को बन्दै छन् राष्ट्रपति ?

को बन्दै छन् राष्ट्रपति ?


othernewsतेल र ग्यासको सङ्कट झेलिरहँदा पनि आममानिसबीच भावी राष्ट्रपति को बन्लान् भन्ने जिज्ञाशा कायम छ । गत जेठ २५ गते सोह्रबुँदे सम्झौता भएलगत्तै सुशील कोइराला राष्ट्रपति र केपी ओली प्रधानमन्त्री बन्ने चर्चा सार्वजनिक भएको हो । तर, कोइराला राष्ट्रपति बन्नेमा धेरैको शङ्का छ, त्यसैले सम्भावित राष्ट्रपतिका रूपमा विभिन्न नाम सतहमा आएका छन् । यसक्रममा डा. रामवरण यादव, कुलबहादुर गुरुङ, माधवकुमार नेपाल, विद्या भण्डारी र प्रचण्डको समेत नाम विभिन्न कुनाबाट आएका छन् । कारणवश कोइराला राष्ट्रपति बन्न नसकेमा राष्ट्रपतिमा मधेसी, जनजाति या महिलाको चयन हुनुपर्ने धारणा उच्च तहमा प्रकट भएको छ । हालका राष्ट्रपति डा. रामवरण यादवलाई निरन्तरता दिँदा विद्यमान सङ्कट समाधानको मार्ग प्रशस्त हुने कतिपयको ठहर छ । यादवलाई राष्ट्रपति बनाइएमा तराईको आन्दोलन शिथिल हुने या शिथिल तुल्याउन सहयोग पुग्ने र यसबाट भारतसम्म सकारात्मक सन्देश पुग्ने विश्वासका आधारमा रामवरणलाई अर्को एक कार्यकाल राष्ट्रपति बनाउनु उपयुक्त हुने धारणा आएको हो । त्यसो त काङ्गे्रसभित्र र बाहिरका कतिपयले पनि रामवरण यादवलाई नै राष्ट्रपतिका उपयुक्त उम्मेदवार ठानेका छन् । प्रधानमन्त्री काङ्गे्रसको भएमा राष्ट्रपति पनि काङ्गे्रसकै तर्फबाट बन्न मुस्किल हुने कतिपयको तर्क छ । काङ्गे्रसले राष्ट्रपतिसमेत पाएमा कुलबहादुर गुरुङलाई उम्मेदवार बनाउनु उपयुक्त हुने धारणा काङ्गे्रसका केही नेताले बनाएका छन् । अत्यन्त सत्जन र राष्ट्रवादी मानिने गुरुङलाई राष्ट्रपति बनाइएमा जनजाति समुदायले त्यसको भव्य स्वागत गर्ने र विद्यमान जातीय तनाव अन्त्य गर्न सहयोग पु-याउने विश्वास गरिएको छ । सरकारको नेतृत्व काङ्गे्रसले गर्ने र एमालेसमेतलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने या अघि बढ्न सकिने अवस्था आएमा विद्या भण्डारीलाई राष्ट्रपतिको जिम्मेवारी दिइनु उपयुक्त हुने ठानिएको छ । मुलुकको आधा जनसङ्ख्याले बेग्लै गौरव महसुस गर्ने र एमालेसँगको समझदारी पनि जीवित रहने तर्क भण्डारीलाई राष्ट्रपति बनाइनुपर्छ भन्नेहरूको छ । माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर भए पनि एमालेसँगको समझदारीलाई कायम राख्नुपर्छ भन्ने मत पनि बलियो देखिएको छ । कतिपयले सुवास नेम्वाङको नामसमेत सम्भावित राष्ट्रपतिका रूपमा लिएका छन् । प्रचण्डको भने नाम चर्चामा आए पनि पार्टी छोडेर उनी राष्ट्रपति बन्न इच्छुक नभएको बताइन्छ ।
यसरी भावी राष्ट्रपतिका रूपमा विभिन्न नाम विभिन्न तर्कसहित अगाडि आएको भए पनि आगामी (नयाँ) सरकारको नेतृत्व कसको हुनेछ भन्ने कुराले भावी राष्ट्रपति तय हुने देखिन्छ । सुशील र केपीबीचको पुरानो समझदारी कुनै पनि किसिमले कार्यान्वयनमा आएमा केपी ओली प्रधानमन्त्री र सुशील कोइराला राष्ट्रपति बन्ने निश्चितप्रायः छ । ओली प्रधानमन्त्री बन्न सकेनन् र एमाले विपक्षी भूमिकामा गयो भने एमालेले राष्ट्रपतिमा विद्या भण्डारी, माधव नेपाल वा सुवास नेम्वाङलाई उम्मेदवार बनाउन सक्ने सम्भावना छ । काङ्गे्रसका तर्फबाट भने डा. रामवरण यादव र कुलबहादुर गुरुङमध्ये एक उम्मेदवार बन्ने स्थिति छ । त्यसैले देशको भावी राष्ट्रपतिमा डा. रामवरण यादव, विद्या भण्डारी, कुलबहादुर गुरुङ र माधवकुमार नेपाल सर्वाधिक सम्भव व्यक्तिका रूपमा देखिएका छन् ।
संवैधानिक व्यवस्थाअनुसार अबको एक महिनाभित्र राष्ट्रपतिको निर्वाचन हुनेछ ।

जनकपुर पुगेपछि ‘जय नेपाल’
मधेसीहरूको माग र आन्दोलनप्रति सुरुदेखि नै सहानुभूति र समर्थन जनाउँदै आउनुभएका डा. बाबुराम भट्टराईलाई जनकपुरमा भव्य स्वागत गरिने अपेक्षा गरिएको भए पनि त्यस्तो हुन सकेन । माओवादी आन्दोलनबाट अलग्गिएको चार दिनपछि मंगलबार (असोज १२ गते) जनकपुरमा आयोजित एक सभालाई सम्बोधन गर्न भट्टराई जनकपुर पुग्नुभएको थियो । विमानबाट त्यसतर्फ जानुभएका उहाँलाई मधेसका केही नेताले विमानस्थलमा स्वागत गरे पनि कार्यक्रम स्थलसम्म पुग्दा उहाँले कालो झन्डाको ‘सामना’ गर्नुप-यो । भट्टराईले नेपालीमा भाषण गर्न पाउनुभएन, उहाँलाई हिन्दीमा बोल्न बाध्य पारियो । भाषणको अन्त्यमा ‘जय नेपाल’ भन्नुभएपछि त्यहाँ उपस्थिति केहीले बाबुराम वैचारिक रूपमै बदलिएको ठानेका थिए भने केही मधेसी युवाले ‘हुटिङ’ गरेका थिए । भट्टराईले माओवादी आन्दोलनले मुलुकको रूपान्तरण गर्न नसक्ने भन्दै काङ्गे्रस–एमालेको चर्को विरोध गर्नुभएको थियो । आन्दोलनकारी युवा जमात्ले डा. भट्टराईकै अघिल्तिर संविधान जलाइनुपर्ने माग राखेका थिए, तर आफूसमेतको संलग्नतामा बनेको संविधान आफ्नैअगाडि जलाउन उहाँले उपयुक्त ठान्नुभएन । बरु भाषणका क्रममा भट्टराईले जलाउनुभन्दा संशोधन गरेर परिमार्जन गरिनु वेश हुने तर्क दिनुभएको थियो ।
भट्टराई आफ्नो मन्तव्य राखेर काठमाडौं फर्कन विमानस्थलतर्फ लाग्नुभएपछि पनि कार्यक्रम जारी थियो र मञ्चमा नेताहरू रामचन्द्र झा, प्रभु साह, रामकुमार शर्मालगायत थिए । युवाहरूको आक्रोश मत्थर पार्न मञ्चमा संविधानको प्रतिलिपि जलाइयो । युवाहरूले बाबुरामकै अघिल्तिर जलाइनुपथ्र्यो भन्दै विरोध गरे र त्यसक्रममा रामचन्द्र झामाथि हातपात पनि भयो । उत्तेजित जमातले मञ्च तोडफोड गर्नुका साथै आगो पनि लगायो । उक्त कार्य एमाओवादी समर्थकहरूले नियोजित रूपमा गरेको बुझिएको छ ।

