युक्रेनको राष्ट्रपतिमा हास्य कलाकार जेलेन्स्की विजयी

युक्रेनको राष्ट्रपतिमा हास्य कलाकार जेलेन्स्की विजयी


युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्य कलाकार भोलोडिमर जेलेन्स्की विजयी बनेका छन् । उनले वर्तमान राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई ठूलो मतान्तरले पराजित गरेका छन् । राजनीतिमा खासै अनुभव नभएका ४१ वर्षीय हास्य कलाकार जेलेन्स्कीले ७३.२ प्रतिशत मत प्राप्त गरेका थिए । निर्वाचन आयोगका अनुसार पोरोसेन्कोले २४.४ प्रतिशत मात्र मत प्राप्त गरे । यद्यपि करिब १५ प्रतिशत मतगणना हुन बाँकी छ ।

चुनावमा राष्ट्रपति पेट्रो पोरोसेन्को र हास्य कलाकार भोलोडिमर जेलेन्स्कीबीच कडा प्रतिस्पर्धा हुने पछिल्ला जनमत सर्वेक्षणमा देखिएको थियो । यसअघि सम्पन्न पहिलो चरणको चुनावमा वर्तमान राष्ट्रपति पेट्रो पोरोसेन्कोविरुद्ध जेलेन्स्की र पूर्वप्रधानमन्त्री युलिया टिमोसेन्कोले कडा चुनौती दिएका थिए । कलाकार जेलेन्स्कीले राष्ट्रपति पेट्रो पोरोसेन्कोको भन्दा दोब्बर मत प्राप्त गरेका थिए, तर निर्वाचित हुन आवश्यक ५१ प्रतिशत मत प्राप्त गरेका थिएनन् ।

युक्रेनी चुनाव आयोगका अनुसार पहिलो चरणमा जेलेन्स्कीले ३०.२ प्रतिशत र पोरोसेन्कोले १६.७ प्रतिशत मात्र मत प्राप्त गरेका थिए भने पूर्वप्रधानमन्त्री युलियालाई १३.०८ प्रतिशत मत प्राप्त भएको थियो । करिब चार करोड २० लाख जनसंख्या रहेको युक्रेनको यसपटकको राष्ट्रपतिको चुनावमा ३९ जनाले उम्मेदवारी दिएका थिए । पछिल्ला वर्षहरूमा भ्रष्टाचार, अर्थतन्त्रमा छाएको मन्दी तथा पूर्वीभेगमा रुसी समर्थनमा भइरहेको सशस्त्र संघर्षबाट युक्रेन आक्रान्त छ ।

युक्रेनको संविधानअनुसार पहिलो चरणको चुनावमा कुनै उम्मेदवारले पूर्ण बहुमत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुईजनाबीच दोस्रो चरणको चुनाव हुन्छ । चुनावी मतपरिणामबाट विजयी हुने सुनिश्चित भएसँगै जेलेन्स्कीले आफ्ना समर्थकहरूलाई राजधानी किभमा सम्बोधन गर्दै आफूले युक्रेनी जनताको भावनामा कहिल्यै कुठाराघात नगर्ने बताएका थिए ।

जेलेन्स्कीको विजयप्रति युरोपेली युनियन, नेटो, फ्रान्स, अमेरिकासमेतका संस्था एवं सरकारबाट खुसी व्यक्त गर्दै युक्रेनको स्थायित्व र विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । चुनावपछिको मतसर्वेक्षणमा युद्धरत एवं अशान्त पूर्वीक्षेत्रबाट भारी मत प्राप्त गरेका जेलेन्स्कीले राष्ट्रपति पोरोसेन्कोको पकड क्षेत्रबाट पनि बढी मत प्राप्त गर्ने देखाएको थियो ।

पराजित राष्ट्रपति पोरोसेन्कोले आफ्नो हार भएको स्वीकार गर्दै विजयी जेलेन्स्कीलाई बधाई दिएका छन् । उनले पछिल्लो नतिजाबाट रुस खुसी भएको हुन सक्ने भन्दै युक्रेनले पश्चिमा राष्ट्रसँगको सम्बन्धलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिए । विश्लेषकहरूले नवनिर्वाचित राष्ट्रपति जेलेन्स्कीले रुससँगको सम्बन्धलाई पुनः परिभाषित गर्ने अनुमान गरेका छन् । मस्कोले युक्रेनी जनताले परिवर्तन चाहेको देखिएको जनाएको छ ।