अनलाइन शब्दकोष सार्वजनिक

अनलाइन शब्दकोष सार्वजनिक


‘सजिलो न्यूज एप्लिकेशन’ले लिम्बू–अङ्ग्रेजी–नेपाली अनलाइन शब्दकोष सार्वजनिक गरेको छ । भाषा आयोगका उपसचिव लोकबहादुर लोप्चनले लिम्बू भाषालाई संरक्षण गर्नका लागि राज्यले बहुभाषिक नीति लागू गरेको बताउनुभयो । सरकारले सोहीअनुसार पाठ्यक्रम निर्माण गरिरहेको उहाँको भनाइ थियो ।

शिक्षालाई प्रभावकारी बनाउनका लागि मातृभाषा अनिवार्य भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा राज्यले यसतर्फ पनि ध्यान दिनुपर्ने सुझाव दिनुभयो । प्रा. बालकृष्ण माबुहाङले लिम्बू भाषालाई राज्यले प्रयोगमा नल्याएसम्म यसको प्रभावकारिता नहुने स्पष्ट पार्दै लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक एवं किराँत याक्थुङ चुम्लुङका उपाध्यक्ष प्रेम येक्तेनले भाषा आयोग र अहिलेसम्म गठन भएका आदिवासीलगायत आयोगलाई असफल तुल्याउन वर्तमान सरकार लागिपरेको आरोप लगाउनुभयो । येक्तेनले प्रदेश नं १ मा लिम्बू भाषालाई अनिवार्य रुपमा सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिनुभयो ।

उक्त शब्द कोषमार्फत लोप हुन लागेको लिम्बू भाषाको संरक्षण र प्रर्वद्धनमा मद्दत पुग्ने सजिलो न्यूज एप्लिकेशनले जनाएको छ । सजिलो न्यूज प्रालिका अध्यक्ष सेरिहाङ लिङ्देनले सो शब्द कोषमार्फत लोप हुन लागेको लिम्बू भाषा प्रविधिको उच्चतम प्रयोगले संरक्षण तथा प्रर्वद्धनमा ठूलो योगदान पुगेको बताउनुभयो ।

rss