दक्षिण कोरियामा भीषण डढेलो, सरकारले गऱ्यो राष्ट्रिय प्रकोप घोषणा

दक्षिण कोरियामा भीषण डढेलो, सरकारले गऱ्यो राष्ट्रिय प्रकोप घोषणा


दक्षिण कोरियाली सरकारले शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ । देशको उत्तरपूर्वी तटीय क्षेत्रका पाँच वटा शहरमा लागेको भीषण डढेलोपछि एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएकपछि राष्ट्रिय प्रकोप घोषणा भएको छ ।

राष्ट्रिय राजधानी सोलबाट करिब २ सय १० किलोमिटर उत्तरपश्चिममा रहेको सीमावर्ती शहरको सडक इलाकाबाट स्थानीय समयअनुसार बिहीबार राति सो आगलागी शुरु भएको थियो ।

यस प्रकोपको कारण एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएको शुक्रबार त्यहाँका अधिकारीले पुष्टि गरेका छन् । यस डढेलोबाट करिब २ सय ५० हेक्टर जमिन र १ सय २५ घर ध्वस्त भएको छ ।

यस प्रकोपका कारण हजारौँ व्यक्ति रातारात विस्थापित भएका छन् । यस प्रकोपपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले राति नै राष्ट्रिय व्यवस्थापन निकायसँग छलफल गरेका थिए ।

उनले उपलब्ध साधन र स्रोतको अधिकतम प्रयोग गरी डढेलो नियन्त्रण गर्न निर्देशन दिएका छन् । कडा हावा र अँध्यारोका कारण अग्निनियन्त्रकहरूलाई डढेलो नियन्त्रणको काममा कठिनाइ उत्पन्न भएको बताइएको छ । यस डढेलो नियन्त्रणका लागि दशभन्दा बढी हेलिकोप्टर आगलागी प्रभावित क्षेत्रमा पठाइएको छ । यस डढेलोको उद्धारकार्यका लागि अग्निनियन्त्रक, सुरक्षाकर्मी, अन्य उद्वारकर्मीहरू गरी करिब १० हजार व्यक्ति परिचालन गरिएको छ ।