यसरी भब्य भयो सिड्नीमा नेपालीको ‘न्यु इयर सेलिब्रेसन’

यसरी भब्य भयो सिड्नीमा नेपालीको ‘न्यु इयर सेलिब्रेसन’


  • राजन घिमिरे, अष्ट्रेलिया

वि.सं. २०७५ को अन्तिम रात, अर्थात शनिबार राति १०ः२० बजेतिर अष्ट्रेलियाको सिड्नीमा रहेको ओपेरा हाउस र हार्बर ब्रिजको बीचमा एक्कासी मनोरम आतिसबाजी (फायर वर्क्स) भयो । करिब दश मिनेट प्रशान्त महासागरमाथि आतिसबाजी भएपछि त्यो दृश्य हेर्ने विदेशीहरूबीच खैलाबैला नै मच्चियो । उनीहरू प्रश्न गर्न थाले– ‘यो के हो ? किन आज आतिसबाजी भयो ? कसले गऱ्यो यस्तो ?’

विशेष गरेर अंग्रेजी नयाँ वर्ष र यहाँ कुनै विशेष दिनमा मात्र आतिसबाजी हुँदै आएको थियो तर शनिबार राति विदेशीहरूको जानकारीमा त्यस्तो कुनै कार्यक्रम नै थिएन र पनि आतिसबाजी भयो, किन ? विदेशीहरूको चासो घटेन ।

त्यसरी विदेशीहरूको ध्यान आकृष्ट गर्ने उक्त अतासबाजी आयोजना गर्नुपछाडिको मूल कारण थियो– नेपालीहरूको नयाँ साल २०७६ को आगमन ।

‘हामी हाम्रो उद्देश्य र सोचमा सफल भयौँ । कति विदेशीको चाडबाड र महोत्सवप्रति मात्र चासो लिने ? हाम्रो महोत्सव र चाडबाडप्रति पनि विदेशीहरूको ध्यान जाओस् र नेपालीहरुको नयाँ वर्ष शुरू भएछ भनेर उनिहरूलाई जानकारी दिन पनि आतीसबाजी गर्नु थियो । साधारण कार्यक्रम गरेर ध्यान जान सक्दैन । त्यसकारण पनि युनिक कार्यक्रमको आयोजना गरेर नेपाल र नेपालीको नयाँ वर्षको बारेमा हामीले प्रवासमा यस खालको कार्यक्रम गरेका हौँ’– कार्यक्रमका शीर्षक प्रायोजक एस पिपुल एजुकेशन एण्ड भिसा सर्भिसेसका रोशन भट्टराईको भनाई थियो ।

विगतका दिनहरू जस्तै वैशाख १ गते पनि सिड्नीमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेर नयाँ वर्ष मनाइएको छ । नाचगान, खाइपिई र आफू–आफूबीच शुभकामना आदानप्रदान गरेर नयाँ साल मनाइयो । विगतका दिनहरूमा यत्तिकैमा सीमित थियो नेपालीहरूको नयाँ वर्षको कार्यक्रम । आफू–आफूमा मात्र सीमित रहेको नेपालीहरूको नयाँ वर्ष र माहोलको बारेमा विदेशीहरूलाई पनि जानकारी दिने आफूहरूको योजना सफल भएकोमा कार्यक्रम आयोजक खुशी देखिएका छन् ।

‘हामीले मनोरन्जन र सेलिब्रेसनसँगै विदेशीहरूलाई नेपाल र नेपालीका बारेमा जानकारी दिन पाएका छौँ’– एस पिपुल ऐजुकेसनका ओमकृष्ण श्रेष्ठले भने ।

शनिवार राती करिव चार घण्टा प्रसान्त महासागरमाथि बोटमा घुमेर नेपाली गीत–संगीतमा रमाउँदै आतासबाजी गरेर सिड्नीमा नेपालीहरूले यस्तो कार्यक्रमको आयोजना गरेर आफ्नो नयाँ वर्ष मनाएको पहिलोपटक भएको बुझिएको छ । ‘हो र होइन होला इभेन्टस’को आयोजनामा पप–अप इन्टरटेनमेन्ट र डिजे सुशीलको सहयोगमा भब्य रूपमा यो कार्यक्रम सम्पन्न भएकोमा कार्यक्रम आयोजकले खुशी ब्यक्त गरेको छ ।

विदेशीभूमिमा अरूहरूको कार्यक्रमा मात्र आतासबाजी हेरेर दंग पर्नुपर्ने बाध्यता अब हटेकोमा कार्यक्रममा उपस्थित नेपालीहरूले प्रसन्नता ब्यक्त गरे । प्रसान्त महासागरमाथि करिव ९ सय भन्दा बढी संख्यामा रहेका नेपालीहरू एकसाथ भन्दै थिए– ‘आज हाम्रो नयाँ वर्ष हो भन्ने बारे विदेशीहरूले पनि थाहा पाए । यो भन्दा बढी मज्जा के मा आउँछ र ?’