केपीमाथि ‘ब्रह्मास्त्र’ प्रहारको तयारी

केपीमाथि ‘ब्रह्मास्त्र’ प्रहारको तयारी


दुईतिहाइ बहुमत प्राप्त नेपालको इतिहासकै सर्वाधिक शक्तिशाली सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध निर्णायक प्रहारको तयारी भइरहेको जानकारी घटना र विचारलाई प्राप्त हुन आएको छ । कसैलाई नसुन्ने, नटेर्ने र कुनै पनि परिणाममुखी काम नगर्ने अवस्था रहेको भन्दै सत्तारुढ नेकपाका नेताहरू केपीविरुद्ध ‘ब्रह्मास्त्र’ छोड्ने निचोडमा पुगेका हुन् ।

प्रधानमन्त्री केपी ओली जेठ १५ गते बजेट प्रस्तुत भइसकेपछि मन्त्रिमण्डल पुनर्गठन गरेर सरकारलाई गति दिने तयारीमा रहेको बुझिन्छ । उनले निकम्मा ठहर भएका केही मन्त्रीहरूलाई बिदा दिने, केहीको विभाग परिवर्तन गर्ने र केही नयाँ अनुहारलाई मन्त्रिमण्डलमा सामेल गर्ने आन्तरिक तयारी गरिरहेका बेला नेकपाकै उच्चस्तरका नेताहरूचाहिँ केपीलाई नै विस्थापित गर्ने योजनामा रहेका छन् ।

यतिबेला प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमसहित केही दोस्रो पुस्ताका नेताहरू केपीलाई सत्ताबाट कसरी मुक्त गर्ने भन्ने छलफलमा छन् । कुनै पनि निर्णय लिँदा पार्टी नेताहरूसँग परामर्श नगर्ने, सम्पूर्ण शक्ति आफूमा केन्द्रित गर्ने र पार्टी एकीकरण प्रक्रियालाई टुङ्गोमा पुऱ्याउन नचाहने आरोप केपीमाथि लागेको छ । मदन भण्डारी प्रतिष्ठानको नाममा समानान्तर सङ्गठन निर्माण गरेको आरोप पनि पार्टीका नेताहरूले ओलीमाथि लगाएका छन् ।

आपसी छलफलका क्रममा यसप्रकारका आरोप लगाउने गरिएको भए पनि केपीविरुद्ध खुलेर प्रस्तुत हुने आँट भने अहिले कुनै पनि उच्चस्तरको नेताबाट प्रकट भइरहेको छैन । प्रचण्डलाई ‘हेग’ देखाएर तर्साएको, माधवकुमार नेपाललाई ललितानिवास (बालुवाटार) जग्गा घोटाला प्रकरण अघि सारेर काबुमा लिएको, वामदेव गौतम आफ्नै लोभले गर्दा रक्षात्मक बन्नुपरेको, झलनाथ खनाल एक महिलाले बनाएको भिडियोका कारण सकसमा परेको र बाँकी नेताहरूको प्रयासले मात्र कुनै सुखद परिणाम नआउने भएपछि उल्लिखित नेताहरू केपीमाथि कसरी आक्रमण गर्ने भन्ने विषयलाई लिएर चिन्तित हुन पुगेको बताइन्छ ।

यस सन्दर्भमा सामान्य आलोचना या प्रहार नगरी सबै मिलेर एकैपटक घातक हमला गर्ने सोच नेताहरूले बनाएको बुझिन्छ । झिनामसिना आलोचना गर्दा ‘जो अघि सर्छ उसैको सत्यानास हुन सक्ने’ त्रासका कारण राम्रो तयारीका साथ एकैपटक ‘ब्रह्मास्त्र छोडेको शैलीमा’ केपीलाई आक्रमण गरेर सत्ताबाट खसाल्ने निष्कर्षमा नेकपाका नेताहरू पुगेका छन् । संसदमा बजेट प्रस्तुत भइसकेपछि केपीविरुद्धको आक्रमणलाई आकार दिने रणनीतिक योजना बनेको बुझिएको छ । अब केपीविरुद्ध हमला हुँदा सबै मोर्चाबाट एकैपटक हमला गर्ने गृहकार्य भइरहेको देखिन्छ । त्यसको थालनी केपीका एकलौटी निर्णयहरूको विरोध गरेर र एकीकरण प्रक्रियालाई सार्थक निर्णयमा पुऱ्याउने मुद्दा अघि सारेर गरिने भएको छ ।

बजेटपछि मन्त्रिमण्डल पुनर्गठन गरेर सरकारलाई गति दिने केपीको योजनालाई पार्टीभित्र पैदा गरिने विरोध र आक्रमणले अप्ठ्यारोमा पार्ने सम्भावना छ । सके केपीलाई विस्थापित नै गर्ने, नसके मन्त्रिमण्डल पुनर्गठनमा उनलाई रक्षात्मक अवस्थामा पुऱ्याएर मन्त्रिमण्डलमा ‘ठूलो भाग’ लिने सोच असन्तुष्ट नेताहरूले बनाएका छन् । अब केपी कसरी प्रस्तुत हुने हो उनको भविष्य त्यसैमा निर्भर रहने देखिएको छ । चीनबाहेक अन्य कुनै पनि मुलुकको समर्थन, सहयोग र सद्भावको अवस्था नरहेको हुनाले पनि केपीका आगामी दिन सकसपूर्ण हुन सक्ने सम्भावना छ ।