सिड्नी पुगेका कानुनमन्त्रीले भने- ‘ढुक्क भएर नेपालमा लगानी गर्नुस्’

सिड्नी पुगेका कानुनमन्त्रीले भने- ‘ढुक्क भएर नेपालमा लगानी गर्नुस्’


  • राजन घिमिरे, अष्ट्रेलिया

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न कुनै डर मान्नुपर्ने अबस्था नभएको दाबी गरेका छन् ।

‘इन्भेष्टमेन्ट, इनोभेसन र टुरिजम’ नाराका साथ सिड्नीमा गत शुक्रबार आयोजित दुई दिवसीय ओसेनिया सम्मेलनको शनिबार समापन समारोहलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री ढकालले भने– ‘एकपटकको नेपाली सधैंको नेपाली भन्ने मागलाई कानुनी रूपमा नै पूरा गर्न वर्तमान सरकार लागिरहेको छ ।’

स्वदेशमा लगानी, पर्यटन प्रवर्द्धन र विदेशमा सिकेको सिप तथा ज्ञानलाई मुलुकमा भित्र्याउने जस्ता निर्णयका साथ सम्पन्न सो सम्मेलनमा लिवरल पार्टीका नेता तथा अस्ट्रेलियाका अध्यागमन, नागरिकता तथा बहुसांस्कृतिक मन्त्री डेविड कोलम्यानले आफ्नो पार्टी लिबरलले पुनः जित हासिल गरेमा नेपाली सामुदायिक भवन निर्माणका लागि १० लाख अस्ट्रेलियन डलर सहयोग गर्ने घोषणा समेत गरे ।

तेस्रो ओसेनिया क्षेत्रीय सम्मेलनमा बोल्दै अध्यागमन मन्त्री कोलम्यानले सामुदायिक भवनमार्फत् अस्ट्रेलियामा रहेका नेपालीहरूले आफ्ना सांस्कृतिक, सामुदायिक तथा अन्य कार्यहरू गर्न पाउने तथा यसले समग्र समुदायको एकतामा थप टेवा पुग्ने बताए ।

‘सत्तारुढ स्कट मोरिसन सरकार अस्ट्रेलियामा रहेका नेपालीहरूको संस्कृति, इतिहास तथा रीतिरिवाजको जगेर्ना तथा उत्थान गर्नका निमित्त प्रतिबद्ध छ’, कार्यक्रममा मन्त्री कोलम्यानले भने ।

नेपाली समुदाय अस्ट्रेलियामा सबैभन्दा छिटो बढिरहेको समुदाय हो र यो सामुदायिक भवनमार्फत् अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा वसोवास गरिरहेका नेपालीहरूको केन्द्र बन्न सक्ने धारणा पनि उनले अघि सारे । उनले नेपाल र अष्ट्रेलियाको बीचमा अत्यन्त सकारात्मक सम्बन्ध रहेको बताउँदै विशेष गरेर शिक्षाको क्षेत्रमा नेपालीहरू तेस्रो स्थानमा रहेको समेत सुनाए ।

गत वर्षमात्रै २६ हजार नेपालीलाई विद्यार्थीलाई भिसा दिएको तथ्यांक प्रस्तुत गर्दै उनले नेपालीहरूले अष्ट्रेलियालाई बहुसांस्कृतिक देश बनाउनका लागि मात्रै नभई अस्ट्रेलियाको आर्थिक उन्नतिमा महत्वपूर्ण सहयोग गरेको जानकारी दिए । कार्यक्रममा एनआरएन आईसीसी अध्यक्ष भवन भट्टले मुलुकका विकास निर्माणमा गैरआवासीय नेपाली संघको अभियान जारी रहेको बताए ।

कार्यक्रममा लेबरकी सिनेटर क्लियर मुरले लेबर पार्टीले आगामी सरकार बनाए नेपाललाई दिने सहयोगमा हरेक वर्ष वृद्धि गर्ने र प्यारेन्ट भीसा शुल्कमा सहुलियत प्रदान गर्ने घोषणा गरिन् । कार्यक्रममा ओसेनीया संयोजक धर्मराज अधिकारीले सबैको सहयोग र सदभावले कार्यक्रम सफल भएको बताए ।

‘यहाँ उठेका विविध क्षेत्रका पाटा र लगानीका विविध पक्षहरूलाई नेपालमा कार्यान्वयन गराउनेतर्फ यो कार्यक्रमले सकारात्मक भूमिका खेल्ने कुरामा हामी विश्वस्त छौँ’, अधिकारीको भनाई थियो ।

ओसेनिया सम्मेलनमा नेपालबाट कानुनमन्त्री भानुभक्त ढकाल, प्रदेश ५ का सांसद विष्णु पन्थी अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत द्रुपदा सापकोटा, महासचिव बद्री केसी, उपाध्यक्षहरू कुमार पन्त र कुल आचार्य, सह–कोषाध्यक्ष सोम सापकोटा, पूर्वअध्यक्ष शेष घले, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष टोनु घोताने, न्यू साउथवेल्सका महावाणिज्यदूत दीपक खड्का, साउथ अस्ट्रेलियाका महावाणिज्यदूत दीपक धमला लगायत विभिन्न देशका एनआरएन प्रतिनिधिहरूका साथै गैरआवासीय नेपालीहरूको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा नेपालमा विदेशबाट पर्यटक भित्र्याउने बारे आफू र आफ्नो सस्थाले गरेका र आगामी दिनमा गर्न लागेका विविध कार्यका बारेमा सोम सापकोटाले जानकारी दिएका थिए ।