‘नेपाली खेलकुद इतिहासकै स्वर्णकाल हो मेरो चारवर्षे कार्यकाल’

‘नेपाली खेलकुद इतिहासकै स्वर्णकाल हो मेरो चारवर्षे कार्यकाल’


राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवको चारवर्षे कार्यकालमा दुईवटा राष्ट्रिय खेलकुद प्रतियोगिता र एउटा राष्ट्रिय च्याम्पियनसिपको आयोजना गरेर कीर्तिमान कायम गरेका सदस्यसचिव केशवकुमार विष्ट अहिले चर्चाको शिखरमा छन् । निकै चुनौतीपूर्ण रूपमा रहेको आठौँ राष्ट्रिय प्रतियोगितालाई सफलताको मूर्तरूप दिँदै लालमोहर लगाएपछि उनी अहिले राताराता खेलकुदको ‘हिरो’ बन्न पुगेका छन् । राखेपको सदस्यसचिवमा नियुक्ति हुनेबित्तिकै आफ्नो कार्यकाललाई ‘स्वर्णकाल’ बनाउने दाबी गरेका विष्टले अहिले यो कथनलाई सार्थक तुल्याएका छन् । ३३ वर्षदेखि राष्ट्रिय खेलकुद प्रतियोगितामा लागेको ग्रहणलाई हटाउँदै आठौँ राष्ट्रियलाई पुरानै मार्गमा दौडाउँदै ‘नजिर’ स्थापना गर्न सफल भएका विष्टसँग घटना र विचारका लागि श्रीविक्रम भण्डारीले समसामयिक विषयमा गरेको विशेष कुराकानी :

० चुनौतीपूर्ण आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना तपाईंको नजरमा कत्तिको खरो उत्रियो, कसरी विश्लेषण गर्नुहुन्छ ?
–साँचो रूपमा भन्नुपर्दा दुई–दुई वर्षको अन्तरालमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै आयोजना भएर खेलकुद क्षेत्रमा आत्मविश्वास पैदा गरेको छ । जसले इच्छाशक्ति र इमानदारिता भयो भने दुई वर्षमा राष्ट्रिय प्रतियोगिता गर्न सकिन्छ भन्ने दृष्टान्त प्रस्तुत गरेको छ । साथै भोलि दिनमा यस्तो स्थितिमा पनि सम्भव हुँदोरहेछ भन्ने देखाएको छ ।

० आठौँको आयोजनाप्रति निकै हतारमा देखिनु भो, कतै तपाईंको स्वार्थ त थिएन ?
– एक वर्ष या डेढ वर्षको समयमा गर्न खोजिएको भए हतार हुन्थ्यो, त्यसलाई हतार गरेको मानिन्थ्यो । दुई वर्षको समय नाघेकोले हतार गरिएको हो । आठौँ समयमै गर्नुपर्ने बाध्यता एकातिर थियो भने अर्कोतर्फ नेपालगञ्जको मौसम प्रतिकूल बन्दै गएको थियो । यो सबै दुई वर्षको समयसीमा र खेलाडीहरूको हितलाई सोचेर तालमेल मिलाउन बाध्यतावश हतार गरिएको हो ।

० सम्पूर्ण पूर्वाधार निर्माण गरेर केही समय ढिलो आयोजना गरेको भए राम्रो हुने थियो, हतारको काम कतै लतारपतार त भएन ?
– नेपालको सन्दर्भमा सम्पूर्ण पूर्वाधार निर्माण गरेर राष्ट्रिय प्रतियोगिताको आयोजना गर्न अझै आठ, दश वर्ष सम्भव छैन । बजेट र व्यावहारिक रूपले पनि त्यो कुरालाई स्वीकार गर्न सकिँदैन । जसले सम्पूर्ण पूर्वाधार निर्माण गरेर गरेको भए राम्रो हुने भनिरहेका छन् त्यसमा कुनै दम छैन, त्यो खालि सैद्धान्तिक कुरा मात्रै हो । आठौँमा हतार र लतार केही भएको छैन, बजेटअनुसार शतप्रतिशत पूर्वाधार निर्माण भएको छ । सोअनुसार प्रतियोगिताको आयोजना उत्कृष्ट भएको छ ।

