केपीको जन्मकुण्डली खतरनाक

केपीको जन्मकुण्डली खतरनाक


‘आफूलाई धनी बनाए पनि राज्यलाई कङ्गाल बनाउने’

०७१ को चैत २२ गते ज्योतिषी शिवदत्त ढकाल घटना र विचारको कार्यालयमा आउनुभयो र, आगामी वर्ष (२०७२) ज्योतिषीय दृष्टिमा कस्तो छ भन्ने हाम्रो जिज्ञाशा मेट्दै भन्नुभएको थियो, ‘२०७२ वैशाख १ गतेदेखि असार मसान्तभित्र नेपालमा ठूलो विपत्ति आउने र हजारौँ–लाखौँ मानिस मर्ने स्थिति छ । आउँदो वर्ष नेपालीका निम्ति धेरै दुःखको वर्ष हुनेछ ।’

नभन्दै ०७२ हाम्रा निम्ति अत्यन्त कष्टकारक सिद्ध भएको थियो । तिनै ज्योतिषी शिवदत्त ढकालसमक्ष यो वर्ष २०७६ कस्तो रहला भन्ने प्रश्न राख्दा उहाँले भन्नुभयो– आगामी जेठदेखि नराम्रो हुँदै जाने योग छ ।

यो वर्ष राजा शनि र मन्त्री सूर्य छन् । शनिश्चर दुःखको कारण हो । यो ग्रहले सबै काममा ढिलासुस्ती गराउँछ । शनि भौतिक ग्रह भएकोले भौतिक उन्नति केही न केही गराउने र न्यायको समेत अधिपति भएकोले यो वर्ष अन्यायीहरूको पराजय हुने र अपराधीहरूको दोहोलो काढ्ने अवस्था छ । निरपराधहरूले न्याय पाउने स्थिति हुन्छ । हामीले जो–जसलाई अपराधी देखेका छौँ, तिनलाई दण्ड मिल्ने सम्भावना प्रबल छ ।

यदि अपराधीजस्ता देखिएकाहरू दण्डित भएनन् भने तिनले देशलाई ठूलो क्षति पुऱ्याउने देखिन्छ । मिथुनको राहु उच्च छ । ग्रहहरू सबैजसो अवरोही छन्, तल झर्दै छन् । बक्रग्रहको फल ज्यादै भयावह हुन्छ, राहु त बक्री नै भइहाल्यो, असोजसम्म शनि पनि बक्र छ । राहुको फल अशुभ हुन्छ नै, शनिसमेत बक्र भएकोले देशलाई अशुभ फल मिल्ने देखिन्छ । जेठदेखि भाद्रसम्म धेरै खतरनाक स्थिति पैदा हुनेछ ।

० अशुभ फल भन्नाले केसम्म होला ?

– हावाहुरी, बाढीपहिरो हुने र यही असोजभित्रै सत्तामा समेत धेरै ठूलो धक्का लाग्न जान्छ । सत्ता नै परिवर्तन हुन पनि सक्छ । असारमा सूर्य र राहु एकै ठाउँमा बस्छन्, त्यसले राष्ट्रको मुख्य शासकलाई नै हानि पुऱ्याउने सम्भावना रहन्छ । देशमा ठूला दुर्घटनाहरू हुन्छन् यो समयभित्रै । प्रधानमन्त्री केपी शर्मा ओलीका निम्ति आगामी असोजसम्म निकै कष्ट हुन्छ । आउँदो फागुनसम्म ओलीको सरकार विस्थापित हुने सम्भावना देखिन्छ, तर ओलीका निम्ति व्यक्तिगत ग्रहगोचर धेरै खराब नभएकोले सङ्कट टर्दैटर्दैन भन्नेचाहिँ होइन ।

० यो वर्षभित्र नराम्रो हुने त बुझियो, राम्रोचाहिँ केही हुँदै हुन्न ?

– न्याय क्षेत्र राम्रो हुन्छ, अन्यायमा परेर बसेकाहरू सबैले न्याय पाउने या राहत पाउने स्थिति छ । गंगामायालाई समेत यही वर्षभित्र न्याय मिल्ने देखिन्छ ।

० राजा ज्ञानेन्द्रले पनि न्याय पाउने सम्भावना छ त ?

