दक्षिण-पूर्वी एशियाकै उत्कृष्ट एक बन्दै नर्भिक अस्पताल !

दक्षिण-पूर्वी एशियाकै उत्कृष्ट एक बन्दै नर्भिक अस्पताल !


मुलुकको केन्द्रीय राजधानी काठमाडौंमा सन् १९९३ मा सुरुवात भएको नर्भिक इन्टरनेशनल हस्पिटलले शनिबार (६ वैशाख, ०७६) आफ्नो २६औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ ।

एक विशेष कार्यक्रमका बीच मनाइएको वार्षिकोत्सव समारोहकै हिस्साका रुपमा नर्भिकले विगत १५ दिनदेखि विविध कार्यक्रमहरू गर्दै आइरहेको थियो । तिनमा वृहत् रक्तदान कार्यक्रम, खेलकूद (आन्तरिक भलिवल/क्रिकेट) र हाजिरी–जवाफ प्रतियोगिता रहेका थिए ।

२६औं वार्षिकोत्सवका औपचारिक समारोहपूर्व नर्भिकका अध्यक्ष एवम् कवि/गीतकार वसन्त चौधरीले नर्भिकमा नवस्थापित रक्तसञ्चार केन्द्र (ब्लड बैंक)को समुद्घाटन गरेका थिए । उक्त केन्द्रको व्यवस्थापन पश्चात् आफ्ना सेवाग्राही (बिरामीहरू)लगायत अन्य सर्वसाधारणलाई आवश्यक पर्ने रगतको भण्डारण आफैसँग हुने, क्रस म्याच लगायतका सेवाहरू छिटो, छरितो र विश्वसनीय हुने तथा आकस्मिक समयमा बिरामीको बहुमूल्य समय बचाउँदै ज्यान बचाउन समेत मद्दत पुग्ने भएको नर्भिक अस्पतालले जनाएको छ ।

नेपाली चिकित्सा फाँटका विविध विधामा अग्रणी हुने श्रेय पाएको नर्भिकले आफूलाई अझै परिस्कृत पार्ने र स्वास्थ्य सेवामा विविधिकरण एवम् विशिष्टिकरण गर्दै दक्षिण–पूर्वी एशियाकै एक उत्कृष्ट, उदाहरणीय एवम् नमूनायोग्य हस्पिटलमा परिणत हुने कार्यको थालनी यसै वर्ष गर्ने भएको छ ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आगामी तीन वर्षभित्र थप अनुमानित दुई अर्बको लगानीमा अत्याधुनिक २ सय ५० शैय्यायुक्त बन्ने बहुआयामिक एवम् बहु बैशिष्ट्य नर्भिकको भौतिक/प्राविधिक पूर्वाधार विकासबारे हस्पिटलका अध्यक्ष वसन्त चौधरीले उजागर गरेका हुन् । करिव ५० जना कर्मचारीहरुद्वारा सुरुवात गरिएको २५ शैय्यायुक्त नर्सिङ होम हाल करिब ९०० चिकित्सकीय, गैरचिकित्सकीय सदस्यहरुको कर्मथलो बनेको र १५० शैय्यायुक्त रहेको बताउँदै आगामी सन् २०२२ भित्रै यसलाई २५० शैय्यायुक्त अति विशिष्ट हस्पिटलका रुपमा विकास गरिने उनले बताए ।

हस्पिटलका भौतिक र प्राविधिक पूर्वाधारहरु जतिसुकै बढेता पनि नर्भिकले सदैव बिरामीको सर्वोपरी हितलाई ध्यान दिने प्रतिबद्धता दोहोऱ्याउँदै नर्भिक हिजो बिरामी सेवामा समर्पित थियो, आज पनि समर्पित छ र भोलि पनि सोही अनुरुप समर्पित रहने दृढता उनले राखे ।

हस्पिटलको प्रबन्ध निर्देशक मेघा चौधरीको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रममा हस्पिटलका लब्ध प्रतिष्ठित चिकित्सकहरुमध्ये अमेरिकन बोर्ड सर्टिफाइड स्नायु चिकित्सक तथा स्नायुरोग विभागीय प्रमुख डा. पङ्कज जलानले नयाँ उचाईमा पुग्दै गर्दा नयाँ चुनौती पनि आइपर्ने र त्यस्ता सबै चुनौतीहरुको सामना गर्न नर्भिक सक्षम रहेको बताए । नर्भिक राष्ट्रकै एक उत्कृष्ट स्वास्थ्य सेवा प्रदायक संस्था भएको, यसप्रति सर्वसाधारणको अत्यन्त ठूलो आस्था र भरोसा रहेको भन्दै यसलाई आफूहरुले कायमै राख्ने बताए, डा. जलानले ।

