा नेपालले आफ्नो इतिहास कायम र रक्षा गर्ने अभिभारा आफूहरूसँग रहेको पनि मन्त्रीले सुनारले सुनाए । यो प्रतियोगितामा धेरैभन्दा धेरै पदक जित्ने आफूहरूको लक्ष्य र विश्वास रहेको पनि दाबी गरे । हामी उच्च मनोबल र ठूलो लक्ष्य राखेर अघि बढिरहेका छौँ, त्यस्तै, तयारी तथा व्यवस्थापन समितिले राष्ट्रिय टिम घोषणा गर्नेदेखि लिएर खेलाडी छनोट गर्ने पनि सुनारले जनाए । ‘खेलाडी छनोट गरिसकेपछि हामी बन्द शिविरमा राखेर आवश्यक प्रशिक्षण दिन्छौँ । जेठसम्म सबै काम सम्पन्न गरिसक्छौँ ।’ प्रतियोगितामा २७ वटा खेलको आयोजना गरिने पनि उनले स्पष्ट पारे ।

त्यस्तै, प्रतियोगितालाई लक्षित गरेर पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेको पनि सुनारले जनाए । भूकम्पपछि भत्किएको दशरथ रंगशालाको पुनर्निर्माणको काम पनि तीव्र गतिमा हुनुको साथै अन्तिम चरणमा पुगेको छ । सातदोबाटो पौडीपोखरीको पनि निर्माण कार्य सम्पन्न भइसकेको छ । सातदोबाटोकै तेक्वाक्दो र करातेको हल पनि निर्माण भइसकेको छ ।’ पोखरा रंगशाला निर्माण तीव्र गतिमा भइरहेको पनि सुनारले जानकारी गराएका छन् । असार मसान्तसम्म सबै संरचनाको निर्माण कार्य सम्पन्न भइसक्ने मन्त्री सुनारको दाबी छ । साग प्रतियोगिता आयोजना तथा सञ्चालनसम्बन्धी कार्यविधि पनि आउने हप्ता मन्त्रिपरिषद् बैठकमा पेस हुने जनाए । उनले भने, ‘कार्यविधि पेस भएपछि हामी मसिनो ढङ्गले तयारीमा लाग्छौँ ।’