माओवादी कि खाओवादी !





एकीकृत नेकपा (माओवादी) भित्रको आन्तरिक विवाद एवम् अन्तरविरोध चर्किरहेको बेला पार्टीको जिल्ला तथा स्थानीय तहमा भने नेता तथा कार्यकर्ताहरूको गतिविधि र व्यवहार चरम् व्यक्तिवादी र जनविरोधी देखिन थालेको छ । ०६० सालतिर नेपाली काङ्ग्रेसबाट माओवादीमा प्रवेश गरेर छोटै समयमा माओवादी पार्टीभित्र रवाफिलो पृष्ठभूमि निर्माण गर्न सफल भएका नेवा: राज्य समिति सदस्य राम आचार्य (द्रोण) पछिल्लो समयमा आफूलाई प्रचण्डपक्षीय कार्यकर्ता र ल.पु. क्षेत्र नं. १ का सभासद् वर्षमान पुन ‘अनन्त’को विश्वासपात्र बनेर कम्युनिस्ट सर्वहारावर्गीय नैतिकता, आचरण, व्यवहार र मूल्यविपरीत आफ्ना तुच्छ व्यक्तिवादी महत्त्वाकाङ्क्षा पूरा गर्न तल्लीन रहेका छन् । घटनाअनुसार जिविस ललितपुरले सोही जिल्लाको इकुडोल गाविसमा सडक निर्माणका लागि विनियोजित आठ लाख रुपैयाँ एमाले, काङ्ग्रेसका प्रतिनिधिहरूलाई समेत भागवण्डा गरी उनै राम आचार्यले चार लाख खाएको भन्ने समाचार कान्तिपुर दैनिकले ०६८ वैशाख ५ गतेको अङ्कमा र वैशाख ६ गतेको आफ्नो सम्पादकीयमा समेत लेखिसकेको छ । यो घटना सार्वजनिक भएपछि उनले आफू प्रचण्ड धारको कार्यकर्ता भएकाले आफूलाई बद्नाम गराउन पार्टीभित्रैबाट यस्तो समाचार मिडियालाई दिएको भन्दै पानीमाथिको ओभानो बन्न खोजे भने जिल्लाका पार्टी अध्यक्ष पक्षधर भनिने नेताहरूले घटनालाई ढाकछोप गरी यथार्थ छानबिनको दिशातिर जान चाहेनन् । तर, जिल्लाका इमानदार कार्यकर्ताहरूले भने उनका अरू कर्तुतहरू खोजबिन गरी हिजोआज पार्टीभित्र सार्वजनिक गर्न थालेका छन् । एकीकृत माओवादीका नेता वर्षमान पुन ललितपुर क्षेत्र नं. १ बाट सभासद्मा निर्वाचित भएपछि गुलामी र चाकडीकै भरमा पुनका दाहिने हात बन्न पुगेका आचार्यले निर्वाचन क्षेत्र विकासको नाममा आउने वारि्षक १० लाख अनन्तको अख्तियारवाला प्रतिनिधि हुँ भन्दै आफ्नै तजबिजमा बाँडफाँड गर्ने गरेका छन् भने निर्वाचन क्षेत्रमा पार्टी-सङ्गठनको जिम्मेवारी लिएर बसेका कार्यकर्ताहरू यसप्रकारको प्रकृतिप्रति रुष्ट हुँदै ‘नेताको आशीर्वाद पाएपछि जे गरे पनि छुट पाइने -‘ भन्दै आक्रोशित बनिरहेका छन् । रोचक एवम् लाजमर्दो कुरा त के हो भने उनले आफ्नी एउटी भाञ्जीलाई सहिद परिवारको झुटो फेहरिस्त पेस गरेर दुग्ध विकास बोर्डको एक पदमा जागिर खुवाएका छन् भने आफ्नो कान्छो छोरालाई ‘असहाय’ अनाथको फेहरिस्त देखाई ललितपुरकै चापागाउँमा अवस्थित बज्र एकेडेमीमा नि:शुल्क पढाइरहेका छन् ।
दक्षिण ललितपुरमा सञ्चालन भइरहेका विकास योजनाहरू, चाहे त्यो ठेक्कामार्फत होस् या उपभोक्ता समितिमार्फत नै भइरहेका किन नहून्, प्रत्येक योजनाबाट पार्टीको नाममा कमिसन लिने गरेको कुरा ठेकेदारहरू र रुस्ट उपभोक्ता समितिका व्यक्तिहरूमार्फत नै बाहिर आइरहेका छन् । यीबाहेक उनले माओवादीको नाममा र विशेषत: अनन्तको विश्वासिलो पात्रको हवला दिएर विभिन्न व्यक्तिका लेनदेनलगायत अन्य मुद्दा-मामिला मिलाइदिने नाममा कमिसन लिने, व्यवसायीहरूसँग पार्टीको नाम भजाएर अनधिकृत रूपले अर्थ सङ्कलन गर्ने र यस्तो