शुक्रबार सिड्नीमा सांगीतिक धमाका हुने !

शुक्रबार सिड्नीमा सांगीतिक धमाका हुने !


  • राजन घिमिरे, अष्ट्रेलिया

सिड्नीमा रहेका नेपाली गीत-संगीत प्रशंसकहरूलाई खुशीको खबर । तपाईंहरू कस्तो गीत-संगीत सुन्न चाहनु हुन्छ ? नचाउने, भावुक बनाउने या मनोरन्जनको पराकाष्टामा पुर्याऱ्याउने ? नेपाली गीत-संगीतका विविध भाका, स्वाद र पाटाहरूको संयोजन हुने भएको छ शुक्रबार सिड्नीको सार्क होटलमा । विविध भाकाहरूलाई एउटै थलोमा जमघट गराएर यतिबेला सिड्नीमा रहनुभएका नेपाली गीत-संगीतका प्रशंसहरूको मन जित्ने तयारीमा सायन इन्टरटेनमेन्ट, बिग इभेन्टस, कमेरो इभेन्टस र आरजी इन्टरटेनमेन्टस लागिपरेका छन् । कार्यक्रमलाई फोर नेशन्स इन्टरनेशनलले प्रस्तुत गरेको हो ।

कार्यक्रममा युवा पुस्तामाझ लोकप्रिय स्याडो नेपाल, आधुनिक गीत-संगीतका कालीप्रसाद र नेपालीमूलका सुफी गायक पुष्पन प्रधानको बेजोड प्रस्तुती साँच्चीकै हेर्न लायक रहने दाबी गरिएको छ ।

‘शुक्रबार हामी एउटै मन्चमा विविध प्रस्तुतिहरू लिएर आउने छौँ । मन्च एउटै भएपनि गीत संगीत पारखीहरूले संगीतको स्वाद भने फरक फरक पाउनु हुने छ’, कालिप्रसाद बासकोटाले भने । गायक पुष्पन प्रधानले पनि यो सांगीतिक जमघट अपूर्व हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रमबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको एक अवसरमा काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट्स अफ अस्ट्रेलियाका अध्यक्ष विजय सापकोटाले संगीत पनि जीवनको एउटा महत्वपूर्ण अंग भएको र संगीतले विश्वका नेपालीहरूलाई एक बनाउने विचार राखे ।

कार्यक्रममा प्रायोजकका तर्फबाट एडभान्स कलेज अफ हेल्थका किशोर अर्यालले कलाकारहरूको क्रेजकै आधार र बिश्वासमा हामीले कार्यक्रमको प्रायोजन गरेको कुरा बताए ।आयोजक समितिको संयोजक कोमल पाठक, एनआरएनका पूर्व प्रवक्ता ज्ञानेन्द्र रेग्मी लगायतले यस्ता सांगीतिक कर्महरूले विदेशमा पनि नेपाली कला संस्कृतिको जर्गेना गर्न मद्दत पुग्ने बताए।

सिड्नीमा पहिलो प्रस्तुती हुने भएपनि अस्ट्रेलियाका विभिन्न सहरमा समेत यसको प्रस्तुती तय भइसकेको अस्ट्रेलिया टुरका आयोजक सायन इभेन्ट्सका गोविन्द भण्डारीले बताए ।