रहरले होइन बाध्यताले रात्रीजीवनमा प्रवेश गरियो

– सिमरन शेरचन



किशोर उमेरसम्म नवीन शेरचन नामले चिनिएकी यी युवाको वर्तमान परिचय सिमरन हो । परिवारले दिएको नाम ‘नवीन’बाट स्वघोषित ‘सिमरन’ हुँदै आजको अवस्थासम्म आइपुग्दा सिमरनसँग भोगाईका अनेक आयाम छन् । आफू फरक स्वभावको मानिस भएको आभास भएदेखि नै उनले परिवारदेखि विद्यालय र समाजबाट समेत यस्ता अप्ठ्यारा परिवेशहरूको सामना गर्नुपऱ्यो जसका बारे अहिले सुन्दैमा पनि सिरिङ्ग तुल्याउँछ । केटाबाट केटी बन्नका लागि आफ्नै गुप्ताङ्ग फुटाउन खोजेको र आमाले देखेर त्यस्तो दुर्घटना हुनुबाट जोगाइदिएको, उमेरजन्य शारीरिक प्यास मेटाउनकै लागि पढ्ने बहानामा युरोपसम्म पुगेर पनि विपरीत भोगाई ब्यहोरेर फर्कनुपरेको जस्ता उनका सन्दर्भहरू सिमरनको जीवनका ‘टर्निङ प्वाइन्ट’हरू हुन् । शरीरको छातीको भागमा महिलाको अङ्ग सिर्जना गर्न तीन लाख रकम खर्च गरेको तर पुरुष अङ्ग हटाएर महिला–गुप्ताङ्ग राख्न आवश्यक पर्ने बीसौँ लाख रकम खर्च गर्न असमर्थ रहेको कुराकानीको सन्दर्भमा खुलासा गर्ने सिमरन हाल निलहीरा समाजको बोर्ड सदस्यको रूपमा क्रियाशील छिन् । छोराको रूपमा हुर्किएर छोरीको रूपमा जीवन बाँचिरहेकी सिमरनसँग गरिएको कुराकानीको सार प्रस्तुत गरिएको छ ।

० तपाईं छोराको स्वरूप लिएर जन्मनुभयो, छोराकै रूपमा हुर्कनुभयो, तर आफू अरू केटाहरूभन्दा फरक छु भन्ने अनुभूति कहिले र कसरी थाहा पाउनुभयो ?

– म जन्मँदा मेरो यौनांग हेरेर मेरो नामकरण गरियो । केटाकै रूपमा म समाजमा बढ्दै गएँ । जब मेरो उमेर बढ्दै गयो, शरीर विकसित हुँदै गयो त्यतिबेलैदेखि ममा केही फरक अनुभूति हुन थालेको महसुस भएको थियो । शारीरिक रूपमा म छोरा भए पनि छोरीमान्छेका इच्छा र विशेषता मेरो शरीरमा विकसित हुन थालेको मैले महसुस गर्न थालेँ । त्यही विशेषताका कारण म आफूलाई छोरी भन्न रुचाउँथेँ र छोरीकै रूपमा घरपरिवार र समाजमा चिनिन चाहन्थेँ । तर, त्यसबेला समाजले यसलाई सहजै पचाउने अवस्था थिएन । त्यो भनेको म कक्षा पाँचमा अध्ययन गर्ने बेलाको समय थियो ।

० यस्तो अवस्थामा तपाईंले बाल्यकालमा कस्ता-कस्ता समस्याको भोग्नुपऱ्यो ?

