भारत स्पष्ट

भारत स्पष्ट


othernewsछिमेकी मित्रराष्ट्र भारतको विदेश मामिला मन्त्रालयले सोमबार राति एक वक्तव्य जारी गर्दै नेपाली समाजका सबै क्षेत्र र समुदायले अपनत्व हुने गरी बन्ने संविधानले मुलुकको शान्ति र समृद्धिको आधारशिला खडा गर्ने विश्वास व्यक्त गरेको छ । सङ्कटको बेला राजनीतिक दलहरू, सङ्घ–संस्था तथा बुद्धिजीवी सबैले परिपक्वता र दूरदृष्टि प्रदर्शन गर्ने उल्लेख गर्दै भारतले आधुनिक नेपाल निर्माणका लागि एउटा दिगो र लचिलो संविधान आवश्यक रहेकोमा पनि जोड दिएको छ । नेपालको संविधानसभाले संविधान निर्माण प्रक्रियामा हासिल गरेको उपलब्धिको स्वागत गर्दै यस प्रक्रियाले भारतलाई खुसी तुल्याएकोे वक्तव्यमा उल्लेख छ ।
नेपालका सबै क्षेत्र र वर्गका आवाजलाई संविधानमा समेटेर नेपाली नेतृत्व एक प्रगतिशील, आधुनिक र एकताबद्ध नेपाल निर्माण गर्न सफल हुने विश्वास व्यक्त गर्दै विज्ञप्तिमा भनिएको छ, ‘भारतले सदैव नेपालको शान्ति, स्थायित्व, एकता र विकासमा सहयोग गर्दै आएको छ । विगत दुई दशकयता भारत नेपालको हिंसा, अस्थिरता, आन्तरिक सङ्घर्ष र राजनीतिक कलहका नकारात्मक परिणामको साक्षी रहँदै आएको छ ।’ यस्तै, राजनीतिक र प्राकृतिक जुनसुकै सङ्कट भए पनि भारत सरकार सधैँ नेपालको हित र समृद्धिको पक्षमा रहेको उल्लेख गर्दै नेपाली राजनीतिक नेतृत्वले आपसी संवाद र छलफलबाट संविधान मस्यौदा अघि बढाउन सफल भएको पनि उक्त विज्ञप्तिमा जनाइएको छ ।
नेपालका कैयन भागमा चलिरहेको विरोधी पक्षको आन्दोलन तथा सङ्घर्षप्रति चिन्ता जताउँदै भारतले भयङ्कर हिंसाले फेरि एकपटक नेपाललाई खल्बल्याउन खोजेको बताएको छ । आन्दोलनमा मर्नेहरू चाहे सर्वसाधारण नागरिक हुन् या सरकारी कर्मचारी, जसको रगत बगे पनि नेपालीकै रगत बगेको उल्लेख गर्दै विज्ञप्तिमा भूकम्पले दिएको त्रासबाट मुक्ति नमिल्दै यस्तो गम्भीर अवस्था आइपर्नु दुःखको विषय भएको जनाइएको छ । यस्तो परिस्थितिमा सबै राजनीतिक पक्षलाई लचकदार बनेर बाँकी मुद्दाहरूको समाधान यथासम्भव अधिकतम् सहमति र सम्झौताबाट गर्न सुझाव पनि दिइएको छ । नेपालका अलग–अलग भू–भागमा रहेका सबै वर्गको आकाङ्क्षालाई संविधानमा सम्बोधन गर्न सक्दा मात्र नयाँ बन्ने संविधानले नेपालको उज्ज्वल भविष्य सुनिश्चित गर्ने बताइएको छ ।
एक असल र घनिष्ठ छिमेकी राष्ट्रको रूपमा सौहार्दताका साथ नेपाल सरकार र नेपाली जनताको शान्ति, स्थायित्व र आर्थिक–सामाजिक विकासमा निरन्तर सहयोग र समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै शान्तिप्रक्रियामा नेपालले उपलब्धि हासिल गरेकोमा भारतले खुलेर प्रशंसा गरेको छ । नेपालका विभिन्न भागमा जारी आन्दोलन र सङ्घर्षमा आफ्नो चासो र चिन्ता रहेको उल्लेख गर्दै शान्तिपूर्ण वातावरणमा संवाद तथा अधिकतम लचिलो भएर सबै दलका जायज मुद्दालाई सम्बोधन गर्न पनि मित्रराष्ट्र भारतले आग्रह गरेको छ ।