‘अब बाबुराम फर्कंदैन’
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गत शनिबार (असोज ९ गते) एमाओवादी पार्टी परित्याग गरेर आफू स्वतन्त्र बनेको घोषणा गर्नुहुँदा देश एकैछिनका लागि भए पनि स्तब्ध र चकित हुन पुग्यो । नयाँ संविधान पाएको खुसीयाली मनाउन नपाउँदै नाकाबन्दीको चपेटमा परेर मुलुक रन्थनिएका बेला डा. भट्टराई एमाओवादी पार्टीबाट अलग्गिनुलाई धेरैले रहस्यमयी ठानेका छन् । अनुमानका भरमा धारणा बनाउने या बोल्नेहरूले यस प्रकरणमा समेत भारतको हात देखेका छन् । कुनै ठूलै ‘डिजाइन’अन्तर्गत बाबुरामले पार्टी छोडेर स्वतन्त्र भएको हुनसक्ने अनुमान उनीहरूको छ । तर, डा. बाबुराम भट्टराईलाई नजिकबाट नियाल्नेहरूका लागि भने यो अप्रत्याशित र आश्चर्यजनक घटना होइन । ०६९ सालमा सरकारबाट बाहिरिएलगत्तै भट्टराईले नयाँ शक्ति निर्माणको आवश्यकता रहेको बताउँदै आउनुभएको छ । विगत दुई वर्षदेखि नयाँ शक्ति निर्माणको विषयलाई लिएर युवा एवम् गतिशील राजनीतिकर्मी, व्यावसायिक व्यक्ति, बुद्धिजीवी र नागरिक समाजका प्रतिष्ठित व्यक्तिहरूसँग विभिन्न चरणमा छुट्टाछुट्टै र सामूहिक रूपमा समेत छलफल चलाउँदै आउनुभएका भट्टराईले पार्टीको उपाध्यक्ष पद गत वर्ष नै त्यागिसक्नुभएको थियो । उहाँले एमाओवादीको नेतृत्व लिएर पार्टीलाई नै नयाँ शक्तिमा रूपान्तरित गरेर अघि बढ्ने सोच पनि नबनाउनुभएको होइन । तर, प्रचण्डले नछोड्ने र छोड्न चाहे पनि पार्टीका एकथरी मानिस उनलाई अध्यक्ष पद त्याग गर्न कुनै हालतमा पनि नदिने मानसिकतामा रहेपछि बाबुरामले एमाओवादीलाई नयाँ शक्तिमा बदल्ने सम्भावना देख्नुभएन । प्रचण्डसँगको मतभिन्नतालाई रचनात्मक प्रयोग गर्ने अवस्था नदेखेपछि बाबुराम केही अघि नै पार्टी परित्याग गर्ने निष्कर्षमा पुगिसक्नुभएको थियो । केही दिन रोकेरै असन्तुष्ट पक्षसँग संवाद गरी संविधान जारी गर्न गरिएको आग्रहलाई नसुनेपछि प्रचण्डसँग बाबुराम झनै असन्तुष्ट बन्नुभयो र एमाओवादी पार्टीका माध्यमबाट देशमा केही गर्न नसकिने निष्कर्षमा पुग्नुभयो । त्यसो त उहाँले यसअघि देशका विभिन्न पक्षसँगको छलफलका क्रममा पनि माओवादी आन्दोलनले एउटा उपलब्धि हासिल गरिसकेको र अब आर्थिक विकासका लागि नयाँ शक्ति निर्माणको आवश्यकता भएको विचार व्यक्त गर्दै आउनुभएको थियो । बाबुरामको विचारमा नेपाली काङ्गे्रसका युवा नेता गगन थापालगायत र एमालेका युवा नेता घनश्याम भुसाललगायतले संवादका क्रममा सहमति जनाएको बुझिएको छ । थापा र भुसालको सकारात्मक प्रतिक्रियाले भट्टराईलाई आफ्नो नयाँ अभियानमा जुट्न उत्साह पैदा गरेको बताइन्छ ।
डा. बाबुराम भट्टराइले पार्टी परित्यागको घोषणा गर्दा उहाँले आफ्ना समर्थक भनी चिनिएका कसैलाई पनि साथमा राख्नुभएन । पत्रकारहरूमाझ एक्लै प्रस्तुत हुनुभयो र एमाओवादी पार्टी र माओवादी आन्दोलनबाट अलग भएको घोषणा गर्नुभयो । यदि एमाओवादी पार्टी विभाजन गर्ने सोच बनेको भए उहाँले पार्टीभित्रका आफ्ना समर्थकहरूलाई समेत पत्रकारमाझ प्रस्तुत गर्नुहुने थियो । मंगलबार (असोज १२ गते) बिहान घटना र विचारसँग कुरा गर्ने क्रममा पनि भट्टराईले आफ्नो कुनै पार्टी विभाजन गर्ने–गराउने सोच नरहेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, ‘माओवादी आन्दोलनले हासिल गर्न सक्ने उपलब्धि प्राप्त गरिसकेको छ, अब मुलुकको आर्थिक विकास गर्ने अभियानको नेतृत्व माओवादी आन्दोलनले गर्न सक्दैन । समाजवादी सोच र कार्यक्रमसहितको नयाँ शक्तिले मात्र नेपालको आर्थिक–सामाजिक रूपान्तरण गर्न सक्छ भन्ने मेरो विश्वास हो ।’ माओवादी आन्दोलनलाई आफूले धोखा दिएको भन्ने कुरा गलत भन्दै उहाँले अगाडि भन्नुभयो, ‘माओवादी आन्दोलनमा मैले पनि आफ्नो पसिना बगाएको छु । यो आन्दोलनले धेरै ठूलो राजनीतिक उपलब्धि हासिल गरिसकेको छ । हामी यतिबेला मुलुकमा जे–जस्ता समस्याको समाधान चाहन्छौँ, माओवादी आन्दोलनबाट यो सम्भव छैन । पार्टी भनेको साध्य नभई सुन्दर गन्तव्य प्राप्त गर्ने साधन मात्र हुन्, साधनमा अल्झिएर साध्यलाई बिर्सनु या उपेक्षा गर्नु उचित हुँदै होइन । यही कुरालाई दृष्टिगत गरेर मैले एउटा ऐतिहासिक निर्णय लिएको हुँ ।’
त्यसो भए अब एमाओवादी पार्टीमा फर्कंदै फर्कनुहुन्न त भन्ने हाम्रो जिज्ञाशाको जवाफ दिँदै उहाँले भन्नुभयो, ‘बाबुराम अब फर्कंदैन, फर्कनुपर्ने आवश्यकता र औचित्य छैन । माओवादी आन्दोलनको उद्देश्य मुलुकलाई समुन्नत बनाउने हो भने अब यो आन्दोलनको रूपान्तरण हुनैपर्छ ।’
देशमा नाकाबन्दी लागेको छ, संविधान जारी भएपछि उत्पन्न सङ्कटमोचनका निम्ति तपार्इंको कुनै भूमिका हुन सक्दैन भन्ने प्रश्नको जवाफ दिँदै डा. भट्टराईले भन्नुभयो, ‘यो विषयले मलाई अत्यन्त दुःखी र चिन्तित बनाएको छ । यही चिन्ताका कारण समस्याको समाधान खोज्न मधेस जाँदै छु, समस्याको निराकरण संवादका माध्यमबाट गर्न म प्रयत्नशील रहन्छु ।’
अनि नयाँ शक्ति निर्माणचाहिँ कहिले गर्नुहुन्छ त ?
– ‘नयाँ शक्ति निर्माणको आवश्यकता सिङ्गै देशले बोध गरिसकेको छ । त्यस्तो शक्ति मेरै नेतृत्वमा बन्नुपर्छ भन्ने म ठान्दिनँ । उपयुक्त र योग्य जोसुकै व्यक्तिको नेतृत्वमा नयाँ शक्ति निर्माण हुनसक्छ ।’

