विप्लव नेतृत्वको नेकपामाथि निगरानी जारी

विप्लव नेतृत्वको नेकपामाथि निगरानी जारी


नेपाल प्रहरीले ७७ वटै जिल्लामा विप्लव नतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि सूक्ष्म निगरानी गरी नेता तथा कार्यकर्तामाथि कारवाही जारी राखेको छ । सरकारी निर्णय कार्यान्वयन गर्दै प्रहरीले यस्तो कारवाही जारी राखेको सम्बद्ध पक्षको जिकीर छ ।

गत फागुन २८ गते सरकारले प्रतिबन्धित नेकपासँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने गरी उसका गतिविधि नियन्त्रण गर्ने निर्णय गरेसँगै प्रहरीले पक्राउ गरी कारवाही गर्न थालेको हो ।

सो पार्टीका पछिल्ला गतिविधि राजनीतिकभन्दा पनि हिंसात्मक र आपराधिक देखिएको सरकारी निष्कर्ष छ । यद्यपि वार्ता र सहमतिमा आउन भने सरकारले आह्वान गर्दै आएको दाबी गरिएको छ । पछिल्लो समयमा कतिपयले विप्लव नेतृत्वको पार्टी छाडेको घोषणासमेत गरेका छन् ।

प्रहरीको दाबीअनुसार ‘विप्लव समूह’ चन्दा आतङ्कदेखि अपहरण, बम विष्फोट र व्यक्ति कारवाहीका घटनामा समेत संलग्न रहेको छ । यसअघि विभिन्न क्षेत्रमा बम विष्फोट गराउनेदेखि आपराधिक क्रियाकलाप सञ्चालन गर्दै आएकाले उसका गतिविधिमाथि कारवाही गर्ने निर्णय गरेको गृह मन्त्रालयको भनाइ छ ।

१८० जना हिरासतमा

विप्लव नेतृत्वको नेकपा गतिविधिमाथि कारवाही गर्ने फागुन २८ को सरकारी निर्णयपछि प्रहरीले देशका विभिन्न जिल्लाबाट उसका १८० नेता तथा कार्यकर्ता पक्राउ गरी हिरासतमा राखेर कारवाही अगाडि बढाएको छ ।

उनीहरुमाथि मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता सुवेदीले जानकारी दिएका छन् । पक्राउ परेका बम विष्फोट तथा विभिन्न आपराधिक घटनामा संलग्न रहेका प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली र पोलिट्ब्यूरो सदस्य मोहन कार्कीसहितका नेता कार्यकर्ता छन् ।