कसरी र किन मान्ने अक्षय तृतीया ?

कसरी र किन मान्ने अक्षय तृतीया ?


वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।

मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुआत भएको मानिन्छ । यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो ।

यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ । जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवं सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुशी हुने धार्मिक विश्वास छ ।

भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।