भारतको जिम्मा लिने सिटौला सङ्कट आएपछि चुपचाप
संविधान जारी हुनुअघि प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डसँग ‘भारतको जिम्मा मेरो भयो’ भन्ने काङ्गे्रस महामन्त्री कृष्ण सिटौला नाकाबन्दी सुरु भएपछि चुपचाप बसेका छन् । प्रचण्डनिकट सूत्रले जनाएअनुसार संविधान निर्माणलाई गति दिने क्रममा कृष्ण सिटौलासँग प्रचण्डले ‘भारतको रिजर्भेसन रहेको बुझिन्छ, संविधान जारी भएपछि भारतले नराम्रो प्रतिक्रिया दियो भने के गर्ने’ भन्दा सिटौलाले ‘भारतको जिम्मा मेरो भयो, चिन्ता लिनैपर्दैन’ भनेका थिए । बाह्रबुँदे सम्झौतामा महत्वपूर्ण भूमिका निर्वाह गरेका र त्यसयता भारतको सर्वाधिक निकटस्थ व्यक्तिको परिचय बनाउँदै आएका सिटौलाको कुरामा प्रचण्ड ढुक्क भए, सिटौलाको सक्रियता भारतको इच्छाविपरीत हुने कल्पना प्रचण्डले गरेका थिएनन् र केही असमझदारी प्रकट भइहालेछ भने पनि सिटौलाले मिलाउनेछन् भन्ने विश्वास प्रचण्डले गरेका थिए । प्रचण्डले झैँ प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली पनि सिटौलाले भारतलाई विश्वासमा लिन सक्छन् भन्ने विश्वासमा थिए । तर, नाकाबन्दी भएपछि सिटौला चुपचाप घर बसेका छन् । उनले आफ्ना ‘च्यानल’मार्फत परिस्थिति सहज बनाउन कुनै पहल गरेको बुझिएको छैन, न उनले सार्वजनिक रूपमै नाकाबन्दीबारे केही बोलेका छन् । संविधान निर्माण बलजफ्ती नगरौँ, पाँच–सात दिन पर्खिएर वार्ताका माध्यमबाट समाधान खोजेर मात्र जारी गरौँ भन्ने प्रस्ताव प्रधानमन्त्री कोइरालाले राख्दा पनि सिटौला झर्कन्थे र भन्थे, ‘एक दिन पनि रोकिँदैन, संविधान अब जारी हुन्छ ।’ सिटौलाले एउटा उच्च बैठकमा त यसै विषयलाई लिएर कोइरालालाई हप्काएका पनि थिए । सिटौलाले हप्की–दप्की गर्दा प्रधानमन्त्री कोइरालाले सिङ्गै भारतले हप्काएकोजस्तो ठानेका पनि थिए । तर, नाकाबन्दीपछि सिटौला हराएको देखेर सुशील कोइरालासमेत छक्क परेका छन् । वास्तवमा सिटौला पूर्व ‘रअ’ प्रमुख टी हर्मिस, पूर्वविदेशसचिव श्यामशरण र एसडी मुनिहरूको मात्र सम्पर्कमा रहेको, भारतीय संस्थापनसँग उनको कुनै सम्बन्ध–सम्पर्क नरहेको जानकारी नेपाली नेताहरूले समयमै पाउन सकेनन् । सिटौला क्रिश्चियनहरूको सम्पर्कमा रहेको र पश्चिमा मुलुकहरूसँग उनले निकटता कायम गरेको भारतीय पक्षले थाहा पाए पनि नेपाली प्रमुख नेताहरूले थाहा नपाउनुको परिणाम यतिबेला सिङ्गै मुलुकले भोगिरहेको छ ।
धर्मनिरपेक्षता र गणतन्त्रसहितको संविधान जारी गर्दा आफू आर्थिक, राजनीतिक र भौतिक रूपमा समेत सुरक्षित हुने, अन्यथा आफ्नो भविष्य बर्बाद हुने निष्कर्षमा रहेका सिटौलाले तीन दलका नेता र भारतलाई समेत छलेर संविधान जारी गराउने सफलता प्राप्त त गरे, यो षड्यन्त्र गर्नु र मुलुकलाई भुमरीमा फसाउनुको परिणाम सिटौलाले के प्राप्त गर्ने हुन् सो भने प्रतीक्षाको विषय बनेको छ ।

पर्दामा नदेखिने टेलिभिजनको कथा
नेपाल टेलिभिजनका अध्यक्ष नीर शाहले राजीनामा दिएपछि नेपाल टेलिभिजनको अध्यक्ष हुन केही काङ्ग्रेस समर्थक पत्रकारहरूको दौडधुप चलेको छ । अध्यक्ष पदका लागि सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले प्रस्ताव गरेकी होटल द्वारिकाका सञ्चालक संगीता श्रेष्ठको नाम मन्त्रिपरिषद्बाट अनुमोदन नभएपछि शाहको राजीनामा स्वीकृति र नयाँ नियुक्ति हुन भने बाकी छ । शाह राजीनामा दिएर नाफ्टा
अवार्ड वितरण समारोहमा भाग लिन दोहा गएका छन् । नेपाल टेलिभिजनमा कसैलाई जानकारी नै नदिई शाहले राजीनामा दिएपछि उनलाई बोकेर हिँड्ने कैयन् कर्मचारी आक्रोशित भएका छन् । उनीहरूले शाहको कोठाको नेमप्लेटसमेत फ्याँकिदिएको स्रोतले बतायो ।
चार वर्षका लागि नियुक्त भएका शाहको एक वर्ष नपुग्दै अचानक राजीनामा आएकोमा भने धेरै आश्चर्यमा परेका छन् । शाहले संस्थानलाई बुझाउनुपर्ने ५४ लाख रुपैयाँ नबुझाएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको थियो । त्यसबाहेक शाहको कार्यकालमा भएका अनेकौँ निर्णय विवादित भएपछि अख्तियारले छानबिन थालेको हो । खासगरी मिडया हवलाई तीन वर्षका लागि ७० करोड रुपैयाँबराबरको ठेक्का दिने निर्णय र एक चिनियाँ कम्पनीलाई आठ करोडको ठेक्का प्रकरणमा शाहमाथि छानबिन भइरहेको छ । नेपाल टेलिभिजनका कर्मचारीले उक्त प्रकरणमा संलग्न निमित्त महाप्रबन्धक दीपकमणि धिताल, कर्मचारी सङ्घका अध्यक्ष गोविन्द धिताल र मिडिया हवका सञ्चालक सोम धितालमाथि कारबाही हुनुपर्ने माग गर्दै अख्तियारमा उजुरी दिएका छन् ।
त्यसबाहेक संस्थानमा नक्कली बैंक ग्यारेन्टी प्रकरणमा शाहले निर्वाह गरेको भूमिका विवादास्पद छ । शाहले कर्मचारी युनियनको दबाबमा महाप्रबन्धक लक्ष्मण हुमागाईंलाई निलम्बनको सिफारिस गरेका थिए । सञ्चालक समितिले महाप्रबन्धकलाई निलम्बन गर्न सक्ने कुनै कानुनी आधारबिना नै गरेको सिफारिसलाई सूचना तथा सञ्चार मन्त्रालयले कार्यान्वयन गरेन र उनलाई मन्त्रालयमै हाजिर गरायो । उक्त प्रकरणको छानबिनका लागि मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएकोमा आयोगले महाप्रबन्धकलगायत सबैलाई सफाइ दिएको छ ।
विज्ञापन कारोबार गरेबापत वल्र्ड भिजन मिडिया वाइग हाउसले तिर्नुपर्ने रकमको नक्कली बैंक ग्यारेन्टी नेपाल टेलिभिजनमा पेस गरेको थियो । उक्त बैंक ग्यारेन्टी दाबी गर्न पठाउँदा बैंकले सक्कल नभएको सूचना दिएलगत्तै महाप्रबन्धक लक्ष्मण हुमागाईंले महानगरीय प्रहरी परिसरलाई पत्र लेखि उक्त एजेन्सीका अध्यक्ष दिनेश श्रेष्ठलाई पक्राउ गराएका थिए । उनकै जाहेरीका आधारमा प्रहरीले उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
मुद्दा दायर गरे पनि नेपाल टेलिभिजन सञ्चालक समितिले भने उनलाई नै निलम्बनको सिफारिस गर्र्दै सूचना तथा सञ्चार मन्त्रालयमा पत्राचार ग-यो । मन्त्रालयको कुनै निर्णय आउनुअगावै नेपाल टेलिभिजन कर्मचारी सङ्घले महाप्रबन्धकविरुद्ध घेराउ ग-यो । सञ्चालक समितिका सदस्यहरू र कर्मचारी सङ्घसमेतको मिलेमतोमा महाप्रबन्धकविरुद्ध षड्यन्त्र भएको भन्दै मन्त्रालयले उनलाई मन्त्रालयमै हाजिर हुने व्यवस्था गर्नुका साथै आरोपको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको थियो ।
आयोगले लगातार तीन महिनासम्म गरेको अनुसन्धानमा कुनै कर्मचारीको संलग्नता नरहेको भन्दै बैंक ग्यारेन्टीको आधिकारिकता जाँच गर्ने व्यवस्था नेपाल टेलिभिजनको व्यापार निर्देशिकामा समावेश गर्न निर्देशन दिने निर्णय गरेको हो । आयोग स्रोतले भन्यो– नक्कली बैंक ग्यारेन्टी पेस गरेको थाहा पाउनासाथ महाप्रबन्धक स्वयम्ले राति नै महानगरीय प्रहरी परिसरमा पत्राचार गर्न लगाएकोे, महानगरीय प्रहरी प्रमुख विज्ञानराज शर्मालाई सम्पर्क गरी घटनाको जानकारी गराएको देखिन्छ । नेपाल टेलिभिजनले समयमै बैंक ग्यारेन्टीको क्लेम गरेको, बैंकले उक्त बैंक ग्यारेन्टी सक्कली नभएकोजस्ता जानकारी दिएलगत्तै प्रहरीमा उजुरी दिएको, निजलाई संस्थानमै बोलाई प्रहरीको जिम्मा लगाएको र कर्मचारीको संलग्नता भए–नभएको विषयमा छानबिन गर्न महाप्रबन्धक स्वयम्ले अख्तियारलाई अनुरोध गरी पत्रचारसमेत गर्नुले निजको संलग्नता छ भन्ने अवस्था रहेन– अख्तियार स्रोतले भन्यो ।
घटनाबारे महाप्रबन्धकले नेपाल टेलिभिजनका अध्यक्ष, कर्मचारी सङ्घका अध्यक्षका साथै सूचना तथा सञ्चारमन्त्री र सचिवलाई समेत समयमै जानकारी गराएको अनुसन्धानमा पाइएको छ । ती अधिकारीले भने यी सबै कुरा थाहा हुँदाहुँदै पनि महाप्रबन्धकविरुद्ध निलम्बनको सिफारिस गर्नुलाई पूर्वाग्रहपूर्ण निर्णय मानिएको छ । कर्मचारी सङ्घले सोही दिन सञ्चालक समितिका अध्यक्षको नाममा पत्राचार गर्नु, सङ्घले राखेको माग हुबहु सञ्चालक समितिबाट पारित हुनुबाट पनि घटना सुनियोजित र पूर्वाग्रहपूर्ण भएको स्पष्ट हुन्छ ती अधिकारीले भने ।
उक्त घटनाका कसुरदारविरुद्ध जिल्ला अदालतमा मुद्दा चलेको र अदालतले ८० लाख धरौटी माग गरेकोमा पुनरावेदन अदालतले थुनामै राख्ने आदेश दिएकोबाट उक्त घटनामा अन्यको संलग्नता छ भन्ने आधार रहेन आयोग स्रोतले भन्यो । एउटा अधिकारीले प्रहरीको जिम्मा लाउनेबाहेक अरू के गर्न सक्छ भन्दै आयोगले यस विषयमा नेपाल टेलिभिजनलाई स्पष्ट निर्देशन पठाएको ती अधिकारीले बताए ।
आयोगको उक्त निर्णयको सुइँको पाएलगत्तै नेपाल टेलिभिजन सञ्चालक समितिका अध्यक्ष नीर शाहले राजीनामा दिएको कर्मचारीहरू बताउँछन् । अध्यक्ष शाहले नै कर्मचारी सङ्घलाई उचाली महाप्रबन्धकलाई निलम्बनको सिफारिस गरेका थिए । शाह आफू कार्यकारी बन्ने उद्देश्यले उक्त कार्य गरेको भए पनि मन्त्रालयका अधिकारीले महाप्रबन्धकमाथि स्पष्ट कारबाही नभएसम्म कार्यकारी तोक्न नमिल्ने भन्दै निमित्तबाट काम चलाउने निर्णय गरेको थियो । मन्त्रालयको उक्त निर्णयबाट असन्तुष्ट शाहले आफूनिकट कनिष्ट नायव महाप्रबन्धक दीपकमणि धिताललाई निमित्त तोकेका थिए । शाहको उक्त निर्णयमाथि पनि अख्तियारले छानबिन गरिरहेको छ । कर्मचारी सङ्घका पदाधिकारीको दबाबमा वरिष्ठ नायव महाप्रबन्धक गम्भीरकान्त मैनालीलाई स्वास्थ्यको कारण जनाउँदै निमित्त भई काम गर्न नसक्ने भनी निवेदन दिन लगाई उक्त निर्णय गरिएको थियो ।

