आर्चरीमा असिम र ज्ञानुलाई स्वर्ण

आर्चरीमा असिम र ज्ञानुलाई स्वर्ण


आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत नवौँ राष्ट्रिय आर्चरी प्रतियोगिताको ७० मिटर व्यक्तिगत रिकर्भको पुरुषमा कास्कीका आर्चरी क्लबका असिम शेरचन र महिलामा आर्मीकी ज्ञानु अवालेले स्वर्ण जितेका छन् ।

नेपालगन्जस्थित क्षेत्रीय प्रहरी तालिम केन्द्रमा भएको पुरुष फाइनलमा असिमले आफ्नै क्लबका मुकेश तामाङलाई ७–३ ले पराजित गरे । आर्मीका रोसन नगरकोटी तेस्रो भए । महिलाको उपाधि भिडन्तमा ज्ञानु आर्मीकै मित्रा राईलाई ७–१ ले हराउँदै च्याम्पियन बनिन् । कास्कीकी केशरी आलेमगर तेस्रो भइन् ।

पुरुष ३० मिटर स्ट्यान्डर्ड टिममा आर्मी बेस्ट आर्चरी क्लबलाई फाइनलमा ६–० ले पाखा लगाउँदै पहिलो भयो । थसाङ स्पोर्ट्स क्लब, काठमाडौं तेश्रो स्थानमा रह्यो । सो स्पर्धाको महिला फाइनलमा अन्नपूर्ण आर्चरी क्लबले कञ्चनपुर आर्चरी क्लबलाई ६–० ले पन्छाउँदै तेस्रो बन्यो । आर्मीले तेस्रो स्थानमा चित्त बुझायो ।

रिकर्भ मिक्स टिममा आर्मीका डम्बरबहादुर थापा र आइशा तामाङको जोडीले पहिलो स्थान हासिल गर्न सफल भयो । फाइनलमा उक्त जोडीले आर्मीका रोशन नगरकोटी र ज्ञानु अवालेको जोडीलाई ६–२ ले निराश पा¥योे । कास्कीका मुकेश तामाङ र केशरी आलेमगरको जोडीले तेस्रो स्थानमा चित्त बुझायो । रिकर्भ पुरुष टिमको ७० मिटरमा कास्कीले प्रहरीलाई फाइनलमा ६–० ले निराश पा¥यो । आर्मी तेस्रो बन्यो ।

पुरुष व्यक्तिगत स्ट्यान्डर्ड ३० मिटरमा आर्मीका तविन गुरुङले फाइनलमा बेस्ट आर्चरीका प्राञ्जल राईमाथि ६–० को जित निकाल्दै स्वर्ण जिते । आर्मीका कमल दानीले कांस्य जिते । त्यसै स्पर्धाको महिलामा अन्नपूर्ण आर्चरी क्लबकी अर्चना थापाले फाइनलमा अन्नपूर्णकै अनुषा गुरुङको चुनौती ६–२ ले समाप्त पार्दै स्वर्ण प्राप्त गरिन् । अन्नपूर्णकै सोलिना गुरुङ तेस्रो भइन् ।

पुरुष ५० मिटर व्यक्तिगत कम्पाउन्डमा कास्कीका जाग्रित गुरुङ शीर्ष स्थानमा रहे । फाइनलमा उनले कास्कीकै राजेश राणालाई निराश पारे । थसाङका रमेश भट्टचन तेस्रो भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टलगायतले पुरस्कृत गरे ।