क्रियाकलापमा लागेपछि आफू असुरक्षित हुने डरले विविध आपराधिक क्रियाकलापमा लागेका ‘डन’हरूसँग सम्बन्ध राख्ने गरेका छन् भने पर्शुराम बस्नेतको उद्दण्डता काण्ड हुनुभन्दा केही दिनअगाडि युथ फोर्सका अध्यक्ष महेश बस्नेतसँग रंगीन साँझमा रक्सीको चुस्कीमा झुम भएर बसिरहेका घटना पनि ललितपुरका माओवादी कार्यकर्ताहरूबीचमा ‘कानेखुसी’ सञ्चार भइरहेको छ । स्मरणीय छ- महेश बस्नेतसँगको उक्त जाँडपार्टीको चाँजोपाँचो मिलाइदिने काम आफूलाई सहकारी अभियन्ता भन्ने ललितपुरका एमाले कार्यकर्ता र रामशरण घिमिरेले गरेका थिए । आर्थिक रूपमा उनका अनैतिक गतिविधि यत्तिमा मात्रै सीमित भने छैन । विभिन्न सहकारी र वित्तीय सङ्घसंस्थाहरूमा गरिएको शङ्कास्पद लगानी, उनको ज्वाइँको नाम गरेर थुपै्र गाडी किनेर गरिएको लगानी आदि-आदि ।
यस्ता पार्टीभित्र झाँगिँदै गएको गलत चिन्तन, प्रवृत्ति र व्यवहारलाई संरक्षण गर्ने काम भने पार्टीका जिल्ला सचिव दिनेश महर्जन (दीपेश) ले गर्ने गरेका छन् । आफ्नो सङ्कीर्ण गुटगत मानसिकताका कारण जस्ता व्यक्तिहरू भए पनि आफ्नो गुट बलियो होस् भन्ने सोचबाट र्गसित देखिन्छन् उनी । अवसर उपयोग गर्नका लागि जेसुकै हर्कत गर्न र जस्तोसुकै बन्न पनि तयार हुने कला भएका दीपेश जिल्ला सेक्रेटरी बन्न क्रान्तिकारी प्रवृत्तिको नेतृत्व गरिरहेका ‘किरण’ समूहतिर लागेका थिए भने सेक्रेटरी भइसकेपछि साधन, स्रोत, शक्ति र पार्टी सत्ताको नजिक हुन प्रचण्ड गुटतिर लागे । हाल उनी माओवादी ललितपुर जिल्ला कार्यकर्ताको व्यापक आलोचनाको घेराभित्र पर्ने नेता मानिन्छन् । सुनाकोठीमा करिब दुई वर्षअगाडि आफ्नो घर बनाउँदा पार्टीको नाममा व्यापारी/व्यवसायीहरूबाट निर्माण सामर्गी चन्दाको रूपमा लिएको, ६ दिने आमहड्तालका लागि भनेर उठाइएको चन्दा सहयोग हिनामिना गरेको, जिल्लामा हुने प्रत्येक ठेक्कापट्टाबाट दुई प्रतिशतको दरले पैसा उठाउने तर पार्टीमा हिसाब-किताब नदेखाउने गरेको, गत वर्षको दसैं-तिहारमा आफ्नो गाउँमा लाखौँ हारजित हुनेगरी जुवा खेलेको, जनताको व्यापक विरोध हुँदाहुँदै पनि २१ प्रतिशत बिनालगानीको सेयर पाउने आशा पाएपछि गोदावरी मार्बल फ्याक्ढ्री पुन: खुलाउन लागिपरेको र सभासद् राजकाजी महर्जनको घरायसी जग्गासम्बन्धी मुद्दामा ललितपुर मालपोतका कर्मचारी वैद्यनाथ ठाकुरसँग अनैतिक साँठगाँठ गरी समकक्षी/सहयोद्धा कमरेडकै जग्गासमेत हडप्न खोजेकोजस्ता क्रियाकलाप बाहिर आएका छन् । सर्वहारा जनतालाई मुक्तिको सपना बाँड्ने अगुवाहरूका यस्ता क्रियाकलापदेखि पार्टीका इमानदार कार्यकर्ताहरू र माओवादीप्रति आशा गरेर बसेका उत्पीडित जनसमुदाय दु:खित साथै आक्रोशित भएका छन् । पार्टीभित्र दिन दुईगुणा रात चौगुणाको दरले विकास भइरहेका यस्ता गलत प्रवृत्ति र व्यवहारविरुद्ध जनस्तरबाटै खबरदारी र तीखो आलोचना नभई अब एकीकृत माओवादी जनअपेक्षा पूरा गर्ने चरित्रवान् क्रान्तिकारी पार्टी बन्न सम्भव देखिँदैन । त्यसैले पार्टीभित्र हुर्कंदै गएको यी र यस्ता प्रकृतिका खराबी (ऐंजेरू) हरूलाई उखेलेर फाल्ने आँट र हिम्मत भित्रैबाट सुरुवात गर्ने हो कि ?
