भेनेजुयलाले दियो अमेरिकालाई चेतावनी !

भेनेजुयलाले दियो अमेरिकालाई चेतावनी !


संयुक्त राज्य अमेरिकाद्वारा एकतर्फी रूपमा भेनेजुयलामाथि दबाब दिने उद्देश्यसाथ नयाँ प्रतिबन्ध लगाउने निर्णयको विरोध गर्दै भेनेजुयलाको सरकारले यसको कानूनी समाधान खोज्ने बताएको छ ।

अमेरिकी ट्रम्प प्रशासनद्वारा दक्षिण अमेरिकी मुलुक भेनेजुयलाको पेट्रोलियम उद्योगमाथि प्रतिबन्ध लगाउने निर्णयविरूद्ध सम्बन्धित अन्तर्राष्ट्रिय कानूनमार्फत प्रतिरोध गर्ने भेनेजुयलाले जनाएको हो ।

‘भेनेजुयलामाथि प्रतिबन्ध लगाउने ट्रम्प सरकारको निर्णय स्वार्थी तथा अपराधी निर्णय हो, यसबाट भेनेजुयलाको अन्तर्राष्ट्रिय अधिकारको उल्लङ्घन भएको छ,’ भेनेजुयलाको विदेश मन्त्री जर्ज अरियाजाले शनिबार ट्वीटरमार्फत जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

वासिङ्टनले भेनेजुयलाको राज्य सञ्चालित पेट्रोलियम उद्योग पीडिभीएसएका तेल बोक्ने विभिन्न ३४ पानीजहाजमाथि प्रतिबन्ध लगाउने घोषणापछि भेनेजुयलाको आधिकारिक प्रतिक्रिया आएको हो । यो निर्णयले आफ्नो तेल छिमेकी मित्रराष्ट्र क्युवामा तेल निर्यातमा समस्या परेको भेनेजुयलाको भनाई छ ।

प्रतिबन्धले लाइवेरियास्थित बाल्लिटो सिपिङ कम्पनी, ग्रीसस्थित प्रोपर इन म्यानेजमेन्ट कम्पनी जसले क्युवाका लागि सामान ढुवानी गर्दै आएका छन्, लाई प्रभावित पार्ने बताइएको सिन्ह्वाले जनाएको छ ।

‘वासिङ्टनले प्रतिबन्ध लगाएर भेनेजुयला तथा क्युवाका जनतालाई मात्र सजाय दिने नभै तेलको ढुवानी गर्ने अन्तर्राष्ट्रिय कम्पनीहरू तथा व्यापार संगठनसमेतलाई प्रभावित पार्ने देखिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।