० तपाईंले भनेजस्तो पौडीमा त त्यस्तो देखिएन नि, खेल आयोजना हुने दिनसम्म पौडीपोखरी तयार नहुँदा खेलाडी अन्योलमा परे नि ?
– तपाईंले उठान गरेको प्रश्न एकदम सत्य हो, पौडीपोखरीको निर्माण गर्दा गर्दै भ्याइएन । पौडी खेलको आयोजना नेपालगञ्जमा गर्नुपर्ने थियो, त्यसको लागि युद्धस्तरमा काम गरिएको पनि हो, तर भ्याइएन । त्यसपछि विकल्पको रूपमा होटेलको पौडीपोखरीमा आयोजना गरिएको हो । काठमाडौंमा गरिएको भए पनि होटेलमै गर्नुपथ्र्यो, नेपालगञ्जमा गरे पनि होटेलमै गर्नुपर्ने बाध्यताले गर्दा आयोजनस्थलमै पौडी खेलको आयोजना गरिएको हो । साँचो रूपमा भन्नुपर्दा पौडीपोखरीको पूरा बजेट नै थिएन ।

० व्यवस्थापन पक्ष पनि खासै चुस्तदुरुस्त देखिएन, खेलाडी, प्रशिक्षक, पदाधिकारीले पनि आलोचना गरेका छन्, यस कुरामा तपाईं कति सहमत हुनुहुन्छ ?
– मैले थाहा पाएअनुसार अहिलेसम्म व्यवस्थापन पक्षको कसैले विरोध र आलोचना गरेको पाएको छैन । बाहिरबाट हेर्दा त्यस्तो देखिएको होला, बजेटअनुसारको व्यवस्थापन निकै राम्रो भएको छ । अहिलेसम्म आठौँको ११ करोड बजेट आएको छैन, यस्तो स्थितिमा पनि जुन किसिमको उत्कृष्ट व्यवस्थापन भएको छ त्यो आफैंमा प्रशंसनीय छ । कसैले व्यवस्थापनबारे प्रश्न गर्छ भने त्यो नबुझेको व्यक्तिले अन्जानमा उठाएको कुरा मात्रै हो । हामीले जानीबुझी कुनै कमी–कमजोरी हुन दिएका छैनौँ, बाध्यताले गर्दा कहीँकतै कमीकमजोरी भएको होला त्यो स्वीकार गर्छौं । बजेटको अभाव, परिस्थिति, साधनस्रोतको कमीले गर्दा त्यस्तो कमजोरी भए पनि लापरबाही र हेलचेक्र्याइँले भने कदापि होइन ।

० यसपटक आठौँ राष्ट्रियको आयोजना ‘प्रसव’ पीडाभन्दा कम बनेन, यसको तीतोसत्य के होला ?
–निकै उत्कृष्ट प्रश्न गर्नु भो, आखिर त्यो परिस्थिति प्रसव पीडाभन्दा कम थिएन । समयभित्रै आठौँ राष्ट्रियको आयोजना गर्नु अत्यन्तै चुनौतीपूर्ण थियो । दिनरात एउटै बनाउँदा पनि लक्ष्य भेदन गर्न गाह्रो भइरहेको थियो । यसको लागि धेरै ठूलो आँट, साहस, धेरै ठूलो निर्णयक्षमता र धेरै ठूलो कुशल व्यवस्थापनको आवश्यकता थियो । त्यही गम्भीरतालाई ध्यानमा राखी सहजतापूर्वक पाइला चालिएकोले यो सम्भव भएको हो ।

० आठौँ राष्ट्रियको आयोजनामा राज्यबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको थियो र कस्तो पाउनुभयो ?
– राज्यको सहयोगको कुरा गर्दा नेपाल सरकार, खेलकुद मन्त्रालय, परिषद्मातहतका निकायहरू, सहयोगी संस्थाहरू सबैको सहयोग र प्रोत्साहन थियो । त्यसैले आठौँ राष्ट्रिय सफलताका साथ सम्पन्न भएको हो । बजेट दिने कुरामा निश्चित थियो, पूर्ण बजेट प्राप्त भएको थिएन र बजेट पनि समयानुकूल प्राप्त थिएन । तर, सैद्धान्तिक रूपमा सरकारको सहयोग र समर्थन थियो । सरकारको सहयोगबिना आठौँको आयोजना सम्भव नै थिएन । अझ राष्ट्रप्रमुख, सरकारप्रमुखहरूको पनि आठौँप्रति चिन्ता, चासो, साथ र सहयोग प्राप्त थियो । जसले मलाई आठौँ सम्पन्न गर्न भित्री आत्मबल प्रदान गर्नुको साथै जुनसुकै चुनौतीको सामना गर्नका लागि नैतिक बल प्राप्त भएको थियो ।