-ललितपुर जिल्लाका इमानी माओवादी कार्यकर्ताहरू

पासवानको पाखण्ड !
सम्पादकज्यू,
साउन ८ गते संविधानसभामा, सभासद् बबन सिंहको अभिव्यक्ति ‘पासवानद्वारा कानुन उल्लङ्घन’ भएको भन्ने भनाइको जवाफमा दलित जनजाति पार्टीका सभासद् विश्वेन्द्र पासवानले आफ्नी छोरीको अपहरण भएको, अग्नि विद्रोही समूहले १२ लाख भा.रु. मागेको र केटा राजलाल पाँच दिनसम्म सम्पर्कमा रहेको जुन झुटो अभिव्यक्ति दिएका छन्, त्यो सरासर पाखण्डको पराकाष्टा हो । किनकि अहिले केटा राजलाल खत्वे (मण्डल), उनका बाबु बिन्दिलाल खत्वे र दिदी ललिता मण्डल जि.प्र.का. हनुमानढोकामा थुनामा रहेका छन् । हनुमानढोका काठमाडौंका एसपी केदार रिजालका अनुसार उनीहरू विश्वेन्द्र पासवानले दर्ता गरेको अपहरणको मुद्दामा थुनिएका हुन् ।
सभासद् पासवानले छोरी विद्या, पार्टी कार्यालयका पिएन राजलाल खत्वेसँग गत असार १८ गते भागेपछि आफ्ना बफादार केन्द्रीय सदस्यहरूमार्फत मधेससम्बद्ध भूमिगत समूहका केही कार्यकर्तालाई लाखौँ रुपैयाँ दिएर तरुनी छोरी भगाइदिने आफूभन्दा सानो जातको र गरिब युवक राजलाल खत्वेलाई जहाँ भेटायो त्यहीँ खलास पार्नू भन्ने उर्दी जारी गरेका थिए । उनको उर्दीका कारण ज्यान बचाउन लुक्दै भागेका विद्या र राजलाल पोखरा पुगेको सुइँको पाएपछि पासवानले साउन ३ गते पोखरा पुगी उनीहरूलाई अपहरणको शैलीमा समातेका थिए । त्यसपछि ज्वाइँ राजलाललाई जि.प्र.का. कास्कीमा थुनाएर छोरीलाई रातारात बसमा चढाएर भोलिपल्ट काठमाडौं ल्याई पुर्‍याएका थिए । राजलाललाई ६ गते प्रहरीले अड्डासार गरी हनुमानढोकामा ल्याएको छ भने पासवानको सरकारी गाडी अझै पोखरा प्रहरी परिसरमा छ ।
साउन ४ गते छोरी विद्या पासवानको गौशाला, पिंगलास्थानस्थित डेराबाट पुन: भागेर राजलालको घर खोज्दै ५ गते सप्तरी, शम्भुनाथ-१ मा पुगिसकेकी छिन् र उनले सोही दिन राजविराजमा पत्रकार सम्मेलन गरी आफूले मन परेको केटासँग विवाह गरेको र सभासद् बाबुले स्वीकार नगरेका कारण ज्यान जाने डरका कारण आफूहरू भाग्नुपरेको बताउनुका साथै आफ्ना श्रीमान् राजलाललाई बुबा विश्वेन्द्रले बेपत्ता पारेको हुँदा खोजिदिन सार्वजनिक रूपमा सबैसँग आग्रह गरेकी छिन् । तर, निर्लज्ज विश्वेन्द्र पासवान भने लाजै नमानी सरकार, सदन र दुनियाँको आँखामा छारो हाल्दै अझै छोरी अपहरण भएको पाखण्ड बक्दै छन् ।
– चन्द्रलाल खत्वे, शिवराम मण्डल, रुन्दीलाल राम, शम्भुनाथ-१, सप्तरी, हाल : गौशाला, काठमाडौं

प्रतिक्रिया