दशरथका पिताको नाम जान्न खोज्दा…
एकजना किसान थिए, रामायण सुनेछन्, तर राजा दशरथका पिताको नाम बिर्सिएछन् । भेटिएका धेरैसमक्ष उनले् जिज्ञासा राखे, तर कसैबाट पनि जवाफ पाउन नसकेपछि ती किसानले बाटोछेउमै घर हुनुको फाइदा उठाउँदै दशरथका पिताको नाम पत्ता लगाइछाड्ने सोच बनाएछन् । बाटोको छेउमा घर भएकोले त्यहाँ सातामा सातै दिनजस्तो बास माग्न मानिस आइपुग्थे । उनले बास बस्नका लागि दशरथ राजाका पिताजीको नाम बताउनुपर्ने सर्त अघि सार्न थाले । किसानले यसरी बटुवालाई सर्त राख्न थालेपछि उनको घर पाहुनाशून्य बन्यो । दशरथका पिताको नाम भनेर त्यस घरमा बास लिनसक्ने कोही भएनन्, तर एक साँझ कालो वर्णका व्यक्ति जो परेला झिमझिम नगरी बोल्दैनथे वा बोल्न सुरु भएपछि उनका परेला झिम्किन सुरु हुन्थे, घरमा आएर बास मागे । किसानले उनीसँग पनि सोही सर्त राखिदिए । घरधनीको सर्त सुनेर यात्री निकैबेर हाँसे र भने, ‘दशरथ महाराजको नाम मलाई थाहा नहुने कुरै भएन, म आफैँ अयोध्यावासी हुँ । मलाई दशरथको मात्र होइन उनीमाथिका धेरै पुस्ताको नाम थाहा छ ।’
यात्रीको कुरा सुनेपछि किसानको मुहारमा प्रसन्नता छायो, उनी निकै खुसी भए र भने, ‘लौ बताइदिनुहोस् त प्रभु ।’
‘अहिले किन बताउनु, जब मैले यति महत्वपूर्ण ज्ञान तपाईंलाई दिनु छ भने पहिले हातगोडा सफा गरेर आराम गरौँ अनि भनौँला नि,’ यात्रीले जवाफ दिए ।
किसानलाई कुरा ठीकै लाग्यो । वर्षौंदेखिको इच्छा पूरा हुने आशामा गद्गदिएका उनले हातगोडा धुन पानीको व्यवस्था गरिदिए, बदल्ने कपडाहरू ल्याइदिए र बस्नका लागि आरामदायी एक कुर्सीको व्यवस्था पनि गरे । नुहाइधुवाई गरेपछि कपडा बदलेर यात्री उनका लागि राखिएको कुर्सीमा बस्न गए । त्यसपछि किसाले भने, ‘हजुर, लौ अब दशरथका पिताको नाम जान्न पाऊँ ।’
‘यसो खाजा–नास्ता, चियापान गरौँ न, त्यसपछि नाम त भनिहालिन्छ नि,’ यात्रीले भने ।
दशरथका पिताजीको नाम जान्ने जिज्ञाशाबाट ग्रस्त किसान यात्रीको लागि चिया र खाजाको व्यवस्था गर्नतिर लागे । एकैछिनमा मागबमोजिमको खाजा यात्रीका अगाडि राखियो । त्यसपछि किसानले भने, ‘हजुर अब नाम पाऊँ न त ।’ यात्री कड्किए, ‘खाजा खान त दिनुस्, तपाईंलाई नाम नभनीकन म यो घरबाट जाने होइन क्यारे ।’ कुरा ठीकै लाग्यो किसानलाई, खाजा खाइन्जेल धैर्य गर्नु उचित ठाने र उनी चुपचाप एउटा कुनामा बसे । त्यसबेलासम्म त्यहाँ घरपरिवारका सदस्यबाहेक वरिपरिका छिमेकीसमेत दशरथका पिताजीको नाम सुन्न जम्मा भइसकेका थिए । सबैले व्यग्रतापूर्ण प्रतीक्षा गरे । आधा घन्टाको प्रतीक्षा पनि ती किसानलाई दिनभरझैँ भएको थियो त्यतिबेला । यात्रीले खाजा खाइसकेपछि अर्को ‘डिमान्ड’ गरे, ‘छ भने सिगार, नभए देशी सक्खरबाट बनेको तम्बाकु पिलाउनुहोस्, अनि नाम भनौँला ।’ सिगार त्यस ठाउँमा उपलब्ध हुन सम्भव थिएन, देशी सक्खरमा सुर्ती मोलेर बनाइएको तम्बाकुको व्यवस्था भयो । तम्बाकु पिउँदापिउँदै अवश्य यिनले नाम बताउने छैनन्, त्यसैले अब पछि नै सोध्नुपर्ला भनेर किसान अधिर हुँदाहुँदै पनि धैर्य गरेर बसेका थिए । लामो पाइपबाट तम्बाकुको स्वाद लिँदै त्यहाँ भेला भएका गाउँलेतिर आँखा घुमाएर यात्रीले किसानसँग भने, ‘अब हेर्नुस्, किसानजी, दशरथको पिता–पुर्खाको नाम लिने कुरा यत्रो भीडभाडका बीच हुँदैन । रातपरेपछि यिनीहरू जान्छन्, हामी खाना पनि खाउँला त्यसपछि भनौँला ।’
किसानलाई कुरा ठीकै लाग्यो, सबैका अघिल्तिर नाम भन्न लगाउनुभन्दा आफू एक्लैले सुन्ने र गाउँलेलाई ‘यस्तै सास्ती’ दिँदै सुनाउनु उचित हुने उनको ठहर भयो । रात छिप्पिँदै गएपछि गाउँले आ–आफ्नो घरतिर लागे । पाहुनालाई रातको खानाको व्यवस्था भयो । ब्राह्मण परिवारमा मासुको परिकार पाक्दैनथ्यो, साकाहारी भोजनबाट पाहुनालाई तृप्त गराइयो र पुनः तम्बाकु सेवन गराउँदै किसानले खुसुक्क सोधे, ‘हजुर, अब भन्ने होइन नाम ।’
यात्रीले फेरि अर्को बहानाबाजी गर्दै भने, ‘यस्तो पवित्र नाम रातको समयमा उच्चारण गर्नुभन्दा बिहान सबेरै गर्नु उपयुक्त हुन्छ । बरु अहिले सुत्ने व्यवस्था गरौँ ।’ यात्रीको कुरा सुनेर किसान एकपटक फेरि निराश भए, तर उनले प्रतिवाद गर्न सकेनन् । ‘हवस’ भन्दै पाहुनाका लागि ओछ्यानको व्यवस्था गर्नतिर उनी लागे । कपडा बदलेर पाहुना ओछ्यानमा पल्टिए, किसान तिनलाई प्रणाम गरी आफ्नो विछ्यौनामा पुगे । उनकी पत्नी अलिक अघि नै ओछ्यानमा पुगेर निदाइसकेकी थिइन् । किसानले पनि निदाउने प्रयास गरे, तर सकेनन् । भोलि बिहान आफू उठ्नुअघि नै यात्री भागिसकेको रहेछ भने के गर्ने ? नाम नबताईकन हिँडे भने के गर्ने ? यी सत्जन नभएर फटाहा–ठग रहेछन् भने के–कसो गर्ने भन्नेजस्ता प्रश्न उनको मानसपटलमा उब्जिरहेका थिए । भोलि बिहान दशरथका पिताको नाम थाहा पाउने सकारात्मक अपेक्षाले पनि उनलाई उद्वेलित तुल्याएको थियो । आशा, विश्वास, जिज्ञाशा र शङ्काकाबीच उनले पूरै रात ननिदाईकन बिताए ।
बिहान उठेर पाहुना सुताइएको कोठामा जाँदा ढोका खुलै थियो र ओछ्यानमा पाहुना थिएनन् । सोचे– ‘ठग रहेछ, भागेछ ।’ तर होइन रहेछ, सौच क्रियाका निम्ति बाहिरिएका रहेछन्, आइपुगे । देख्नेबित्तिकै किसानले उत्तेजित र उत्साहित हुँदै सोधे, ‘प्रभु, लौ अब भगवान् रामका हजुरबुबाको नाम श्रवण गर्न पाउँछु कि ?’
‘पाइन्छ–पाइन्छ, हडबडाउनुपर्दैन, अब यसो बिहानको खाजा–नास्ता खाऊँ, फुर्सदले बताउँला नि,’ यात्रीले जवाफ फर्काए । ती अयोध्यावासीसँग बहस गर्नतिर लाग्नुभन्दा खाजा–नास्ताको व्यवस्था गर्नु नै उनले उचित ठाने । केहीबेरमै खाजा तयार भयो र यात्रीले रोटी र तरकारी ज्यादै मीठो मानेर खाए । हात–मुख सफा गरे र बाहिरिनका लागि उनी ठिक्क परे । किसान दुई हात जोडेर यात्रीको अघिल्तिर पुगेर भने, ‘नाम नबताईकन हिँड्ने हो र हजुर ?’
यात्री नराम्रोसँग झोक्किए । सेवा लिनुपर्ने जति उनले लिइसकेका थिए र दिनेले पनि दशरथका बुबाको नाम थाहा पाउने नाममा सक्नेजति दिइसकेका थिए । झोक्किँदै बाटो लागेका यात्रीले पछिल्तिर फर्केर किसानलाई भने, ‘दशरथका बाबुको नाम पनि तिमीलाई थाहा रहनेछ, के–कस्ता ब्राह्मण हौ तिमी ?’
– म साधारण ब्राह्मण हुँ हजुर, किसानले भने ।
– काँधमा झुन्डिएको झोला आफूतिर कस्दै बाटो लागेका यात्री एकैछिनका लागि उभिए र भने, ‘दशरथका बाबुको नाम एघाररथ हो, एघाररथका बाबु बाह्ररथ, बाह्रका बाबु तेह्र, तेह्रका चौध, चौधका पन्ध्र र पन्ध्रका सोह्ररथ, सोह्रका सत्र, सत्रको अठाररथ र उन्नाइस रथका बाबुको नाम बीसरथ भन्दै यात्री निकै पर पुगे । दिनसक्ने जति दिएकै हुन् बिचरा ती किसानले तर बदलामा केही पाए भने झुट र बेइमानी । रामको बाजेको नाम ‘अज’ भएको थाहा पाउन किसानले फेरि फर्केर रामायण सुन्न जानुप-यो । नेपाली नेताहरूले पनि आफूहरू ठगिएको महसुस गरेका हुन् भने आफ्नै क्रियाकलापप्रति आत्मालोचित हुँदै फेरि ‘रामायण सुन्न’ फर्कने हो कि ?
– यादव शर्मा

