सिड्नीमा भेटिँदै ‘बुलबुल-नायिका’ !

सिड्नीमा भेटिँदै ‘बुलबुल-नायिका’ !


  • राजन घिमिरे, अष्ट्रेलिया

यतिबेला सर्वाधिक रूचाइएकी चलचित्र अभिनेत्री हुन् स्वस्तिमा खड्का । पर्दामा उनको उपस्थिति र अभिनय साँच्चै पछिल्लो चरणमा दमदार हुँदै आइरहेको छ । पछिल्लोपटक चलचित्र बुलबुल दर्शकमाझ आयो । यो चलचित्रलाई स्वस्तिमाले वजनदार तरिकाले बोक्न सफल भइन् । यसै चलचित्रका कारण समकालीन अभिनेत्रीहरूको भीडमा उनको तारिफ र साख साँच्चै उकासियो ।

बुलबुलको सफलतापछि नै उनको बारेमा भन्न थालियो– ‘केही नायिकाहरू जस्तो सिनेमामा नायिकाको रूपमा खाली ठाउँ भर्न नभएर कुशल प्रस्तुतिका साथ स्वस्तिमाले सिनेमामा आफ्नो साख मजबुत तरिकाले बचाएकी छिन् ।’

बुलबुलले नेपालजस्तै प्रवासमा पनि आफ्नो उपस्थिति दह्रो नै बनायो । अन्य देशजस्तै अष्ट्रेलियामा पनि मनपराइएको यो चलचित्रको सिड्नीमा मात्र सफलताका साथ तेस्रो शो भएको थियो भने अब यो चलचित्रको चौथो शो पनि हुने भएको छ ।

तर यो चौथो शो भने अलि विशेष हुने कुरा बताइएको छ । ‘यो शोको लागि सिड्नीवासी दर्शकहरूको चाह र मागलाई ध्यानमा राखेर हामीले स्वयम् अभिनेत्री स्वस्तिमा खड्कालाई आमन्त्रण गरेका छौँ, उहाँ आउँदै हुनुहुन्छ’– आयोजक मनोज अधिकारी र गगन बिडारीले जानकारी दिए । मे १२ का दिन आइतबार सिड्नीको हर्सभिलमा रहेको सिभिक थिएटरमा हुन लागेको शोमा स्वस्तिमासँग बसेर दर्शकहरूले यो चलचित्र हेर्न पाउने भएका छन् ।

यतिबेला स्वस्तिमान नेपालमा ‘घामट शेरे’ नामक चलचित्रको काममा ब्यस्त छिन् । त्यो ब्यस्तताबाट समय निकालेर उनि सिड्नी आउन लागेकी हुन् ।

‘अष्ट्रेलियामा बुलबुललाई मन पराइएको थाहा पाएकी छु । साह्रै खुशी लागेको छ । सिड्नीमा रहनुभएका नेपालीहरूको यही साथ र मायालाईसँगै साट्न म पनि आउँदैछु सिड्नीमा । नहेर्नुभएका दर्शकहरूलाई पनि त्यो दिन सँगै बसेर हेर्नका लागि म आग्रह गर्दछु’– नेपालबाट स्वस्तिमाले निम्तो दिइन् ।