– जबसम्म म अरूभन्दा फरक छु वा हुँ भने अनुभव थिएन त्यतिबेलासम्म मलाई कुनै समस्या परेन । तर, जब म अरूभन्दा फरक छु भन्ने थाहा भयो तब मलाई चारैतिरबाट समस्याले घेर्न थाले । म आफूलाई एक्लो महसुस गर्न थालेँ । मैले आफ्ना समस्या व्यक्त गर्ने साथीहरू पनि पाउन सकिनँ । सँगै अध्ययन गर्ने साथीहरूले पनि छक्का, हिजडा भनेर जिक्याउन थाले । मलाई पनि केटा साथीभन्दा केटी साथी बढी मन पर्न थाल्यो । जब मेरो आनीबानी र व्यवहारमा परिवर्तन आउन थाल्यो तब यसको यौनांग कस्तो छ भनेर हेर्न आउने, पाइन्ट तान्ने, जिस्क्याउने गर्न थाले । यसरी म पुरुष शौचालयमा जाँदा केटाहरूले जिस्क्याउने, केटीको शौचालयमा मेरो शारीरिक बनावटका कारण छिर्न नसक्ने हुँदा मेरा दुःख मनमै गुम्स्याउन बाध्य हुन्थेँ । नेपाली विषयको कक्षामा व्याकरण पढ्नुपर्दा पुलिङ्ग, स्त्रीलिङ्ग र नपुुङ्सक भनेर पढ्नुपथ्र्यो । जब कक्षामा नपुङ्सक शब्द उच्चारण हुन्थ्यो, सबैले फर्केर मलाई नै हेर्थे । यस्तो अवस्थामा स्कुल जान नपरे पनि हुन्थ्यो जस्तो लाग्थ्यो । कक्षामा म पहिले राम्रै विद्यार्थीका रूपमा चिनिन्थेँ, तर यी कारणले मेरो पढाइको स्तर पनि खस्कँदै गयो । यसका बाबजुद मैले कक्षा १२ सम्मको अध्ययन पूरा गरेकी छु ।

० तपाईंले आफ्नो पुरुष जनेन्द्रीय (अन्डकोष) फुटाउने प्रयास गर्नुभएको थियो रे नि, के यो सत्य हो, हो भने किन ?

– हो, यो सत्य हो । जब म १३–१४ वर्ष पुगेकी थिएँ, म त्यति बेला आफ्नै घर पोखरामा बस्थेँ । मैले सुनेकी थिएँ– केटी मान्छेको अन्डकोष हुँदैन । अन्डकोष भएको मान्छे त छोरा हो । तर, मेरो आनीबानी, हाउभाउ, विशेषता सबै केटी मानिससँग मिल्ने, तर शरीरमा अन्डकोष थियो । यस अवस्थामा म केटी नै हुँ र केटी नै बन्छु भन्ने मनसायले सो प्रयास गरेकै हुँ । तर, मेरो यो प्रयास आमाले देख्नुभएकोले सो दुर्घटना हुन पाएन र म जोगिएकी थिएँ ।

० तपाईं वयस्क भएपछि शारीरिक भोक मेटाउन विदेशसम्म पुग्नुभएको थियो रे नि ?

– म उच्च शिक्षा लिन युरोप गएकी थिएँ । त्यहाँ पढाइका साथै हरेक किसिमका स्वतन्त्रता प्राप्त हुन्छन् भन्ने सुनेकी थिएँ । जसमध्ये मेरो मनमा सुसुप्त अवस्थामा सो चाहना पनि रहेको थियो । विदेशमा पनि हरेक दुःख हुन्छन् । मैले पनि त्यहाँ अनेक हन्डर र ठक्कर खाएर फर्किएकी छु । यसबीचमा मैले पढाइ पनि पूरा गर्न सकिनँ । शारीरिक भोक मेट्ने साथी भेटे पनि त्यो सुखद र सम्झनलायक रहेन ।

० तपाईंमाथि परिवारबाट विवाह गर्ने दबाबचाहिँ परेन ?

– उमेर पुगिसकेको बारम्बार विवाहको दबाब परिरह्यो । घरमा बुहारी भित्र्याउने उत्कट चाहना परिवारमा थियो । तर, मेरो अवस्था म आफैँलाई मात्र थाहा थियो । सोही कारण अर्को वर्ष–अर्को वर्ष भन्दै उहाँहरूको अनुरोधलाई पर धकेल्दै गएँ । सोचेँ– मैले बिहे गरेँ भनेँ बुहारी बनेर आउने केटीको जीवन त बर्बाद हुन्छ–हुन्छ, मेरो पनि । त्यसकारण परिवारको खुसीलाई तिलाञ्जली दिँदै घर छोड्ने कठोर निर्णय लिन बाध्य भएँ । त्यसपछि म काठमाडौं आएर बस्न थालेँ ।

० रात्रिजीवनमा प्रवेश गर्नुचाहिँ रहर हो कि बाध्यता ?