ज्ञातव्य छ, भारतले संविधान बनिसकेपछि मात्र औपचारिक धारणा प्रकट गर्ने विश्वास नेपाली सत्तापक्षले गरेको थियो । निर्माण प्रक्रिया जारी रहँदैको अवस्थामा आएको वक्तव्यमा उल्लिखित व्यहोरालाई कूटनीतिक वृत्तमा अर्थपूर्ण र गम्भीर मानिएको छ ।

राष्ट्रपतिलाई एक्ल्याइयो
सद्भाव, समभाव र देशको एकताको पक्षमा उभिएपछि राष्ट्रपति डा. रामवरण यादव पछिल्लो समयमा नराम्रोसँग एक्लिएका छन् । सेनापति परिवर्तन प्रकरणबाट चिसिएको एमाओवादी र अन्य विभिन्न कारणले एमाले टाढिएको अवस्थामा काङ्गे्रस नेतृत्वसमेत राष्ट्रपतिको खुला आलोचनामा उत्रिएपछि राष्ट्रपति एक्लिएका हुन् । प्रधानमन्त्री सुशील कोइराला र महामन्त्री कृष्ण सिटौलाको संविधान निर्माण प्रक्रिया आरम्भ भएदेखि नै राष्ट्रपतिसँग दूरी बढेको छ । गत आइतबार सिटौलाले संविधानसभामै राष्ट्रपति यादवविरुद्ध कठोर अभिव्यक्ति दिएर आफ्नो असन्तुष्टि जाहेर गरेका थिए । त्यस्तै राष्ट्रपतिले भेटका लागि बोलाउँदा (सोमबार) नगएर प्रधानमन्त्री कोइरालाले पनि आफ्नो अप्रसन्नता प्रकट गरेका छन् । यसरी प्रधानमन्त्री र पार्टी महामन्त्रीले असन्तुष्टि प्रकट गर्नुको पछिल्लो कारण राष्ट्रपतिले संविधानसभालाई भदौ २५ गते लेखेको एक पत्र बनेको बुझिएको छ । राष्ट्रपति यादवले आफ्नै हस्ताक्षरमा संविधानसभालाई पठाएको पत्र २५ गते सभामुखको कार्यालयमा दर्ता गराइएको थियो । त्यस पत्रलाई सभाध्यक्ष सुवास नेम्वाङले औपचारिकता दिन चाहेनन्, बरु उनले उक्त पत्र नै फाइलमा थन्क्याएर लुकाइदिएका थिए । अनौपचारिक तवरमा भने नेम्वाङले सो पत्र प्रमुख दलका सबै नेताहरूलाई देखाइदिएको बताइन्छ । राष्ट्रपतिको पत्रबारे जानकारी पाएपछि कृष्ण सिटौला संविधानसभामा राष्ट्रपतिविरुद्ध कुर्लिएको बुझिएको छ । राष्ट्रपति यादवले त्यसरी कोही कुर्लनुपर्ने गरी संविधानसभालाई पत्र लेखेका थिएनन् । सातबुँदे पत्रमा राष्ट्रपतिले ‘संविधानसभालाई राष्ट्रिय एकता, सामाजिक सुसम्बन्ध र आपसी संवाद सुदृढ पार्ने अवसरका रूपमा उपयोग गर्न सक्नुपरेको छ’ भन्दै नेपालको स्वतन्त्रता र भौगोलिक अखण्डताको संरक्षण गरी सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्दै सार्वभौमिकता, स्वतन्त्रता र समानताको आधारमा न्यायपूर्ण समाजको सिर्जना गर्नु नेपालको लागि अपरिहार्य एवम् शाश्वत आवश्यकता बनेको उल्लेख गरेका छन् । सङ्घीयता नेपालको सन्दर्भमा नौलो प्रयोग हुने भएकोले यसमा केही कठिनाइ र असहजता देखिनु स्वाभाविक भएको उल्लेख गर्दै राष्ट्रपतिले पत्रमा लेखेका छन्, ‘राष्ट्रिय एकता बलियो बनाउन विभिन्न जातजाति र समुदायको पहिचानलाई सम्मान गर्दै सामाजिक सद्भाव र एकताजस्ता सङ्घीयताका आधारभूत एवम् सुन्दर पक्षहरूलाई नेपालले अङ्गाल्न सक्नुपर्छ । यसका निम्ति सङ्घीयताको स्वरूप निर्धारण यथासम्भव सामाजिक एवम् आर्थिक न्यायका हिसाबले प्राकृतिक स्रोत र साधनको सन्तुलित र उचित वितरण एवम् उपयोग सम्भव हुनेगरी हुनुपर्दछ ।’ उनले पत्रमा सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने लोकतान्त्रिक दस्तावेजको रूपमा संविधान जारी हुने स्थिति सिर्जना गरौँ भनी सम्मानित सभाका सभासद्हरूसँग सम्माननीय अध्यक्षमार्फत सादर अनुरोध गर्दछु भनेका छन् ।