पन्ध्र दिनपछि देश ठप्प हुँदै
यतिबेला संविधान बन्नुअघि देखेका सर्वसाधारण नागरिकका सपना पानीको फोकाजस्तै फुट्न थालेका छन् । उनीहरूले संविधान बनेपछि शान्ति होइन सास्ती पाएका छन् । ‘संविधान बनेपछि सुख पाइन्छ भनेको झन् सास्ती पाइयो,’ त्रिपुरेश्वरका प्रकाश ढकालले भने, ‘अहिले न ग्यास पाइन्छ, न इन्धन, हुँदाहुँदा अहिले नेपाली बजारमा नुन पनि पाउन छाडियो ।’
ललितपुरको पुल्चोकस्थित साझा पेट्रोलपम्पमा इन्धन भर्न लाइनमा बसेका ढकालले भने, ‘इन्धनको अभावको सबैलाई सास्ति बनाएको छ । आममानिस न्यूनतम उपभोग्य वस्तुको उपभोग गर्नबाट वञ्चित देखिएका छन् ।’ उनले इन्धन अभावका कारण सवारीसाधन जोर र बिजोर अङ्कका आधारमा चलाउन थालेपछि छोराछोरी स्कुल जानबाट समेत वञ्चित भएको बताए ।
ढकालको मात्र होइन, संविधानसभाबाट संविधान जारी भएलगत्तै भारतबाट इन्धन आपूर्ति रोकिएपछि राजधानीको जनजीवन कष्टपूर्ण बन्दै गएको छ । इन्धन मात्र होइन दैनिक उपभोग्य वस्तु पाउन छाडिएको छ । गत असोज तीन गतेबाट भारतबाट आपूर्ति हुने सबैजसो सामग्री बन्द भएपछि त्यसको असर राजधानीवासीको दैनिक उपभोग्य वस्तुमा परेको हो । राजधानीमा देखिएको अभाव विस्तारै राजधानीबाहिरको पहाडी जिल्लामा समेत पर्न थालेको छ । सहर मात्र नभएर गाउँ पनि परनिर्भर भएपछि नाकाबन्दीको असर गाउँमा पनि पुगेको हो ।
सडकमा सवारीसाधनको सङ्ख्या विस्तारै कम हुँदै गएको छ । सवारीसाधनहरू साझा, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल आर्मीले सञ्चालन गरेका विभिन्न एघारवटा पेट्रोल पम्पहरूमा लाम लागेर बसेका छन् । निगमले पनि यिनै एघारवटा पेट्रोलपम्पलाई मात्र इन्धन दिएको छ । निगम प्रवक्ता दीपक बरालका अनुसार कोटा प्रणाली लागू गरी इन्धन व्यवस्था मिलाइएको छ । ‘निगमसँग स्टक इन्धनबाट काम चलाइरहेका छौँ,’ प्रवक्ता बरालले भने, ‘सर्वसाधारणलाई सास्ती नहोस् भनेर कोटा प्रणाली लागू गरी इन्धन उपत्यकाका विभिन्न स्थानलाई छनोट गरी इन्धन बाँडिरहेका छौँ ।’
यता निगमले आफूसँग जम्मा आठदेखि दश दिनलाई मात्र पुग्ने इन्धन स्टक रहेको सरकारलाई जानकारी गराएको छ । निगमले सरकारलाई गराएको जानकारीअनुसार अबको दश दिनभित्रमा कुनै निकास ननिस्के राजधानीमा सडकमा गाडी गुड्न छाडनेछन् । नेपाल आयल निगम स्रोतका अनुसार पन्ध्र दिनभित्रमा भारतले नाकाबन्दी नहटाए सर्वसाधारणको मात्र होइन भीआईपीको गाडी पनि गुड्न छाड्ने छन् भने राजधानीका धेरै होटल र सर्वसाधारणको घरमा खाना पाक्न छाड्नेछन् ।
स्रोतका अनुसार निगमसँग अहिले एक हजार किलोलिटर पेट्रोल र तीन हजार किलोलिटर मात्र डिजेल स्टक छ । कोटा प्रणाली लगाएर निगमले गत सोमबारदेखि दैनिक एक सय किलोलिटर डिजेल र दुई सय किलोलिटर डिजेल बाँडिरहेको छ । यसैअनुसार वितरण गर्दा अब पेट्रोलले १० दिनसम्म बजारको माग धान्नेछ भने डिजेल कम्तीमा १५ दिनलाई मात्र पुग्ने देखिएको छ ।
यसैबीच नेपाल आयल निगमले हिजो मंगलबारदेखि अन्तर्राष्ट्रिय विमानलाई पनि इन्धन दिन छाडेको छ । आयल निगमले विदेशी कम्पनीका विमानलाई नेपालमा इन्धन सङ्कट भएको अवस्था जानकारी गराउँदै विदेशमै इन्धन भर्न आग्रह गरेको छ । निगमको आग्रहसँगै नेपालमा उडान भर्ने १४ मुलुकका २६ विमान कम्पनीले अब विदेशमै इन्धन भर्नुपर्नेछ । इन्धन सङ्कट हुँदा आन्तरिक उडान ठप्प हुने भएपछि आयल निगमको एयरपोर्ट डिपोले अन्तर्राष्ट्रिय उडानलाई तेल नदिने निर्णय गरेको हो ।

