आज नेकपाको जिल्ला कमिटी एकता घोषणा, ४४/३३ को भागवण्डा

आज नेकपाको जिल्ला कमिटी एकता घोषणा, ४४/३३ को भागवण्डा


आज सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले जिल्ला कमिटी एकताको घोषणा गर्ने भएको छ । शीर्ष नेताहरूबीच सहमति जुटेपछि आइतबार साँझ बसेको सचिवालय बैठकले आज जिल्ला कमिटी घोषणा गर्ने निर्णय गरेको हो ।

निकै लामो रस्साकस्सीपछि आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो ।

जिल्लाका अध्यक्ष र सचिव नै दुवै पार्टीका जिल्ला अध्यक्ष (प्रमुख) रहने गरी नयाँ मापदण्ड बनाई एकता टुंग्याइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘बैठकले नेकपाका ७७ वटै जिल्लाको नेतृत्वको टुङ्गो लगाएको छ ।’ उनले भने, ‘अहिले अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको छ, बाँकी पार्टीको स्थापना दिवसका अवसरमा टुङ्गो लगाउनेछौं ।’ उनले जनवर्गीय सङ्गठनको नेतृत्व र पोलिटब्यूरो सदस्यको नामावली भने टुङ्गिन बाँकी रहेको र त्यो पनि केही दिनभित्र टुङ्गिने स्पष्ट पारे । ‘एकताका क्रममा ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व तत्कालीन एमाले र ३३ जिल्लाको नेतृत्व तत्कालीन माओवादीले पाउने गरी निर्णय भएको छ ।’ उनि भन्छन्, ‘अब सबै अन्योल र शंकाको अन्त्य भएको छ ।’

जनप्रतिनिधि अथवा राजकीय पदमा रहेका व्यक्तिलाई यसअघि जिल्लाको कार्यकारी पदको जिम्मेवारी नदिने भनी सचिवालयले नै बनाएको मापदण्ड भने उल्टिएको छ । बैठकअघि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, पार्टीका नेता माधवकुमार नेपाल र पार्टीका महासचिव विष्णु पौडेलले पार्टीको एकता प्रक्रियालाई टुङ्याउने विषयमा गहन छलफल गरेका थिए ।