भन्सार छलेर ल्याएको कपडा नागढुङ्गामा बरामद

भन्सार छलेर ल्याएको कपडा नागढुङ्गामा बरामद


ठूलो परिणाममा भन्सार छलेर ल्याएको कपडा नेपाल प्रहरीले बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले आज (मंगलबार) बिहान बुटवलबाट काठमाडौं आउँदै गरेको लु २ ख २०११ नं को यात्रुबाहक बस जाँचका क्रममा सात लाख बराबरको भन्सार छलेर ल्याएको कपडा बरामद गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बेवारिसे अवस्थामा कपडा भन्सार छलेर ल्याएको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले उक्त बसबाट कुर्ता सुरुवाल ३५५ थान, सल ११५ थान, सल १० सेट, टप्स कुर्ता ५६० थान बरामद गरेको छ । उक्त सामग्रीको बजार मूल्य रु सात लाख २९ हजार रहेको प्रहरीले बताएको छ । बरामद भएको कपडालाई आवश्यक अनुसन्धानका लागि आन्तरिक राजश्व विभाग पठाइने प्रहरीले जनाएको छ ।