‘संविधानप्रति असहमति छैन’ : राजदूत राय
‘नेपालको संविधान–२०७२’प्रति असन्तुष्टि जनाउँदै छिमेकी भारतले अघोषित नाकाबन्दी लगाएर दुःख दिएको आरोप झेलिरहेकै बेला नेपालका लागि भारतीय राजदूत रनजीत रायले नेपालको नयाँ संविधानप्रति भारतको कुनै असहमति नरहेको बताएका छन् । हिजो मंगलबार नेपाल–भारत मैत्री समाजले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा मन्तव्य दिँदै राजदूत रायले भारतको चासो केवल तराई क्षेत्रमा देखिएको आन्दोलनलाई सम्बोधन गरेर दलहरू अघि बढुन्, जसले गर्दा अनावश्यक रूपमा तराई–मधेसमा पैदा भएको तनाव साम्य होस् भन्ने मात्र रहेको प्रस्ट्याए । यसअघि पनि दूतावासले जारी गरेको विज्ञप्तिमा ‘भारत–नेपाल सीमाका विभिन्न नाकाहरूमा भएका अवरोधका समाचारप्रति भारतको दृष्टि पुगेको’ उल्लेख गर्दै ती अवरोधहरू नेपालका कतिपय जनताले गरेका आन्दोलन, विरोध तथा प्रदर्शनका कारणले भएको जनाइएको थियो । गत भदौ २९ गते पनि दूतावासले विज्ञप्तिमार्फत् नै विद्यमान असहजताले गर्दा हाम्रा (भारतीय) मालवाहक कम्पनी तथा यातायाताकर्मीहरूले नेपाल आवतजावतमा भोग्नु परेको कठिनाइसहित आफ्नो सुरक्षाबारे चिन्ता प्रकट गरेको जानकारी दिइएको थियो । सो विज्ञव्तिमा भनिएको थियो– ‘हामी फेरि पनि भन्न चाहन्छौँ कि नेपालको वर्तमान समस्या राजनीतिक प्रकृतिको छ । नेपालको नेतृत्वले झडपको वर्तमान अवस्थाको कारकलाई प्रभावकारी र विश्वसनीय ढङ्गले सम्बोधन गर्नैपर्छ । असमझदारीका विषयहरू सर्वस्वीकार्य स्वामित्वमा समाधान गरी संस्थागत गरिनु पर्दछ । हामी आशावादी छौँ कि परिस्थिति शीघ्र शान्त हुनेछ ।’
मैत्री समाजको कार्यक्रममा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सरिक थिए । उनले अघोषित नाकाबन्दी बढ्दै गए त्यसबाट असहज परिस्थिति उत्पन्न हुनसक्ने बताए भने भारतीय राजदूतले चाहिँ अघोषित रूपमा नाकाबन्दी गरेको कुनै सन्दर्भ नै उल्लेख गरेनन् ।

पेट्रोलियममा ठगी गर्ने जेल चलान
पेट्रोलियममा कालोबजारी गर्ने पेट्रोलपम्प व्यवसायी जनकराज पौडेल जेल चलान गरिएका छन् । ललितपुर एकान्तकुनामा रहेको प्रशान्ति पेट्रोलपम्पका सञ्चालक पौडेल ग्राहकलाई कम तेल दिएर परिमाणमा बढी देखाउने गरेको उजुरीका आधारमा छानबिन गर्दा अभियोग पुष्टि भएपछि कारबाहीमा परेका हुन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवालीका अनुसार ४५ लिटर पेट्रोल क्षमता भएको ट्याङ्कीमा दश लिटर पहिले नै राखेर पेट्रोल भर्न लगाउँदा उक्त पेट्रोलपम्पले ४८ लिटर तेलको बिलिङ गरेको थियो । यस हिसाबले जम्मा ३५ लिटर तेल हाल्दा बिलमा तेह्र लिटर बढाइएको थियो । विगतदेखि नै ग्राहक ठगी गर्ने तथा कालोबजारी गर्ने गरेको पुष्टि भएपछि महानगरीय प्रहरी परिसर ललितपुरले पौडेललाई पक्राउ गरेको बताइएको छ ।
पक्राउ गरी प्रारम्भिक अनुसन्धान तथा स्थलगत अवलोकनसमेतको आधारमा आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय ललितपुर पठाइएकोमा जिप्रका ललितपुरले ३० लाख धरौटी माग गरेको थियो । माग गरिएको धरौटी रकम तिर्न नसकेपछि उनलाई नख्खु कारागार पठाइएको हो । ठगी, महँगी, कालोबजारीजस्ता अनैतिक कार्यमा संलग्न व्यवसायीलाई कारबाहीको दायरामा ल्याएर ललितपुर प्रहरीले प्रशंसनीय काम गरेको स्थानीय उपभोक्ताको कथन छ ।

