‘शिखण्डी’मार्फत केपीसँग लड्ने तयारी

‘शिखण्डी’मार्फत केपीसँग लड्ने तयारी


नेकपाका वरिष्ठ नेता वामदेव गौतमको व्यवस्थापन गर्ने विषयले केही समय विराम लिए पनि सत्तारुढ दलभित्र उक्त मुद्दाको किनारा लागिसकेको छैन । नेता गौतममा देखिएको संसद् प्रवेश गर्ने व्यग्रताले मात्र यो मुद्दा जीवित रहेको होइन । पार्टीको आन्तरिक राजनीतिमा पैदा भएको असन्तुलनलाई काबुमा राख्न पनि संसदमा वामदेवको आवश्यकता महसुस गर्न थालिएको छ ।

त्यस्तै, केपी शर्मा ओलीसँग सीधा लडाइँ गर्न नसक्नेहरूले अगाडि आएर युद्ध लडिदिने ‘शिखण्डी’ खोजिरहेका छन् र उनीहरू यतिबेला वामदेव गौतमलाई शिखण्डीका रूपमा उपयोग गर्ने मानसिकतामा छन् । पार्टीका सहअध्यक्ष प्रचण्ड, वरिष्ठ नेता मावधकुमार नेपाल र अन्य नेताहरू झलनाथ खनाल, सुरेन्द्र पाण्डे र भीम रावलदेखि घनश्याम भुसालसम्म केपी ओलीको सोच र कार्यशैलीप्रति असन्तुष्ट रहेको बुझिन्छ ।

ओलीलाई ‘तह लगाउने’ उपयुक्त बाटो र अवसर नपाएर प्रचण्ड हरिणको सिकार गर्नुअघिको बाघझैँ ‘शान्त र स्थिर’ रहन बाध्य देखिएका छन् । केपीसँग सीधा लडाइँ लड्न हिम्मत नगर्ने भनी चिनिएका वरिष्ठ नेता माधवकुमार नेपालको नामसमेत बालुवाटार जग्गा घोटाला प्रकरणमा जोडिएपछि उनी रक्षात्मक बन्न पुगेका छन् । मोही भन्दै विभिन्न व्यक्तिका नाममा जग्गा दर्ता गराएको र सभामुखनिवासको पर्खाल भत्काएर कपटपूर्ण ढङ्गले निर्माण गर्न लागिएको सडक बनाउन अनुमति दिने काम माधव नेपाल नेतृत्वको सरकारबाट भएको देखिन्छ ।

नेता नेपालले निहुँ खोज्न थाले भने केपी ओलीले जग्गा प्रकरणमा माधव नेपालालई समेत छानबिनको दायरामा ल्याउन असम्भव छैन । यही आशङ्काका कारण इच्छा भएर पनि माधव नेपाल प्रत्यक्ष रूपले केपीलाई अप्ठ्यारो पार्न नसक्ने अवस्थामा रहेको बुझिन्छ । झलनाथ खनालमा केपीप्रति जतिसुकै असन्तुष्टि रहे पनि उनीबाट कुनै किसिमको खतरा पैदा हुने विश्वास केपी ओली गर्दैनन् । सुरेन्द्र पाण्डे भद्र, शालीन र सन्तुलित ढङ्गले प्रस्तुत हुने नेता भएकोले पाण्डे एक्लैबाट कुनै खतरा उत्पन्न हुने महसुस पनि केपीले नगरेको बताइन्छ । भीम रावलको अभियानले पार्टीमा खासै महत्व नपाउने बुझाइ केपीमा देखिन्छ ।

खतरा प्रचण्डबाट भएको यथार्थलाई राम्रोसँग बुझेकोले केपी सकेसम्म प्रचण्डसँग समझदारी बनाएर अघि बढ्ने, समझदारीको सम्भावना नरहेपछि मात्र जुघ्ने रणनीतिमा रहेको बुझिन्छ । त्यसैले वामदेव गौतमलाई अघि लगाएर ‘कपटी खेल’ खेल्न खोजिएको बुझ्दाबुझ्दै पनि प्रचण्डसँग ‘समझदारी कायम राख्न’ प्रधानमन्त्री केपी शर्मा ओली वामदेव गौतमलाई संसद्मा प्रवेश गराउन सहमत हुने स्थिति बनेको छ ।

प्राप्त जानकारीअनुसार यसबीचमा प्युठानबाट निर्वाचित सांसद दुर्गा पौडेललाई राजीनामा गराएर रिक्त स्थानका लागि हुने उपनिर्वाचिनमा वामदेव गौतमलाई उम्मेदवार बनाउन ओली सैद्धान्तिक किसिमले राजी भएका छन् । केपी सकारात्मक भएकोले आफ्नो इच्छा पूरा गर्ने मार्गमा अड्चन पैदा नहोस् भनेर वामदेव गौतम अत्यन्त सचेत बनेका छन् । केपी ओलीप्रति चरम असन्तुष्टि भए पनि वामदेवले मौन रहने धैर्य दर्शाउनुको कारण पनि यही मानिएको छ ।

वरिष्ठ कम्युनिस्ट नेता मोहनविक्रम सिंहकी पत्नीसमेत रहेकी सांसद दुर्गा पौडेललाई राष्ट्रिय सभाको सदस्य तथा मन्त्री बनाउने सर्तमा पौडेल वामदेवका लागि ठाउँ खाली गरिदिन तयार भएको बुझिएको छ । कुनै अप्रत्यासित घटना भएन भने दुर्गाले पदबाट राजीनामा दिने र उनको क्षेत्र (प्युठान) बाट वामदेव गौतम उम्मेदवार बन्ने निश्चित भएको छ । गौतमलाई संसद्भित्र प्रवेश गराइसकेपछि प्रचण्डलगायत केपीका सबै विरोधीहरू एकजुट भएर ‘खेल सुरु गर्ने’ प्रबल सम्भावना छ । कदाचित संसदमा वामदेवको प्रवेश भएमा सत्ता राजनीतिले नयाँ मोड लिने निश्चितप्रायः छ ।

जीवनमा एकपटक प्रधानमन्त्री बनेरै मर्ने वामदेवको चाहनामा प्रचण्ड र माधव नेपालहरूले मलजल गर्न थालेपछि संसद् पसेका वामदेवले केपीलाई विस्थापित गराएर मात्र विश्राम लिनेमा शङ्का गर्नु नपर्ने भनी बताउन थालिएको छ ।