० आठौँको आयोजना समयमै भएपछि नजिर त बस्यो, के नवौँ राष्ट्रिय प्रतियोगिता तोकिएकै समयमा होला त ?
– नवौँ राष्ट्रिय आयोजना तोकिएकै समयमा गर्नका लागि अहिलेदेखि नै मेरो योजना बन्नेछ । आगामी बजेटमा यसको व्यवस्था हुनेछ । आउँदो आर्थिक वर्षदेखि नै काम शुरु हुनेछ । यदि इमानदारीपूर्वक समयमै कार्य सञ्चालन गरियो भने तोकिएकै समयमा नवौँको आयोजना हुनेछ । म यसमा विश्वस्त छु ।

० आठौँको सफल आयोजनापश्चात् तपाईंले खेलकुदको ‘हिरो’ संज्ञा पाउनुभएको छ, कस्तो महसुस भइरहेको छ ?
– यो बाहिरी मूल्याङ्कन र विगत र वर्तमानको तुलना हुन सक्छ । मैले मेरोबारेमा भन्नुपर्दा कर्तव्य पालन गरेजस्तै लाग्छ । यतिबेला खेलकुदमा मैले जे गरेको छु, खेलकुदको नेतृत्वले अझै धेरै गर्नुपर्ने अवस्था आउनेछ । रातदिनको मिहिनेत, धेरै सुझबुझ र निश्पक्ष मनोभावले मात्रै खेलकुदमा परिवर्तन ल्याउन सकिन्छ । जसको परिणाम दुईटा राष्ट्रिय प्रतियोगिता र एउटा राष्ट्रिय च्याम्पियनसिप हुनु उपलब्धि मान्न सकिन्छ ।

० आठौँमा ठूलो भ्रष्टाचार भएको चर्चा चल्न थालेको छ, यसमा कति सत्यता छ ?
– अहिले खेलकुद भ्रष्टाचारमुक्त छ । सातौँ राष्ट्रियमा पनि भ्रष्टाचार थिएन, आठौँमा पनि छैन् । अझ आठौँमा त भ्रष्टाचारको कल्पनै नगर्नुहोस् । जबसम्म केशव विष्ट खेलकुदमा रहन्छ, तबसम्म खेलकुदमा भ्रष्टाचारको कुनै गुन्जायस छैन । केही समयपछि आठौँको सम्पूर्ण हिसाबकिताब सार्वजनिक हुनेछ त्यसपछि भ्रष्टाचार भए–नभएको प्रस्ट हुनेछ ।

० आठौँको समापनपश्चात् तपाईंले धन्यवादज्ञापन गर्ने क्रममा असहयोग गर्नेहरूलाई सहानुभूति प्रकट गर्नुको कारण के होला ?
– मिडियामा आएको समाचार गलत मनसायको थियो भने मेरो कुनै वैरभाव छैन । उनीहरूलाई मैले बिचराबाहेक के भन्न सक्छु । त्यस्तो खालको प्रवृत्ति जहाँ पनि र जहिले पनि देखिने गर्छ । त्यसको सामना गरेर अगाडि बढ्नुपर्छ, त्यसैले मैले सहानुभूति भनेको हो । यो मैलेभन्दा पनि मिडियाले उठाएको कुरा हो ।

० खेलकुदमा तपाईंको चारवर्षे कार्यकाललाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
– मेरो चारवर्षे कार्यकाल विगतको तुलनामा अत्यधिक सफल र उपलब्धिमूलक रह्यो । अझै पनि कतिपय काम मैले सम्पन्न होस् भन्ने चाहेको थिएँ, अहिले तिनीहरूको शुरुवात मात्रै भएको छ । ती कामहरूको परिणाम आएको छैन । समय, परिस्थिति र बजेटको आधारमा मैले मेरो कार्यकालमा जति पनि कार्य गरेँ त्यसमा म सन्तुष्ट हुने प्रसस्त ठाउँ छ । साँचो रूपमा भन्नुपर्दा मेरो कार्यकालदेखि खेलकुदको स्वर्णकाल शुभारम्भ भइसकेको छ ।

