यसकारण छोडे भट्टराईले ‘रेड स्टिकर’ लागेको घर

यसकारण छोडे भट्टराईले ‘रेड स्टिकर’ लागेको घर


bhattaraiसंविधान जारी भएलगत्तै एमाओवादी पार्टी परित्याग गरेर आलोचित बनेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिबेला देश–दौडाहामा छन् । खासगरी तराई–मधेसका जिल्लाका नागरिकलाई सार्वजनिक सभामार्फत सम्बोधन गर्दै हिँडेका भट्टराईले लोकतान्त्रिक उपलब्धिलाई जोगाउनका लागि नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । पुराना पार्टी र एजेन्डाले मुलुकको विकास असम्भव हुने भन्दै नयाँ एजेन्डासहितको नयाँ शक्ति मुलुकमा आवश्यक रहेको भट्टराईको कथन छ । मधेस आन्दोलनको समर्थन तथा वर्तमान शासनविरुद्ध रूपन्देहीको धकधई क्षेत्रमा आयोजित विशाल विरोधसभालाई सम्बोधन गर्दै उनले प्राप्त लोकतान्त्रिक उपलब्धिलाई जोगाउन र नपुगेका अधिकारलाई पूर्णता दिलाएर केही दशक आर्थिक विकासबाट समृद्धि ल्याउनुपर्ने तर्क गरे । ‘तराई–मधेस प्रचुर सम्भावना हुँदाहुँदै पनि यहाँका जनता गरिब छन्, युवा बेरोजगार भएर बिदेसिएका छन्, यसको अन्त्य गर्नका निम्ति हामीले केही दशक सम्पूर्ण शक्ति केन्द्रित गरेर मुलुकमै उद्योग–कलकारखाना खोलेर नेपाललाई हराभरा र समृद्ध बनाउनुपर्छ’ भन्दै उनले यही एजेन्डा पूरा गर्नका लागि नयाँ शक्ति आवश्यक रहेको जिकिर गरे ।
पुरानो शक्तिले अबको आर्थिक क्रान्ति सम्भव नभएकोमा विशेष जोड दिएका भट्टराईले नयाँ शक्तिको निर्माण गर्ने ध्येयका साथ आफूले पुरानो पार्टी परित्याग गरेको खुलासा गरे र भने, ‘सबैको सल्लाह लिएर मात्रै नयाँ शक्ति कस्तो र कसरी निर्माण गर्ने भन्ने टुङ्गो लाग्न सक्छ ।’ आफूले छाडेको पार्टीलाई उनले ‘पुरानो भत्केको घर’को संज्ञा दिए र त्यसमा कुनै पनि हालतमा नफर्कने दृढता प्रकट गरे । ‘भूकम्पले भत्काएको घरमा जसरी रेड स्टिकर लाग्छ, त्यसरी नै एमाओवादी पार्टीमा पनि रेड स्टिकर लागेको छ, अब रेड स्टिकर लागेको घरमा बस्न जोखिमपूर्ण हुन्छ,’ पार्टीबाट आफू बाहिरिनुको रहस्य डा. भट्टराईले यसरी खोले ।