गुडिरहेका बस रोकेर बन्दुकधारीद्वारा १४ यात्रुको हत्या

गुडिरहेका बस रोकेर बन्दुकधारीद्वारा १४ यात्रुको हत्या


पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीले बसमा यात्रारत १४ जनाको हत्या गरेका छन् । अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार बन्दुकधारीले पाँचवटा बसमा सवार यात्रुहरूलाई बसबाट ओरालेर गोली प्रहार गरेका थिए ।

आक्रमणकारीले अर्धसैनिक फ्रन्टियर कप्र्सका पोसाक पहिरिएको प्रान्तीय गृह सचिव हैदर अलीले जानकारी दिएको एएफपीले बताएको छ । अलीले भने, ‘बन्दुकधारीहरूले गुडिरहेको बसलाई रोके, त्यसपछि बसभित्रका यात्रुलाई बाहिर निकालेर गोली हानी १४ जनाको हत्या गरे ।’

उनका अनुसार ओर्माराबाट कराँचीतर्फ गइरहेका बसहरू मकरान तटीय राजमार्गमा रोकेर यात्रुको हत्या गरिएको हो । घटनाबारे कसैले जिम्मा नलिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

यस प्रान्तको राजधानी क्वेटामा गत साता भएको आत्मघाती हमलामा २० जना मारिएका थिए । बलुचिस्तान अफगानिस्तान र इरानसँग सीमा जोडिएको पाकिस्तानी प्रान्त हो । यस प्रान्तमा पाकिस्तानभरिकै सबैभन्दा धेरै गरिबी, विभिन्न जातिको बसोबास भएको र सबैभन्दा ठूलो प्रान्त हो ।

बलुचिस्तानका मुख्यमन्त्री जाम कमालले घटनाको निन्दा गर्दै मारिएका परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।