मोहले दुःख निम्त्याउँछ


  • स्वामी आनन्द अरुण

आश्रम र म बस्ने सोमजी स्टेटको दूरी १ किमि थियो । पुनामा लामो समय बस्ने प्रायः सबै संन्यासीको आफ्नै सवारी साधन थियो । सक्नेले मोटरसाइकल किनेका थिए भने धेरैजसोको साइकल थियो । मैले पनि एक सवारीसाधन किन्ने विचार गरें । घर फर्किने संन्यासीहरूले जाने बेलामा आफ्ना सामान बेच्ने परिपाटी थियो । मेरो डोरमेटरीमा बस्ने मित्रको भिसा सकिएकाले उनी घर फर्किनुपर्ने भयो । मैले उनको साइकल ४० रुपैयाँमा किनें । त्यो साइकल चढेर आश्रममा काममा आउनुको आनन्द बयान गरी साध्यै छैन । अब सस्तो भोजनका लागि रेलवे स्टेसन जान मलाई समस्या भएन । साइकलले यताउता जान ठूलो सुविधा भयो । म यति आनन्दित थिएँ कि म भन्ने गर्थें, ‘म करिब–करिब सम्बुद्ध हुन लागेको छु, खालि अहिलेलाई मलाई फ्री फुडपासको आवश्यकता छ ।’ आश्रममा फ्री फुड पास पाउनु ठूलो सौभाग्यको कुरा थियो ।

मैले त्यो साइकल करिब ६ साता चलाएँ । भाग्यको खेला, एक दिन आश्रमको पार्किङ क्षेत्रबाटै त्यो साइकल हरायो । मलाई थाहा थियो, भारतमा चोरी एक अनौठो घटना होइन । त्यसैले साइकल हराउँछ भनेर मैले एकदम राम्रो ताला बाँध्ने गरेको थिएँ । कोरेगाउँ पार्क र वरिपरिको स्थान चाहारेँ तर साइकल भेटिएन । चोर बाठो निस्कियो । मेरो अन्तिम सुविधा पनि चोरी भयो ।

फेरि हिँडेर आश्रम जाने दिन सुरु भए । मलाई त्यो साइकल हराएको घटनाको पीडाले धेरै पछिसम्म पछ्याइरह्यो ।

सन् १९८५ नोभेम्बरमा ओशो रजनीशपुरम्बाट भारत आएर मनालीको स्प्यान रिसोर्टमा बस्नुभएको थियो । मनालीमा एउटा सानो कटेजमा ओशो बस्नुभएको थियो । मैले उहाँलाई रजनीशपुरम्को वैभव र भव्यतामा बसेको देखेको थिएँ । विद्युत्को भोल्टेज कम भएकाले गिजर र हिटर चलाउन सम्भव थिएन । उहाँलाई नुहाउन पानी तताएर बाल्टीमा ल्याइन्थ्यो । साधारण गनाउने फोहरी ट्याक्सीमा राखेर उहाँलाई एयरपोर्टबाट त्यो रिसोर्टमा ल्याइएको थियो । त्यहाँ उहाँका लागि न्यूनतम सुविधा जुटाउन धेरै कठिन भइरहेको थियो । केही दिनअघिसम्म उहाँको बसाइ शाही स्तरको थियो । आफ्नै साउना, स्टिमवाथ, ठूलो फराकिलो कोठा, बैठक, उच्च स्तरको सुविधामा उहाँ भरखरै बसेर आउनुभएको थियो ।

ओशो बिहान र बेलुका व्यास नदीको किनारमा काठको बेन्चमा मौन बस्नुहुन्थ्यो । प्रायः उहाँ एक्लै बस्नुहुन्थ्यो तर कहिलेकाहीं केही जानकारी र निर्देशनका लागि शिष्यहरूलाई बोलाउनुहुन्थ्यो । म मनाली पुगेको पहिलो दिनमै उहाँले मलाई त्यही व्यास नदीको किनारमा व्यक्तिगत दर्शन दिन बोलाउनुभयो ।

उहाँले मलाई त्यो दर्शनमा धेरै चोटि बोलाउनुभयो । ती मेरो जीवनका मिठा क्षणहरू हुन् । ओशोपाउमा सुन्दर हिमाली वनले घेरिएर एकटकले बहिरहेको व्यास नदीको दृश्यावलोकन गर्दै गुरुको सांन्निध्य पाउनु ठूलो सौभाग्य थियो । मौसम सफा भएको दिनमा हिउँले छोपिएका हिमालको दृश्य अलौकिक थियो । उहाँको सांन्निध्यमा बसेका ती सुनौला क्षणको सम्झना मेरो हृदयमा कहिल्यै नर्बिसनेगरी टाँसिएको छ । उहाँको कृपा र ऊर्जाको महासागरमा मेरो चेतनाले मदहोस भएर डुब्थ्यो । मौनको त्यो गहन र दुर्लभ क्षणमा शब्दातीत सत्य गुरुबाट शिष्यमा सम्प्रेषित हुन्छ ।