नर्भिकमा मुटु बचाउने कार्यक्रम
नर्भिक इन्टरनेसनल हस्पिटलले विविध कार्यक्रमका साथ यस वर्षको विश्व मुटु दिवस मनाउँदै छ । ‘आफ्नो मुटुबारे थाहा पाऔँ’ भन्ने विशेष परीक्षण योजनासहित मुटु दिवस मनाउने सिलसिलामा साताव्यापी कार्यक्रमको तय गरेको नर्भिकले गत शनिबार एक विशेष कार्यक्रम आयोजना गरी मुटुरोग परीक्षणका विशेष योजना सञ्चालन गरिएको जनाकारी दिएको छ । विश्वव्यापी रूपमा बढ्दै गएको मुटुरोगबारे बृहत् जनचेतनाको अभिवृद्धि गर्नु–गराउनु र रोग रोकथामका उपायहरू अवलम्बन गराउन जनमानसलाई अभिप्रेरित गराउनु यस दिवसको मुख्य उद्देश्य रहिआएको छ । विश्व मुटु दिवस मनाउने सिलसिलामा नेपाललगायत विश्वका एक सय ५० भन्दा बढी देशमा अर्थात् विश्वभर नै मुटुरोग परीक्षण शिविरहरू, रोगबारे जनचेतना तथा रोकथामका उपायबारे प्रवचन तथा अन्य विविध कार्यक्रम गर्ने गरिन्छ ।
सुर्ती तथा सुर्तीजन्य पदार्थको व्यापक प्रयोग, मधुमेह, अस्वस्थ आहार–व्यवहार, मद्यपान, उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, ज्यादा मोटोपना, शारीरिक निष्क्रियता वा विलासपूर्ण जीवनशैलीका कारण विश्वभर नै अझ हालै आएर विकासोन्मुख राष्ट्रहरूमा मुटुरोगका बिरामीहरू बढ्दै गइरहेका छन् । हाल विश्वमा झन्डै एक करोड ७३ लाखभन्दा बढी मानिसले प्रत्येक वर्ष यस रोगका कारण ज्यान गुमाइरहेका छन् । नेपालमा पनि सहरी जनसङ्ख्याको झण्डै आठ प्रतिशत मानिस कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित छन् ।
नर्भिकमा आयोजित समारोहमा नर्भिकमा गत वर्ष सफल मुटुरोग उपचार गराई स्वस्थ जीवनयापन गर्दै आएका बिरामीहरूसहित करिब दुई सयजना विशिष्ट व्यक्तित्व सहभागी थिए भने कार्यक्रमको प्रमुख अतिथिका रूपमा गृहमन्त्री वामदेव गौतम निम्त्याइएका थिए । कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भारत रावत, विशिष्ट मुटुरोग विशेषज्ञहरू प्रा.डा. यादव भट्ट र डा. सुनिलचन्द्र झा, मुटुरोग शल्य चिकित्सक डा. ज्योतिन्द्र शर्मा, फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. जेपी जैसवाल र पोषणविज्ञ प्रणिती सिंहले मुटुरोगका विविध विषयमा प्रकाश पारेका थिए । नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंहको स्वागत मन्तव्यबाट शुभारम्भ गरिएको उक्त कार्यक्रममा कार्यकारी निर्देशक मेघा चौधरी शाक्यको धन्यवाद ज्ञापनबाट समापन भएको थियो ।
नर्भिकमा गत वर्ष जटिल एन्जियोप्लाष्टी, प्राइमरी एन्जियोप्लाष्टी (व्यक्तिलाई हृदयाघात भएपछि जीवन बचाउन तत्कालै गरिने एन्जियोप्लाष्टी प्रक्रिया) र हृदयरोग शल्यक्रिया (वाइपास सर्जरी) गराई स्वास्थ्य लाभ गरिरहेका करिब एक सय ५० जना बिरामीमध्ये १० जनालार्ई सो अवसरमा सम्मानसमेत गरिएको थियो भने नेपाली हृदयरोग फाँटमा उल्लेख्य योगदान पु-याउँदै आएका मुटुरोग विशेषज्ञहरू डा. प्रकाशराज रेग्मी, डा. मनबहादुर केसी र डा. राजेन्द्र कोजूलाई पनि विशेष सम्मानित गरिएको थियो ।
– मोहित अधिकारी

आफ्नो बालविवाह रोक्न किशोरकिशोरी नै सरिक
परासी । रूपन्देही र नवलपरासीको दक्षिणी ग्रामीण भेगका किशोर–किशोरीको जीवन तथा जीविकोपार्जन अवस्था निकै चुनौतीले भरिएको र जोखिमपूर्ण रहेको छ । आफ्नो गाउँको सम्पूर्ण विवरण पनि राम्रोसँग थाहा नपाउने किशोरकिशोरी घरायसी कामकाजमा नै दिन बिताउने उनीहरू समुदायका मानिससँग खुलेर कुरा गर्न त टाढै जाओस् आफ्नो साथीसँग खुलेर कुरा गर्न नसक्ने अवस्था पनि कायमै रहेको पाइन्छ । कमजोर आर्थिक अवस्था तथा चेतनाको कमीले तराईका दक्षिणी भेगका किशोरीको जीवनलाई बढी कष्टप्रद बनाएको छ । आत्मविश्वास र चेतनाको कमी हुनाको साथै जीवनसँग सरोकार राख्ने विभिन्न विषयमा सीप, ज्ञान नहुनु नै प्रमुख कारण मानिएको छ । सीमा क्षेत्रका किशोरीको मात्र नभएर किशोरको अवस्था पनि कमसल नै भएको पाइन्छ । सानै उमेरमा दुव्र्यसन र विसङ्गतिमा लागेका तथा विद्यालय छोडेका, कामको खोजीमा भौँतारिने किशोरको सङ्ख्या पनि वृद्धि हुँदै गएको छ ।
किशोरकिशोरीको यस्तो दूरावस्थालाई ध्यानमा राखी एबीसी नेपालले स्ट्रोन फाउन्डेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१३ जनवरीदेखि नवलपरासी र रूपन्देहीका २० गाविसमा दलित युवाका लागि अधिकारमुखी शिक्षा संवाद कार्यक्रम सञ्चालन गर्दै आएको छ । शिक्षाको महत्व नबुझेर र अन्य कारणबाट विद्यालय छोडेका तीन सयभन्दा बढी किशोरकिशोरी संवाद केन्द्रमा सहभागी भएपश्चात् पुनः विद्यालयमा भर्ना भएको एबीसी नेपाल क्षेत्रीय कार्यालय भैरहवाका संयोजक मनोज लामिछाने बतउँछन् । संवाद केन्द्रमा प्रवेश गरेका किशोरकिशोरीले गाविस तथा अन्य सङ्घ–संस्थामार्फत सामाजिक क्रियाकलापको अभियानमा जुटेको लामिछामेले बताए । संवादमा प्रवेश भएका किशोरकिशोरीले सामाजिक चेतना अभिवृद्धि अभियानअन्तर्गत १६ दिने महिला हिंसाविरुद्धको अभियान आदिमा हातेमालो गर्दै आएको पाइएको छ । संवाद केन्द्रका किशोरकिशोरी बालविवाहको असर र प्रभाव घरपरिवारलाई बुझाएर बालविवाह हुनबाट जोगाएको पाइएको छ । संवाद केन्द्रमा सक्रिय भएका सबैभन्दा बढी सङ्ख्याका किशोरकिशोरी गैरकृषिमा आधारित विभिन्न आयआर्जन र सीपमूलक तालिममार्फत आय–आर्जन क्रियाकलापबाट चौतर्फी विकासमा योगदान पु-याएको पाइन्छ । किशोरकिशोरीको जीवनमा सुधार ल्याई उनीहरूलाई चेतना अभिवृद्धि तथा आर्थिक–सामाजिक दृष्टिकोणबाट आत्मनिर्भर बनाउनु नै संवाद केन्द्रको उद्देश्य रहेको कार्यक्रम अधिकृत रामनाथ ओझाले जानकारी दिए ।
नवलपरासी र रूपन्देहीमा हालसम्म १२ गाविसमा एक सय नौ संवाद केन्द्रमार्फत दुई हजार एक सय ८० किशोरकिशोरीले एक वर्षको संवाद अवधि पूरा गरिसकेका छन् भने ६१ वटा संवाद केन्द्र हालसम्म सञ्चालनमा छन् । एक हजार दुई सय किशोरकिशोरीको सक्रिय सहभागिता रहेको एबीसी नेपाल क्षेत्रीय कार्यालय भैरहवाले बताएको छ । संवाद केन्द्रका किशोरकिशोरीले एन्मिटर संवाद सहयोग समूह र संवादका अन्य सहभागीको सहयोगमा एक सय ४८ किशोरकिशोरीले आफ्नो बालविवाह रोक्न सफल भएका छन् । संवाद केन्द्रमा आबद्ध किशोरकिशोरीको सक्रियता बढ्दै गएमा सामाजिक विकृति र कुरीति घट्ने विश्वास पनि गरिएको छ ।
– आरपी उपाध्याय