सोही समारोहमा बोल्दै नर्भिकको पाचन प्रणाली उपचार केन्द्र तथा ग्याष्ट्रोइन्टेरोलोजी विभागीय प्रमुख वरिष्ठ चिकित्सक डा. मधु घिमिरेले नर्भिकले नेपाली चिकित्सा फाँटलाई अन्तर्राष्ट्रिय स्तरमा पुऱ्याउन जति काम गरेको छ, त्यति कुनै पनि नेपाली सरकारी र गैर–सरकारी हस्पिटलहरुले गर्न नसकेका अभिव्यक्ति दिए ।

जसरी मुटुरोग उपचारमा नर्भिकले राष्ट्रमै सर्वप्रथम इन्टरभेनसन प्रविधि भित्र्याई अग्रणी हुने श्रेय पायो, त्यसरी नै पाचन प्रणाली उपचारमा अत्यावश्यक इन्टरभेनसन प्रविधि भित्र्याउने नर्भिक राष्ट्रकै पहिलो हस्पिटल रहँदै इ.आर.सी.सी. इण्डोस्कोपिक अल्ट्रासाउण्ड, इन्टेरेस्कोपी जस्ता प्रविधि भित्र्याउनेमा राष्ट्रकै पहिलो रहेको र विगत १० वर्षमा पाचन प्रणाली उपचारका क्षेत्रमा निकै ठूलो फड्को मारेको डा. घिमिरेले दाबी गरे ।

सो अवसरमा बोल्दै नर्भिककी प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख प्रा.डा. अचला बैद्यले विगत १४ वर्षमा नर्भिकमा प्रसूति तथा स्त्रीरोग उपचारमा अन्तर्राष्ट्रियस्तर कायम गर्न सकेको भन्दै सब–फर्टिलिटी, फिटल मनिटरिङ्ग, मेनोपाउज जता विषय विशेषज्ञ उपचार सेवा दिंदै हाल प्रिभेन्टिभ अन्कोलोजी र विशेष परामर्श (काउन्सेलिङ्ग) युनिट मार्फत् सेवा सुरु गरेको हुँदा देशैभरबाट आउने रेफरल केसहरु सफलतापूर्वक व्यवस्थापन गर्न सकेको बताइन् ।

समारोहमा वरिष्ठ छाती तथा श्वास–प्रश्वास रोग विशेषज्ञ प्रा.डा. रमेश चोखानी, वरिष्ठ मुटुरोग विशेषज्ञ (इन्टरभेन्सनल कार्डियोलोजिष्ट) तथा मुटुरोग विभागीय प्रमुख प्रा.डा. यादवदेव भट्ट, वरिष्ठ हाड–जोर्नी विशेष तथा हाड–जोर्नी विभागीय प्रमुख डा. प्रविन नेपालले आ–आफ्ना फ्याकल्टीलाई अझै कसरी उच्चस्तरीय पार्ने भन्ने विषयमा आफूहरु दत्तचित्त रहेको बताए ।

उपचारमा नवीनतम् प्रविधि भित्र्याउने क्रममा हाल कायरोप्राक्टिक सेवा नेपालमै पहिलोपटक सुरु भइसकेको र अन्य सेवाहरु सुरुवातकै क्रममा रहेको पनि बताइयो ।

कार्यक्रमकै बीच हस्पिटलका दीर्घसेवी कर्मचारी र उत्कृष्ट विभागीय कर्मचारीहरूलाई पुरस्कृत एवम् सम्मानित तुल्याइएको थियो ।

हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहको धन्यवाद ज्ञापनबाट समापन गरिएको पहिलो सत्रको औपचारिक समारोह लगत्तै दोस्रो चरणको साँस्कृतिक, सांगितिक एवम् अन्य मनोरञ्जनात्मक कार्यक्रम सहित दोस्रो सत्र सुरु भएको थियो । दोस्रो सत्रमा कर्मचारीहरुको समूहद्वारा रोचक नृत्य, थारु नृत्य, गीत र फेसन शो समेत प्रस्तुत भएका थिए ।