अक्कर छिचोल्दै बेँसीतर्फ लक्ष्मी

अक्कर छिचोल्दै बेँसीतर्फ लक्ष्मी


अक्कर र बेँसी जीवनका दुई पाटा हुन् । अक्कर छिचोल्नेले बेँसीलाई नियाल्न सक्दछ । अप्ठ्यारा र सजिलाबीच यात्रा गर्ने जीवनमा कसैको निर्देशन होस् या नहोस्, आफैं चालक बनेर हरेक मोड, घुम्ती, गल्ली, गोरेटो, डगर, सडक भएर कुदाउँदै जाँदा कति घटनाहरू घट्लान् त कति दुर्घटना † यिनै परिस्थितिहरूबीच रुमल्लिने जीवनले कहीँ न कहीँ र्सार्थकता पाउँछ, पाउँछ । तर कुरा यसो पनि छ- जीवनपथलाई चिनेर गरिने जीवनयात्राले उज्यालो संसार हेर्न पाउला । जीवनपथलाई नै अन्योलमा राखेर गरिने जीवनयात्रामा खै के नै भन्न सकिएला र ?
आफ्नो जीवनयात्रालाई चिनेकै भन्नुपर्छ नेपालकी एक प्रतिष्ठित उद्योगपति लक्ष्मी शर्माले । जन्म कहिले भयो ? ठ्याक्क यकिन गर्न उहाँलाई नै कठिन छ । हजुरआमाको भनाइअनुसार उहाँको जन्म २००७ साल मङ्सिर १९ गते हो भने आमाका अनुसार २००६ साल मङ्सिर ३ गते । तर, उहाँले कामकाजी व्यवहारका लागि आफ्नो जन्ममिति अनुमान लगाउनुभएको रहेछ २००७ साल मङ्सिर ३ गते ।
६ वर्षको उमेरदेखि नै उहाँले अर्काको घरमा काम गर्न थाल्नुभयो । फूल टिप्ने, मन्दिर, पूजाकोठा सफा गर्ने अनि फुर्सद भएको बेलामा मालिक्नीका पाउ मोल्ने कामबाट थाल्नुभयो आफ्नो सङ्घर्षमय जीवनयात्रा । बाबु-आमाले पुन्य पाउँछन् भन्ने सामाजिक अन्धविश्वासको भुमरीमा परेर १३ वर्षको कलिलो उमेरमा नै उहाँ विवाहबन्धनमा बाँधिनुपर्‍यो । जीवनभरमा जम्मा तीन दिनमात्र स्कुल टेक्नुभएकी उहाँ शिक्षाको उज्यालोबाट त वञ्चित हुनुभयो नै विवाहपछि पनि उहाँले आफ्नो जीवनयात्रालाई सुगम तरिकाले चलाउन पाउनुभएन । गरिबी, अशिक्षा वा आफ्नै जीवनका अकल्पनीय मोडहरू † जीवन धान्नलाई अरूकै घरमा काम गर्नुपर्ने बाध्यता आई नै रह्यो । उहाँ तीन महिना मात्रै श्रीमान्को डेरामा बस्नुभयो । त्यसपछि के श्रीमान्को घर ? के सासू-ससुरा ? आफ्नै जन्मथलो अर्थात् माइतीमै रहेर जीवनयात्रालाई अगाडि बढाउन थाल्नुभयो ।
त्यसबेलाको नेपाली समाजकी एउटी नारी, त्यो पनि पीडामा पिल्सिएकी † कुरा काट्ने र गाली गर्नेबाहेक सान्त्वना र सहयोग दिने कोही पाउनै गाह्रो । अनि भाँडा माझने, कपडा धुने, कुचो-कसिङ्गर गर्नेबाहेक अन्य काम पाउनै मुस्किल । आफू दुई जिउकी हुँदासमेत आरामको जीवन बिताउन पाउनुभएन लक्ष्मीले । भोक लागेको बेलामा एक कप चिया पिउन दिने वा गर्भवती हुन् भनेर एक निमेषकै लागि पनि आराम दिने कोही भएनन् । काम गरे खान पाइयो, नत्र भोकै । उहाँ भन्नुहुन्छ, ‘त्यसबेला दास भनेको कस्तो हुँदोरहेछ भन्ने अनुभव भयो । अरूबाट त दया-माया पाइएन-पाइएन, आफ्नै श्रीमान्बाट पनि पाइएन । यहाँसम्म कि सुत्केरी भएर कुनामा बस्दासमेत पनि उसको प्रेमिकाको खप्की खानुपरेको थियो । जीवनका ती दिनका आँसु कहिल्यै भुल्न सक्तिनँ म । जसको कारण म २०२७-२८ सालदेखि श्रीमान्बिनाकै जीवन जिउन थालेँ ।’
