सङ्गीत-उपनिर्देशक सुनामको ‘प्रज्ञा’बाट बिदाई

सङ्गीत-उपनिर्देशक सुनामको ‘प्रज्ञा’बाट बिदाई


नेपाल प्रज्ञा–प्रतिष्ठानका सङ्गीत उपनिर्देशक कलाकार केशव सुनामलाई एक समारोहका बीच बिदाई गरिएको छ ।

३९ वर्षसम्म प्रज्ञा–प्रतिष्ठानमा दीर्घसेवा गरी अनिवार्य अवकाश लिनुभएका सुनामलाई कुलपति गङ्गाप्रसाद उप्रेती र उपकुलपति डा. जगमान गुरुङले कुशलतापूर्वक प्रज्ञा–प्रतिष्ठानको दीर्घसेवा गरेकामा कदर गर्दै अबिरको टीका लगाइदिई फूलमाला र खादा ओडाई सम्मान गर्नुभएको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, कलाकार तथा कर्मचारी सङ्गठनका अध्यक्ष विश्वमोहन राजभण्डारीले सङ्गठनका तर्फबाट प्र्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

कुलपति उप्रेतीले सुनामलाई मृदुभाषी, मिलनसार र कर्तव्यपरायणका साथै प्रतिभाशाली कलाकार भन्दै उहाँको कार्यकाल अत्यन्त सन्तोषजनक रहेको बताउनुभयो । उहाँले संस्थाको प्राण भनेकै कर्मचारी रहेको विचार व्यक्त गर्नुभयो ।

कर्मचारी परिवारका तर्फबाट सङ्गठनका अध्यक्ष विश्वमोहन राजभण्डारीले सुनामका सुकार्यहरूबारे प्रकाश पार्नुभएको थियो ।

भ्वाइलिन, किबोर्ड एवम् हार्मोनियम वादक सुनाम २०३७ सालमा प्रज्ञा–प्रतिष्ठानमा कलाकारका रुपमा सेवा प्रवेश गर्नुभएको थियो । बिदाई ग्रहण गर्दै कार्यक्रममा सुनामले राष्ट्रका प्राज्ञिक व्यक्तित्वहरूसँग काम गर्न पाउँदा आफू धन्य भएको बताउनुभयो ।

कार्यक्रममा प्राज्ञ परिषद् सदस्यहरू प्रा.डा. योगेन्द्रप्रसाद यादव, डा. हेमनाथ पौडेल, प्रा.डा. गोपिन्द्र पौडेल, माया ठकुरी र प्राज्ञ सभा सदस्य शशी लुमुम्बूको उपस्थिति रहेको थियो ।

यसैगरी प्रशासन प्रमुख सुमन अधिकारी, योजना तथा कार्यक्रम महाशाखा प्रमुख सन्ध्या पहाडी, का.मु. आर्थिक महाशाखा प्रमुख चित्रा ठकुरी, नेपाल प्रज्ञा–प्रतिष्ठान, कलाकार तथा कर्मचारी सङ्घका अध्यक्ष अशोककुमार चौरसिया, राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष धनबहादुर कार्कीलगायत उपप्रमुख, अधिकृत एवम् समस्त कर्मचारीहरूको उपस्थिति रहेको बिदाई कार्यक्रम बुद्धि तिमल्सिनाले सञ्चालन गर्नुभएको थियो ।