‘कहालीलाग्दो धरपकड’पछि टेक्सासबाट २८० जना आप्रवासी गिरफ्तार

‘कहालीलाग्दो धरपकड’पछि टेक्सासबाट २८० जना आप्रवासी गिरफ्तार


अमेरिकाका टेक्सास राज्यमा सञ्चालित एक प्रविधि कम्पनीमा कार्यरत २८० जनाभन्दा बढी कर्मचारीलाई अमेरिकी आप्रवासन अधिकारीले गिरफ्तार गरेका छन् ।

एक दशकयता अमेरिकी इतिहासमै कुनै कम्पनीबाट यति ठूलो संख्यामा कामदार धरपकड गरिएको यो पहिलो पटक भएको एपीले जनाएको छ ।

अमेरिकी आप्रवासन तथा भन्सार कार्यालयका अनुसार सङ्घीय जाँच एजेन्टले बुधबार टेक्सासस्थित सीभीई टेक्नोलोजी ग्रुपमा कार्यरत २८० जना कर्मचारीलाई पक्राउ गरेका हुन् । यो कम्पनी डल्लासबाट करिब २४ किलोमिटर उत्तरपूर्वको अलेनमा रहेको छ ।

सङ्घीय जाँच एजेन्सीले गैरकानुनी रुपमा अमेरिकामा बसोबास गरिरहेका व्यक्ति उक्त कम्पनीमा कार्यरत रहेको दाबी गरेको छ तर पक्राउ परेका व्यक्तिका बारेमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

एजेन्सीले गैरकानुनी रुपमा अमेरिकामा बसोबास गरिरहेका व्यक्तिलाई काममा लगाएको सूचनाका आधारमा छापा मारेको जनाएको छ । सीभीइमा कार्यरत येसेनिया पोन्सले सङ्घीय जाँच निकायले गरेको धरपकड निकै कहालीलाग्दो रहेको बताउँदै सहकर्मीलाई पक्राउ गरिएको विरोधमा प्रदर्शनसमेत भएको जानकारी दिएका छन् ।