– कसरी रहर हुन सक्ला ? कोही पनि जानाजान आगोमा हामफाल्दैन । जब घरपरिवार, समाजबाट अस्वीकृत हुन्छ, समाजमा उसका लागि कुनै अवसर बाँकी रहन्न तब बाध्यता आइलाग्छ । हो मेरो पनि त्यही बाध्यता हो । त्यही बाध्यताका सिकार भएकी हुँ म ।

० रात्रिजीवनमा पीडा पनि छन् ?

– त्यो क्षेत्रमा प्रवेश गर्नु भनेकैै पीडाको सामना गर्न तयार रहनु हो । यसका पेसामा लाग्नेहरूमाथि समाज र प्रहरी–प्रशासनबाटै अनेक आरोप र लाञ्छना लगाइने गरिन्छ । उनीहरूको वास्तविकता बुझ्ने प्रयास गरिन्न । तेस्रोलिङ्गी हुनेबित्तिकै यौनकार्यमै संलग्न हुन्छन् भन्ने गलत सोचको विकास भएको छ । तर, उनीहरूले कामका अवसर कहाँ–कति पाएका छन्, उनीहरूलाई जीविकोपार्जनका अवसरहरू कत्तिको छ भन्ने सोच कसैमा पाइन्न । बाध्य भएर अनि रात्रिजीवनको विकल्प बाँकी रहन्न ।

० नीलहिरा समाजमा पहिलोपटक कोसँग भेट भएको थियो ? के भनेर तपाईंलाई परामर्श गरियो ?

– नीलहिरा समाजको क्षेत्रमा कार्यरत हनी महर्जनमार्फत यो समाजमा प्रवेश गरेकी हुँ । उहाँले मलाई पहिलोपटक एचआईभीको जानकारी दिनुभयो । सुरक्षित शारीरिक सम्पर्कबारे बताउनुभयोे । लैङ्गिक पहिचानबारे स्पष्ट पार्नुभयो । त्यसपछि मात्र आफ्नो वास्तविक संसारबारे जानकारी पाएँ । हामीजस्ता मान्छे धेरै हुँदारहेछन् भन्ने ज्ञान भयो । अहिले त्यस्ता मान्छे भेट्दा खुसी लाग्छ । यसबाट ममा सकारात्मक सोचको विकास भएको छ । मबाट हामी भन्ने अवस्थामा म पुगेकी छु । मेरोजस्तो लैङ्गिक अवस्था भएका मानिसको छुट्टै समुदाय रहेछ भन्ने थाहा पाएँ ।

० नीलहिरा समाजमा प्रवेश गरेपछि के गर्दै हुनुहुन्छ ?

– यस समाजमा प्रवेश गरेपछि उहाँहरूले दिनुभएको जीवनोपयोगी सीप सिकेपछि फिल लेवरमा काम गरेँ । पछि नीलहिरा समाजमै पियर लेवलमा रोजगारी पाएँ जहाँ म आफूले सिकेको कुरा अरूलाई सिकाउँछु ।

० पहिलोपटक महिलाको ड्रेस र मेकअप गरेर ऐनाअघि उभिँदा कस्तो अनुभव भएको थियो ?

– ओहो ! त्यसबेलाको कुरै नगर्नुहोस् । त्यसबेला संसारकै भाग्यमानी ठानेकी थिएँ आफूलाई । अरूको लागि हाँसोको पात्र नै किन नहोस् आफ्नो वर्षौंदेखि गुम्सिएको रहर पूरा गर्दै पहिलोपटक मेकअपका साथ केटीको लुगामा ऐनाअघि उभिँदा आफ्नो सपना पूरा भएको ठानेकी थिएँ । त्यसबेला मैले आफूलाई संसारमै सबैभन्दा सुन्दर देखेकी थिएँ । त्यतिबेला मेरो सुन्दरताका अघि ऐश्वर्या राय पनि फिका ठहरिएकी थिइन् । मेरो बच्चादेखिको सपना पूरा भएको समय थियो त्यो । मान्छे भन्छन् नि सपना देख्नुपर्छ, पूरा हुन्छ । हो त्यही भएको थियो मलाई पनि त्यस दिन । त्यही दिनदेखि मैले नियमित मेकअप गर्दै केटीको लुगा लगाउन थालेकी हुँ । तर, यो अवस्थासम्म आइपुग्न मलाई २५ वर्ष लाग्यो ।

वार्ता/तस्बिर : प्रवीण श्रेष्ठ

प्रतिक्रिया