छत्रमहाराजको इतिहास जोडिएको छत्रदेव ओझेलपर्दा…





श्री छत्रमहाराज कोट दरबार अपेक्षाकृत चर्चामा आउन नसक्दा गाउँपालिकाको आन्तरिक आम्दानी न्यून बन्दै गएको छ । कुनै समय छत्रमहाराज बसेको र मन्दिरसमेत निर्माण भएको कारण उनैको नामबाट अर्घाखाँचीमा छत्रदेव गाउँपालिका नामाकरण गरिएको हो ।

पूर्वमा गुल्मी जिल्ला, पश्चिममा सन्धिखर्क नगरपालिका, उत्तरमा मालारानी गाउँपालिका र गुल्मीको केही क्षेत्र अनि दक्षिणमा पाणिनी गाउँपालिकाबाट सीमाबन्धित छत्रदेवबारे एक रोचक कहानी स्थानीयबीच प्रचलित छ ।

करिव ५ हजार वर्षअघि कुरुक्षेत्रमा भएको महाभारत युद्धमा युद्ध अवलोकन गर्न पुगेका छत्रमहाराजाको शीर भगवान श्रीकृष्णबाट छेदन भएपछि छेदन भएको छत्रको शीरले पहाडी खण्डको यसै क्षेत्रमा बस्न चाहना दर्शाएअनुसार भगवान श्रीकृष्ण र पाँच पाण्डवले छत्र महाराजलाई यस स्थानमा स्थापित गरिदिएका कुरा आफूले पुर्खाहरूबाट सुनेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर रायमाझी बताउँछन् ।

पैयुँका रुखमुनि पूजा गर्दै आएको यस स्थानमा अङ्ग्रेज र मुस्लिमको लाडाईंमा नेपालको तर्फबाट अङ्ग्रेजको सहयोगार्थ भारतको लखनौमा जाँदा पाल्पा जिल्लाका बहादुर कर्नेलले युद्धमा विजयी प्राप्त गरेमा दरबार र मन्दिर बनाउने भाकल गरेका र भाकल पूरा भएपछि सन् १८५० मा मन्दिर तथा दरबार निर्माण भएको बुढापाकाको भनाई छ ।

बाह्र रोपनी क्षेत्रफलमा फैलिएको मन्दिर परिसरभित्र पाँच पाण्डवको मन्दिरका साथै गणेश, शिवालय तथा छत्र महाराजाको मन्दिरसमेत रहेको छ । आइतबार, पूर्णिमा, चैतेदशैँको रामनवमी, बुद्ध जयन्ती, वडादशैँमा पूरा समय र न्वागीखाने दिन मात्रै पूजा गर्ने गरिन्छ । अप्ठ्यारोमा परेको समय यो मन्दिरलाई सम्झिएमा मनोकाङ्क्षा पूरा हुने स्थानीय विश्वासअनुसार राँगा, भेडा, कुखुरा, हाँस र परेवा चढाउने यहाँको परम्परा छ । मन्दिरको संरक्षण र महत्वलाई चिनाउन आफुहरुले सुधारका कार्यहरु अघि बढाएको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेल बताउँछन् ।

यस मन्दिरसँग करिव ५० रोपनी गुठीको जमिन भए पनि खानेपानीको ठुलै समस्या रहेको छ । त्यसो त सुख्खा क्षेत्रकै रुपमा चिनिने छत्रदेव गाउँपालिकामा वार्षिक २२०० मिलिमिटर भन्दा कम वर्षा हुने गर्दछ । खानेपानी र सिँचाइको ठूलो समस्या रहेको यस क्षेत्रमा आर्थिक संमृद्धिको लागि खानेपानी र सिचाईंमा सबैको ध्यान जानुपर्ने प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल बताउँछन् । साविकका बल्कोट, केरुङ्गा, छत्रगञ्ज, ठूलापोखरा, भगवती गाविसको सबै भाग र चिदिका गाविसको १ नं. देखि ८ नं. वडा, अर्घातोष गाविसको २ नं. देखि ५ नं. वडासम्म र मरेङ गाविसको ७ नं. देखि ९ नं. वडासम्मका भू–भागलाई मिलाई छत्रदेव गाउँपालिका गठन भएको हो । गाउँपालिकाभित्र खरको छानादेखि काठको पोलमुक्त लगायत स्वस्थ्य, शिक्षा आदि विषयमा उल्लेखनीय सफलताहरु भित्रिएको भएपनि पानी र बाँदर आतंक ठुलै चुनौती भएको प्रमुख प्रशासकीय अधिकृत भुसालको कथन रहेको छ ।

समस्याहरु जे जस्ता भएपनि गुल्मी जिल्लासँग जोडिएको छत्रदेव गाउँपालिकामा अवस्थित छत्रदेव महाराज परिसरको संरक्षण, सम्बद्र्धन तथा प्रचारप्रसार गर्न सक्ने हो भने आन्तरिक र वाह्य पर्यटकका लागि कोसेढुङ्गा सावित हुनेछ ।

प्रतिक्रिया