० आफ्नो चारवर्षे कार्यकाल खेलकुदको स्वर्णकाल हुने दाबी गर्नुभएको थियो, यसमा तपाईं सफल हुनुभयो कि असफल ?
– मेरो चारवर्षे कार्यकाल नेपाली खेलकुद इतिहासकै स्वर्णकाल हो । एकताका हिसाबले, विवादका हिसाबले, पूर्वाधारमा प्राप्त गरेको उपलब्धिका हिसाबले, अन्तर्राष्ट्रिय पदक र सफलता प्राप्त गरेको हिसाबले, खेल क्षेत्रमा आएको व्यापक जागरणका हिसाबले, चार वर्षमा दुईवटा राष्ट्रिय प्रतियोगिता र राष्ट्रिय च्याम्पियनसिपका हिसाबले, थुप्रै ऐतिहासिक कीर्तिमान कायम गरेको हिसाबले, खेलाडीको हितमा गरिएका महत्वपूर्ण निर्णयका हिसाबले, खेलकुद विकासमा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताका हिसाबले यो कार्यकाल पूर्णतया सफल स्वर्णकालको रूपमा रहेको छ । तर, अब यो स्वर्णकाललाई सुवर्णकाल बनाउन बाँकी छ ।

० आगामी दिनमा खेलकुदमा हुनुपर्ने महत्वपूर्ण कार्य के–के हुन् त ?
– सर्वप्रथम राज्यले नयाँ संरचनाअनुसार खेलकुदलाई समायोजन गर्नुपर्नेछ । दोस्रो कर्मचारीको क्षमतामा अभिवृद्धि, कर्मचारीको समुचित व्यवस्थापन, नयाँ र योग्य प्रशिक्षकको ठूलो सङ्ख्यामा करारमा नियुक्ति गर्नुपर्नेछ । त्यस्तै स्थानीय निकायसम्म प्रशिक्षकहरूको परिचालन गर्नुपर्ने, खेलाडीहरूको जीवनवृत्तिका लागि भविष्यको सुनिश्चितता प्रदान, भौतिक पूर्वाधारको स्थानीय तहसम्म निर्माण, स्पोर्टस युनिभर्सिटीको सञ्चालन, स्पोर्टस हस्पिटलको सञ्चालन, वैज्ञानिक ढङ्गले नयाँ प्रतिभाको खोजी, उच्चस्तरीय अध्ययनका लागि प्रशिक्षकहरूलाई व्यवस्था, निजी क्षेत्रलाई खेलकुदमा लगानी गर्ने वातावरणको तयारी, खेलकुदलाई प्रत्यक्ष रूपमा पर्यटनसँग जोड्ने, राष्ट्र निर्माणमा खेलकुदको योगदान उल्लेख्य बनाउँदै नेपालको पहिचान र गरिमालाई खेलकुदको माध्यमबाट उच्च बनाउनुपर्नेछ ।

० नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) तोकिएकै समयमा हुने कत्तिको सम्भावना देख्नुहुन्छ ?
– अनुभवी, दृढइच्छा शक्ति, स्वच्छ छवि र कुशल नेतृत्व भयो भने तोकिएको समयमा अर्थात् आगामी ६ महिनामा १३औँ सागको भव्य रूपमा आयोजना गर्न सम्भव छ, अन्यथा धेरै चुनौती देखिएका छन् । सरकारले आफ्नो नीति तथा कार्यक्रममा बजेटको व्यवस्था गरेर प्रतिबद्धता जनाइसकेको छ । यस्तो अवस्थामा नेपाल ओलम्पिक कमिटी, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् कसरी अगाडि बढ्छन्, त्यो महत्वपूर्ण कुरा हो । अब सोअनुसार यी निकायहरू क्रियाशील हुन्छन् या हुँदैनन् त्यसैमा १३औँ सागको भविष्य अड्किएको छ ।

० प्रसङ्ग बदलौँ, तपाईं पुनः राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव भएर आउँदै हुनुहुन्छ भन्ने चर्चा छ, के यो चर्चा सत्य हो ?
– यो मेरो काम र मैले दिएको नतिजाको मूल्याङ्कन गरेर हेरिने विषय हो । मेरो जीवनकालमा मलाई जे–जस्तो जिम्मेवारी प्राप्त भएको छ ती प्रत्येक जिम्मेवारीलाई मैले सफलतापूर्वक निर्वाह गरेको छु । भोलिका दिनमा पनि यही आधारमा मेरो मूल्याङ्कन हुने र जिम्मेवारी प्राप्त हुने कुरामा विश्वस्त छु । सरकारले मलाई जे–जस्तो जिम्मेवारी दिनेछ त्यसलाई फेरि पनि त्यत्तिकै इमानदारीका साथ पूरा गर्नेछु ।