सीआईजी अर्घाखाँचीलाई प्रमुख सूचना आयुक्तको सुझाव
‘सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार’ भन्ने नारासहित सूचना तथा सुशासन अभियान, अर्घाखाँची (सीआईजी)ले गत शुक्रबार सदरमुकाम सन्धिखर्कमा प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न गरेको छ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले प्रमुख अतिथिका रूपमा सहभागिता जनाउँदै गत शुक्रबार हालै स्थापित सीआईजी कार्यालयको उद्घाटन गर्नुभएको थियो ।
प्रचारमा भन्दा काममा विश्वास राख्ने प्रमुख सूचना आयुक्त बास्कोटाले सूचनाको हकमा खुलेर लाग्न अर्घाखाँचीवासीलाई सुझाव दिँदै नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रूपमा अघि बढ्दै गरेको र विश्वका दुई सयभन्दा बढी लोकतान्त्रिक मुलुकमध्ये नेपाल पहिलो नम्बरमा पर्न नसक्नुको एउटा कारण सूचनाको हकलाई कार्यान्वयनमा नल्याउनु नै रहेको रोचक दृष्टान्त दिनुभयो । लोकतन्त्र बलियो बनाउन समाजमा सुशासन, वाक तथा प्रकाशन स्वतन्त्रता, उत्तरदायी र पारदर्शी सरकारका साथै जनता सशक्त हुनुपर्ने उहाँको कथन थियो । यी सबैको अनुभूति जनताले सूचनाको हकमार्फत प्राप्त गर्न सक्ने प्रमुख आयुक्तको धारणा थियो । उहाँका अनुसार संसारमा अहिले एक सय चार मुलुकमा सूचनाको हकसम्बन्धी कानुन भए पनि राम्रो कानुनको आधारमा नेपाल २२औँ स्थानमा पर्दछ । कानुन राम्रो भए पनि कार्यान्वयनमा कमी–कमजोरीका कारण भ्रष्टचारका हिसाबले नेपाल विश्वमै बदनाम हुने भएको प्रस्ट्याउन प्रमुख आयुक्त बास्कोटा चुक्नुभएन । सार्वजनिक निकाय या पदमा बसेर सूचना नदिनेहरू अपराधी तथा कानुनविरोधी हुन् भन्दै निडरतापूर्वक सूचना मागको प्रक्रियालाई अघि बढाउन सीआईजीलाई उहाँले निर्देशन दिनुभयो ।
न्यायपालिका, व्यवस्थापिका संसद् तथा मन्त्रिमण्डलले गरेका निर्णय वा कामहरू सार्वजनिक गर्न मिल्ने, तर अर्घाखाँचीका कर्मचारीले गरेका निर्णयहरू गोप्य राख्नुपर्ने त्यस्तो विशेष कारण छन् भने आफूहरू प्रधानमन्त्री, मन्त्री, न्यायाधीशहरूभन्दा पनि ठूला भएको दाबी गर्न प्रमुख सूचना आयुक्त बास्कोटाले व्यङ्ग्यात्मक सुझाव दिँदा कार्यक्रमका सहभागीहरू प्रसन्न बनेका देखिन्थे । हालसम्म कुनै पनि सार्वजनिक निकाय र सङ्घ–संस्थाबाट सहयोग नलिई आफ्नै बुतामा सीआईजी अघि बढेको जानकारी पाउँदा आफू अत्यन्त प्रभावित भएको अभिव्यक्ति प्रमुख सूचना आयुक्तले दिँदै गर्दा सो संस्थाको उद्देश्यमा टेवा पु-याउन तथा अर्घाखाँचीका गाउँ–गाउँमा सूचनाको हकलाई विस्तार गर्नका लागि उहाँबाट सक्दो आर्थिक सहयोगको व्यवस्था हुने सम्भावना बढेको भन्दै सरोकारवाला अभियन्ताहरूले खुसी प्रकट गरेका थिए । सो कार्यक्रममा विशेष आतिथ्यता ग्रहण गरिदिन आमन्त्रित भएर पनि परिस्थितिवश सहभागी बन्न नसक्नुभएका वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीका तर्फबाट पठाइएको शुभकामनाबारे जानकारी दिने क्रममा कार्यक्रमका सभापति मुक्तिनाथ भुसाल भावुक बन्नुभएको थियो । आफू आज यसरी सर्वसाधारणको पक्षमा काम गर्न अभिप्रेरित हुनुमा उहाँकै देन रहेको भन्दै भुसाल भावुक बन्न पुग्नुभएको हो ।
कार्यक्रममा जिल्ला विकास समितिका नेत्रप्रसाद खनाल, जिल्ला स्वास्थ्यका लीलाराम गौतम, सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनाका होमबहादुर एसी र सन्धिखर्क नगरपालिकाका नारायण पोखरेलसहितका सूचना अधिकारीहरूलाई प्रमाणपत्रका साथ खादा ओढाएर सम्मान गरिएको थियो । यसैगरी, सीआईजी अर्घाखाँचीका गतिविधिहरूलाई प्रसारण गरेबापत जिल्लामा रहेका सामुदायिक रेडियो देउराली, सामुदायिक रेडियो अर्घाखाँची, सामुदायिक रेडियो सूर्याेदय, नयाँ एफएम र अर्घाखाँची टेलिभिजनलाई पनि सम्मानस्वरूप प्रशंसापत्र वितरण गरिएको थियो भने सूचनाको हक र सुशासनमा सीआईजीमार्फत उल्लेखनीय योगदान पु-याउने बाबुराम भुसाल, नारायणप्रसाद खनाल, गौरीशङ्कर इंग्लिस बोर्डिङ, अर्घाखाँची आवासीय उमाविलगायतलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो । सभाले आगामी तीन वर्षका लागि मुक्तिनाथ भुसालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
– जनार्दन भुसाल

संयुक्त राष्ट्र सङ्घमा बन्दना
साथी संस्थाकी अध्यक्ष महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणाले विश्वको नागरिक समाजको तर्फबाट संयुक्त राष्ट्रसङ्घमा महिलाका मुद्दाहरूलाई लिएर सम्बोधन गर्नुभएको छ । विभिन्न ८० मुलुकका सरकार तथा राष्ट्र प्रमुखहरूको सहभागिता रहेको ‘ग्लोबल लिडर मिट अन जेण्डर इक्वालिटी एण्ड विमेन इम्पावरमेन्ट : अ कमिट्मेन्ट टु एक्सन’लाई सम्बोधन गर्दै उहाँले लैङ्गिक समानतालाई आधारभूत विकासको खाकाभित्र राख्न विश्वका नेताहरूलाई आह्वान गर्नुभयो । छिमेकी मुलुक चीन र युएन विमेनले संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आयोजना गरेको कार्यक्रमा नागरिक समाजको तर्फबाट सम्बोधन गर्ने बन्दना एक मात्र प्रतिनिधि हुनुहुन्थ्यो । उहाँ नागरिक समाजको तर्फबाट युएन विमेनकी ‘ग्लोबल एडभाइजर’ हुनुहुन्छ ।
लैङ्गिक समानताको क्षेत्रमा विश्वले उपलब्धि हाासिल गर्नका लागि गर्नुपर्ने प्रयासको बारेमा उल्लेख गर्दै उहाँले सन् २०३० सम्ममा लक्ष्य हासिल गर्नका लागि सरकारहरूले लैङ्गिक समानतालाई मुख्य प्राथमिकताको विषय बनाएर अघि बढ्नुपर्ने बताउनु भयो । विश्वका नेताहरु सम्मिलित महत्वपूर्ण फोरममा नेपाली महिलाको सम्बोधनलाई उदाहरणीय मानिएको छ ।

मोदीलाई पहाडीको पत्र
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै नाकावन्दी तत्काल अन्त्य गर्न आग्रह गरेका छन् । पत्रमा मानवाधिकारकर्मी पहाडीले अन्तर्राष्ट्रिय अहिंसा दिवस एवम् अहिंसाका पुजारी महात्मा गान्धीको जन्मजयन्ती २ अक्टोबरका अवसरमा शुभकामना दिँदै राष्ट्र–राष्ट्रका बीचमा कहिलेकाहीँ सम्बन्ध चिसिन सक्छ तर सम्बन्ध न्यानो बनाउन नागरिकस्तरबाटै पहल भइरहनु पर्छ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गरेका छन् । संविधानसभाबाट नेपालको नयाँ संविधान जारी भएपछि केही कुरामा भारतको असन्तुष्टि रहेको समाचार प्रकाशमा आएको स्मरण गराउँदै उनले यसबाट ठूलो अनर्थ सिर्जना भएकोले नेपाल भारत मित्रतालाई प्रगाढ पार्न नाकाबन्दीको यो अप्रिय स्थिति तत्काल अन्त्य हुनुपर्ने र यस दिशामा महामहिम मोदीले चाल्ने हरेक कदमको प्रशंसा हुने वातावरण बनोस् भन्ने कामना पनि गरेका छन् ।

भिन्न क्षमताकालाई चारपाङ्ग्रे स्कुटर
विगत द्वन्द्वको समयमा घाइते भई भिन्न क्षमता भएका नेपाली सेनाका बहालवाला तथा अवकाशप्राप्त सकलदर्जालाई प्रधानसेनापति राजेन्द्र क्षत्रीद्वारा चारपाङ्ग्रे स्कुटर वितरण गरिएको छ । जंगी अड्डा परिसरमा मंगलबार आयोजित एक विशेष समारोहबीच प्रधानसेनापति क्षत्रीले नेपाली सेनाका बहालवाला बीस र अवकाशप्राप्त एक गरी विभिन्न दर्जाका एक्काइस जनालाई चारपाङ्ग्रे स्कुटर वितरण गर्नुभएको हो । यस किसिमको सम्मानले विगत द्वन्द्वको समयमा घाइते भई भिन्न क्षमता भएका नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जाको दैनिक जीवनयापन गर्न सहज हुनुको साथै उनीहरूको मनोबल उच्च हुनुका साथै हौसला अभिबृद्धि हुने नेपाली सेनाले जनाएको छ ।