ओशो काठको बेन्चमा बस्नुहुन्थ्यो । म पाउछेउमा नदीको बालुवामा बस्थें । संन्यासीहरूको अकल्पनीय मेहनत र सम्पत्तिले बनाएको स्वप्न सहर रजनीशपुरम् गुमाएकामा सबैलाई ठूलो पीडा थियो । हामी सबै संन्यासीलाई त्यो कुरा खट्किन्थ्यो । त्यसबाट अस्पर्शित ओशोमात्र हुनुहुन्थ्यो । उहाँको अनुहारमा कुनै उदासी, कुनै चिन्ता थिएन । उहाँ निश्चल शान्त हुनुहुन्थ्यो ।

ओशो हिमालय औधी मन पराउनुहुन्थ्यो । उहाँको भनाइमा ‘जिउन र मर्न लायकको कुनै उपयुक्त स्थान छ भने त्यो हिमालय नै हो । हिमालयले हजारौं वर्षदेखि अनकौं साधकलाई आकर्षित गरेको छ । त्यो हिमालयको रहस्यमय उपस्थितिको कारणले हो । अहिर्निश मौन, कौमार्यपनको कारणले हिमालयको तुलनामा पृथ्वीको अरु कुनै स्थान आउन सक्दैन । हिमालयको शिखर र भित्री चेतनाको पूर्ण प्रस्फुटनमा केही समानता छ ।’

ओशोले सोध्नुभयो, ‘नेपालमा पनि यस्तै सुन्दर नदीहरू छन् ?’ मैले तुरुन्तै जवाफ दिएँ, ‘भगवान्, नेपालमा योभन्दा धेरै सुन्दर नदीनाला र हिमालहरू छन् ।’

एक दिन बिहानको दर्शनमा मैले आफूलाई रोक्न सकिनँ र सोधें, ‘भगवान्, तपाईंलाई कहिल्यै पनि केही चिजको कमी महसुस हुँदैन ? तपाईंको सुविधाजनक लाओस्ते हाउस, सुन्दर बगैंचा, सुविधाजनक बाथरुम र रोल्स रोइज ? तपाईंलाई रजनीशपुरम्को सम्झना आउँदैन ? यहाँ त कोठामा एसी पनि छैन । न्यूनतम सुविधा जुटाउन पनि गाह्रो छ ।’

ओशो पूरै फुर्सतमा भएको मौकामा मैले धेरै वर्षअघि पुनामा साइकल हराएको र त्यसले धेरै वर्षसम्म पीडा दिएको कुरा सुनाएँ । भगवानले भन्नुभयो, ‘म केही कुराको कमीको महसुस गर्दिनँ । हिमालयको यो निर्जन प्रकृतिमा आएर म आनन्दित छु । वास्तवमा यो जिउने र मर्ने सबैभन्दा उत्तम स्थान हो । म यहाँ छु । केको कमी मैले महसुस गर्ने ?’

म त्यो उत्तरबाट छक्क परें । उहाँले मलाई जीवनमा सर्वोत्तम शिक्षा त्यही दिनुभयो । उहाँले भन्नुभयो, ‘हेर, म त्यहाँ छँदा रजनीशपुरमको पूर्ण आनन्द लिएँ । म अहिले त्यसको कमीको महसुस गर्दिनँ किनभने म त्यसमा आशक्त थिइनँ । तिमी भोगेको चिजको कमी महसुस गरिरहन्छौ किनभने तिमीले त्यसलाई पूर्ण रुपले भोगेनौं । मानिसहरूको यो पुरानो बानी हो कि कुनै पनि चिज उपलब्ध हुँदा त्यसको पूर्ण रुपले आनन्द नमनाउने र त्यो चिज नहुँदा त्यसको कमी महसुस गर्ने । म क्षण-क्षणको आनन्द लिन्छु । तिमीलाई साइकल हराएको पीडा अहिलेसम्म छ किनभने तिमीले त्यसलाई आफ्नो ठान्यौ र कहिल्यै नहराओस् भनेर त्यसको आशक्तिमा बाँधियौं ।’ अरु कसैको साइकल हराएको भए तिमीलाई त्यति पीडा हुँदैनथ्यो तर तिम्रो साइकल हराएकोमा तिमीलाई पीडा भयो । म कुनै चिज र व्यक्तिसँग बाँधिएको छैन । म स्वतन्त्र छु । म प्रत्येक क्षणलाई त्यो जसरी आउँछ त्यसरी नै आनन्दले ग्रहण गर्छु ।’

ओशोले भन्नुभएका ती शब्द मेरो हृदयमा सुनौला अक्षरले लेखिएका छन् । अहिले पनि जीवनले ल्याउने हरेक समस्या, निराशा र हताशामा गुरुका यी बज्रसत्य वाणी म सम्झिन्छु र त्यसैको अनुशरण गर्ने प्रयास गर्छु । यसबाट मैले जीवनका धेरै प्रतिकूल स्थितिबाट पार पाएको छु ।

(स्वामी आनन्द अरुणकोे प्रकाशोन्मुख पुस्तक ‘ओशो अचम्म जो मैले देखेँ’बाट)

प्रतिक्रिया