राष्ट्रिय जागरण अभियानका लागि काङ्ग्रेसले पठायो प्रतिनिधि

राष्ट्रिय जागरण अभियानका लागि काङ्ग्रेसले पठायो प्रतिनिधि


नेपाली काङ्ग्रेसले वैशाख ११ देखि जेठ ११ गतेसम्म गर्न लागेको हिमाल, पहाड, तराई–मधेश जागरण अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीले एक महीनाका लागि गर्न लागेको जागरण अभियानलाई भव्यताका साथ सम्पन्न गर्न सबै जिल्लामा प्रतिनिधि खटाएको जानकारी दिए ।

काङ्ग्रेसले प्रदेश १ का १४ जिल्ला, प्रदेश २ का आठ जिल्ला, प्रदेश ३ का १३ जिल्ला, गण्डकी प्रदेशका ११ जिल्ला, प्रदेश ५ का १२ जिल्ला, कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा प्रतिनिधि खटाएको हो । प्रतिनिधि खटाउँदा काङ्ग्रेसले प्रतिनिधिले गर्नुपर्ने सैद्धान्तिक र व्यवहारिक दायित्वबारे जिम्मेवारी पत्र प्रदान गरेको छ । काङ्ग्रेसले प्रतिनिधि पठाउँदा पार्टीका पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यलाई खटाएको छ ।