आफ्नो तत्कालीन पीडादायी जीवन यसरी अगाडि बढ्दै गएको कथाअंशलाई अझै घोरिँदै सम्झनुहुन्छ लक्ष्मी, ‘म दिउँसो अरूको घरमा काम गरेर पनि राति-राति पोस्टकार्डहरू बनाउँथेँ । आर्टक्राफ्टबारे चियोचासो राख्ने गर्दथेँ । धेरै समय विदेशीहरूको घरमा काम गरेकी हुनाले, त्यो चालचलनले केही कुरा सिकाउँदै लग्यो । मेरो आर्टक्राफ्टप्रतिको लगन देखेर मैले काम गर्ने साहुमार्फत नै भारतमा आर्टक्राफ्टको तालिम लिन जाने मौका पाएँ । तालिम त लिएँ तर लगानीको अभावमा आर्टक्राफ्टको काम गर्न सकिनँ । त्यसैले गरगहनाहरूको डिजाइनचाहिँ आफैँ गर्दथेँ । त्यसलाई बनाउन दिन्थेँ, अनि ठमेलतिर ल्याएर बेच्ने गर्दथेँ ।’
बिस्तारै छोरीहरू ठूला हुँदै गए । गर्दै गरेको व्यवसायले परिवार धान्न गाह्रो भयो । मैले टेम्पो व्यवसायमा केही बढी आम्दानी देखेँ । अनि साइँली आमासँग ३६ प्रतिशत ब्याजमा १० हजार ऋण लिएर टेम्पो किनेँ । तर, टेम्पो प्राय: बिग्रिरहने । मिस्त्री खर्च व्यहोर्नै गाह्रो भयो । फेरि ड्राइभरले जहिल्यै घाटा मात्र देखाउने । भएन अब भन्ने ठानेर आफंैले टेम्पो बनाउन र चलाउन सिकेँ । केही समय टेम्पो पनि चलाएँ । समय-सर्न्दर्भले म नै नेपालको पहिलो टेम्पो महिला चालक बन्न पुगँेछु । एउटा नारीले पुरुषसरह काम गर्न सकेकोमा गौरव नै लाग्दथ्यो तर टेम्पोबाट पनि मलाई सन्तुष्टि मिलेन । घाटा पनि भइरह्यो । त्यसैलेे अर्को व्यवसाय रोज्नुपर्ने बाध्यता नै भयो । बिस्तार मैले आर्टक्राफ्टकै व्यवसायलाई अगाडि बढाउने विचार गरेँ । आमासँग पाँच हजार रुपैयाँ सापटी लिएर व्यवसाय सुरु गरेँ । सुरुमा काठका विभिन्न सामग्रीहरू बनाएर बेच्दथेँ तर काठका सामग्रीहरू बनाउँदा वनजङ्गल साह्रै विनाश हुने भयो । पछि भनेको जस्तो काठै नपाइएला भन्ने कुरालाई ध्यानमा राख्दै मैले हाडको काम गर्ने निधो गरेँ । म भारत जाँदा त्यहाँ मैले हात्ती र उँटका हाड प्रयोग गरको देखेकी थिएँ । फेरि मैले नेपालमै ‘ए वान’ भन्ने संस्थाले प्रत्येक बिहीबार आयोजना गर्ने ‘कफी मर्निङ’मा सहभागी हुने मौका पाएकी थिएँ । त्यहाँ ‘पाम’ भन्ने व्यक्तिले स्वीटर बुन्न सिकाउँथ्यो । स्वीटरलाई चाहिने बटनहरूचाहिँ उसले विदेशबाटै ल्याउँथ्यो । ‘पाम’ले मलाई यस्तो बटन बनाउन सक्छेस् – भनेर सोध्यो । मैले धेरै कोसिस गरेर त्यस्तो बटनहरू बनाएँ । त्यसपछि उसले मलाई ३ आइटम टाँक, ५०-५० पिसको अर्डर दियो । मैले हातेमेसिनले नै टाँकको प्वाल खोपेर उसको अर्डरलाई पूरा गरेँ । ऊ साह्रै खुसी भयो । त्यहाँदेखि हाड तथा सिङबाट बटन बनाउने मेरो उत्साहमा बहार आयो ।
तर, जब मैले हाडको काम गर्न थालेँ, समाजबाट साह्रै घृणित हुनुपर्‍यो । ‘च्यामे-पोडेको काम गर्ने’ भन्दै छी:छी: र दुरदुर गर्दथे । उद्योग वरपर गन्हायो, आवाज आयो भनेर उद्योग नै हटाउने कोसिस गरिरहन्थे । ‘हाडहरूमा भूत बसेको हुन्छ, यसले त भूतघर बनाई’ भन्दै काममा साह्रै बाधा पुर्‍याए । हड्डीहरू खोज्न, हेर्न जाने गर्दा आफैंलाई पनि ४८ दिनसम्म त बोल्नै गाह्रो हुने गरी इन्फेक्सन भयो । तर पनि मैले काम गर्दै गएँ । कामले काम सिकायो । विदेशीहरूले कस्तो समान खोज्छन् – कसरी कोठा, घर सजाउँछन् – त्यो हेरेर म सामान उत्पादन गर्दथेँ । त्यहीअनुरूप विदेशमा मेरो उत्पादनको माग बढ्यो र आज म एउटा उद्यमीको रूपमा स्थापित हुन सफल भएँ ।