– यो वर्षको उत्तरार्द्ध राजाका लागि राम्रो देखिन्छ । मङ्सिरदेखि उता राजाका निम्ति परिस्थिति अलिक अनुकूल भएर जानेछन् । ग्रहहरूको अवस्था हेर्दा राजाका निम्ति पुस महिना ज्यादै राम्रो छ । राजसंस्था पुनर्वहालीको बलियो पृष्ठभूमि यो वर्ष बन्नेछ ।

० जनस्तरमा यो वर्षको प्रभाव कस्तो पर्ला ?

– प्राकृतिक प्रकोप, भय र विपत्तिको प्रभावमा चाहिँ जनता पर्ने नै देखिए । तर, शासनसत्ता बदलिएर जनताको भावनाबमोजिम परिस्थिति बन्ने हुनाले जनताले राहत महसुस गर्ने सम्भावना रहन्छ । जनताले दीर्घकालिक सन्तुष्टि पाउने स्थिति छ । यो वर्ष बिचौलियाहरूको बिल्लीबाठ हुन्छ ।

० यो साल २०७२ भन्दा कति खराब या असल हुन सक्ला ?

– यो वर्ष भौम प्रकोप (पृथ्वीको) होइन अन्तरिक्ष प्रकोप हुने हो । विश्वभरिलाई असर गर्छ । अन्तरिक्ष प्रकोप भन्नाले हावाहुरी, चट्याङ, अनावृष्टि, अतिवृष्टि, प्रकृतिमा असामान्य व्यवहार देखापर्ने, उल्का पिण्डहरू खस्न सक्नेजस्ता समस्या भनेर बुझ्नुपर्छ । यो विपत्तिको सामना गर्न सरकार असफल रहन्छ । पुस गुखादित्य महिना हो, वृहस्पति र सूर्य एकै ठाउँमा हुन्छन्, यसले अस्वाभाविक फल दिन्छ ।

० केपीको जन्मकुण्डलीलाई मात्र आधार बनाएर हेर्दा कस्तो देखिन्छ ?

– केपी ओली ज्यादै धनी हुने योग भएका व्यक्ति रहेछन्, तर उनको कामशक्तिचाहिँ धेरै नै कमजोर हुने देखिन्छ । चैतसम्म वृहस्पति र फागुनदेखि शनिश्चरले छोड्छ । यिनलाई मातृसुख हुने देखिँदैन । यो कुण्डलीवालाको त्रिहत्तर वर्षको उमेरसम्म राजनीतिक योग राम्रो देखिन्छ । प्रधानमन्त्री पद नरहे पनि राजनीतिक भूमिकाका दृष्टिले एउटा उचाइमा यिनी रहिरहनेछन् । जन्मकुण्डलीको सूक्ष्म अध्ययन गर्दा यी मानिस आफू धनी बन्ने, तर देशलाई कङ्गाल बनाउने देखिन्छ । ओलीको योग नै त्यस्तो परेको रहेछ । यिनले आफन्त, दाजुभाइ, साथी, इष्टमित्र कसैलाई पनि खुसी राख्दैनन् । मंगल तेस्रो स्थान भएकोले केपीसँगै रहेकाहरू कोही पनि सन्तुष्ट हुन सक्दैनन् र आफूभन्दा तल रहेकाहरूलाई अन्ततः यिनले सिध्याएरै छोड्ने देखियो । आउँदो फागुनसम्म यिनको ग्रहगोचर बलियो छ, त्यसपछि यिनले सङ्कटको सामना गर्दै अघि बढ्नुपर्ने अवस्था आउनेछ । सबैभन्दा दुःखको कुराचाहिँ यिनको कुण्डली उनी आफूलाई धनी बनाए पनि राज्यलाई कङ्गाल बनाउने प्रकारको रहेछ । देशलाई आर्थिक रूपले दीर्घकालिक क्षति पुऱ्याउने अवस्था देखियो । समग्रमा केपीको जन्मकुण्डली खतरनाक छ भन्नु उचित होला ।