‘डबल नेकपा’ एक हुँदा के मिल्छ देशलाई ?

‘डबल नेकपा’ एक हुँदा के मिल्छ देशलाई ?


वर्तमान सरकार त निसङ्कोच दाबी गरिरहेको छ कि सरकार जनचाहनाअनुसार नै अघि बढेको छ ! सुशासन र समृद्धिको निम्ति अभूतपूर्व काम गरेको छ !! तर, कम्युनिस्ट नेतृत्वको सरकारको यही दाबीले तमाम नेपालीको हृदयको घाउमा नुनचुक दलेको अनुभूति गराउँछ ।

लगभग डेढ वर्षअघि चुनावी गठबन्धनको घोषणासँगै दुई पार्टी एकता प्रक्रिया शुरु भएको सार्वजनिक जानकारी गराएर राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रिया पूर्णताको नजिक पुगेको छ । नेपाल कम्युनिस्ट पार्टीको सत्तरी वर्ष पूरा भएको अवसर पारेर ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ ले मुलुकका ७७ वटै जिल्लाका जिल्ला कमिटी नेतृत्वको नाम घोषणा गरेको छ । डेढ वर्ष समय बितिसक्दा पनि सहमतिको माहोल बन्न नसकेपछि एकता प्रक्रिया नै धरापमा पर्न लागेको भन्दै सो पार्टीका नेता–कार्यकर्ताबीच छटपटी बढेको थियो । शीर्ष नेतृत्वमा रहेका पात्रहरूको स्वार्थ तथा पार्टीमा वर्चश्व जमाउने महत्वाकाङ्क्षाका कारण पार्टी एकीकरणले पूर्णता नपाउँदै फुटको विजारोपण हुने त होइन भन्ने कोणबाट आशङ्का जनाउन थालिएको थियो । फलतः जबर्जस्ती नै सही, एकीकरण प्रक्रियाको एउटा जटिल चरण पार गर्ने सफलता सत्ताधारी नेकपाको नेतृत्वलाई हासिल भएको छ ।

पार्टी एकीकरण गरिने तत्कालीन घोषणाका कारण कम्युनिस्ट कार्यकर्तामा उत्पन्न उल्लासले नागरिकको आमतप्कामा समेत बलात् आशापेक्षा जगाएको त प्रतिनिधिसभा र प्रदेश सभाका चुनावमा सो दललाई प्राप्त दुईतिहाइ बहुमतको नतिजाबाटै प्रमाणित भएको हो । तर, एकताको हल्ला चलाएकै भरमा निर्वाचनमा भारी सफलता पाएको र शक्तिशाली सरकार गठन भएको सवा वर्ष पार भइसक्दा पनि एकीकरण प्रक्रियालाई पूर्णता दिन नसकेबाट ‘डबल नेकपा’ नेतृत्व सकसमा परेको, कतै एकताले मूर्तरूप पाउने सम्भावना क्षीण हुँदै गएको त होइन भन्ने सन्देहसमेत सम्बद्ध सरोकारवालामा जागृत भएकै हो । यस परिवेशमा सबै जिल्ला–नेतृत्वको नाम घोषणासम्म गर्न सक्नु पनि ‘दुई अध्यक्ष’ले नेतृत्व गरेको नेकपाका निम्ति ठूलै विजयसमान हो ।

तर, इतिहासकै सर्वाधिक शक्तिशाली सरकारको नेतृत्व गरिरहेको दललाई हासिल हुँदै गरेको सफलताका कदम आमनेपालीको हितसँग भने जोडिन नसकेको घामजत्तिकै छर्लङ्ग छ । कुनै पनि प्रजातान्त्रिक मुलुकका नागरिकको निम्ति त्यहाँ शासन गरिरहेको दल सशक्त, सक्षम या बलियो हुनु अत्यन्त सकारात्मक र खुसीको विषय बन्छ । किनकि, सशक्त दलको स्थिर र सक्षम सरकारले नै आफ्ना आवश्यकता वा आकाङ्क्षाहरू साकार तुल्याउन सक्छ भन्ने आशा नागरिकमा जागृत भएको हुन्छ । जनताबाट प्राप्त शक्तिको भरपुर उपयोग देश र जनताकै हकहित एवम् सेवा–सुरक्षामा खर्च गरे सरकार पनि लोकप्रिय र थप शक्तिवान् बन्न पुग्छ । दुर्भाग्यवश नेपाल र नेपाली जनताले चाहिँ यस्तो आदर्शपूर्ण लोककल्याणकारी सरकारको अनुभूति गर्न पाएका छैनन् ।

वर्तमान सरकार त निसङ्कोच दाबी गरिरहेको छ कि सरकार जनचाहनाअनुसार नै अघि बढेको छ ! सुशासन र समृद्धिको निम्ति अभूतपूर्व काम गरेको छ !! तर, कम्युनिस्ट नेतृत्वको सरकारको यही दाबीले तमाम नेपालीको हृदयको घाउमा नुनचुक दलेको अनुभूति गराउँछ । नेपाल सरकारको यस हास्यास्पद दाबी देखेर दुनियाँ नै जिल्ल परेको छ । नेपालमा बढ्दो भ्रष्टाचार र कुशासनसँग देश–दुनियाँ वाकिफ छन् र पनि यहाँको सरकार कसरी सुशासन र समृद्धिको दाबी गरिरहेको छ– आश्चर्यकै सन्दर्भ हो ।

पार्टी एकता प्रक्रियामा ‘छलाङ’ मारेको जानकारी दिने मूल ध्येयका साथ आयोजित नेपाल कम्युनिस्ट पार्टीको ७०औँ वर्ष–उत्सवका अवसरमा पनि देशकै कार्यकारी प्रमुखको भूमिकामा रहेका नेता केपी ओलीले आफू पार्टीको दायराबाट बाहिर निस्कन नसकेको प्रस्टै छनक दिए । आफैँले घोषणा गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा साकार पार्नको निम्ति पनि मुलकभित्रका सबै सोच, सिद्धान्त र शक्तिलाई समेटेर अघि बढ्नु अपरिहार्य रहेको तथ्यबोध प्रधानमन्त्रीलाई हुनुपर्ने हो । सहमति र सहकार्यको भाषण गरेर नथाक्ने नेताले आफूलाई परनिन्दाबाट किनाराकृत गर्दै विनयीभाव जगाउनुपर्ने हो । तर, सहिष्णुताको साटो दम्भ नै सवार भएको अनुभूति गरियो ‘नेपाल कम्युनिस्ट पार्टी नेकपा’का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको बोली–व्यवहारमा ।

आफ्नै निकम्मापनले अवसादग्रस्त काङ्ग्रेसजस्तो निरीह प्रतिपक्षीलाई रोवपूर्ण आवाजमा व्यङ्ग्य गर्नुको साटो उसमा आत्मबल जगाइदिने प्रयत्न गरिदिएको भए समृद्धिको कथित यात्रामा थोरबहुत मद्दत नै पुग्न सक्थ्यो कि ! आफ्नो दल, आफ्ना कायकर्ता वा समर्थकबाहेकलाई ‘बाइकट’ नै गर्ने शैलीले त दल कता जाला, देश कहाँ पुग्ला– मनन गर्नु जरुरी छ । नेकपाका नेताहरूले नेकपा नामक सत्तारुढ दलको जतिसुकै बखान गरे पनि त्यस दलले नेपाल र नेपालीका मुटुले महसुस गर्ने गरी हितकारी कर्म गर्न सक्दैन भने जबर्जस्ती बडप्पनको आडम्बर निरर्थक छ, हेक्का रहोस् ।