राष्ट्रपति यादवले संविधान निर्माणपछि मुलुकले स्थायित्व प्राप्त गरोस् र देशमा शान्ति र सद्भाव कायम होस् भन्ने मनसायबाट पत्र लेख्दा त्यसलाई गम्भीरतापूर्वक नलिएर प्रमुख दलका नेता र सभाध्यक्षले अहङ्कार देखाएका छन् । दलका नेता र सभाध्यक्षको व्यवहार असहिष्णु एवम् अहङ्कारपूर्ण भए पनि राष्ट्रपतिले निर्धारित समयमा संविधानसभामा उपस्थित भएर संविधान जारी गर्ने कार्यमा बाधा नपु-याउने सोच बनाएको बुझिएको छ ।

कमल अलमलको रहस्य खुल्यो
०६३ को राजनीतिक परिवर्तनपश्चात् सिद्धान्त र विचारको राजनीति गरेको देखाएर पूर्वपञ्च कमल थापाले देशवासीलाई चकित पारेका हुन्, तर समयाक्रममा सत्तासँग सिद्धान्त साटेर थापाले आफ्नो सक्कली अवतार देखाइछाडे । भदौ २३ गते बुधबार राप्रपा नेपालको केन्द्रीय समिति बैठकमा अधिकांश सहभागीले संविधानसभामा सुरु भएको प्रक्रियामा आफ्नो दल सहभागी हुन नहुने धारणा राखेका थिए । बैठकको अध्यक्षता गरिरहेका कमल थापाले भने कुनै पनि हालतमा संविधानसभा छोड्न नहुने भन्दै प्रक्रियामा सामेल हुनुपर्ने धारणा राखेका थिए । आफ्नो प्रस्तावमा बहुमत सदस्यले असहमति जनाएपछि थापाले झोक्किँदै ‘ल ठीक छ, प्रक्रियामा सहभागी नहुने निर्णय भयो, तर मचाहिँ नोट अफ डिसेन्ट लेख्छु’ भने । पार्टी अध्यक्षले नै नोट अफ डिसेन्ट लेख्नु उचित होइन भन्दै केही नेताहरूले सम्झाइबुझाइ गरेपछि कमल थापा ‘नोट अफ डिसेन्ट’ नलेख्न राजी भएका थिए र राप्रपा नेपाल प्रक्रियामा सामेल नहुने निर्णय सार्वजनिक गरिएको थियो । त्यसरी राप्रपा नेपाल बाहिरिने समाचार आएपछि प्रचण्डलगायत नेताहरू कमल थापालाई फकाउन लागिपरेका थिए । थापाको चरित्र र पृष्ठभूमिबारे राम्रो जानकारी राखेका नेताहरूले थापालाई संविधान बनिसकेपछि महत्वपूर्ण मन्त्रालयसहित नयाँ बन्ने सरकारमा सम्मानजनक सहभागिता गराउने आश्वासन दिए । दशकदेखि सत्तामा पुग्न नपाएका थापाले सत्तामा पु-याइने आश्वासन पाएपछि उनको मुख रसायो र रसाएकै मुख लिएर दुई दिनपछि कमल थापा पुनः संविधान निर्माणको प्रक्रियामा सहभागिता जनाउन पुगे ।
त्यसो त कमल थापाले विचार र सिद्धान्तको राजनीति गर्छन् भन्नेमा सुरुदेखि नै धेरैले शङ्का गरेका थिए । राजसंस्थाको पुनस्र्थापना र हिन्दूराष्ट्र हुनुपर्ने विचारलाई मूल सिद्धान्त बनाएका उनले उल्लिखित दुवै नारा आफ्नो राजनीति माथि उठाउन मात्र प्रयोग गरेका हुन् भन्ने शङ्का पनि धेरैले गरेका हुन् । नभन्दै कमलले बलियो राजनीतिक दल स्थापित गर्ने उद्देश्यले मात्र राजसंस्था र हिन्दूराष्ट्रको नारा दिएका हुन् भन्ने अन्ततः पुष्टि भएको छ । सत्तामा भाग दिने आश्वासन पाएपछि थापाले विचार र सिद्धान्त परित्याग गरेका छन् । संविधानमा ‘हिन्दूराष्ट्र’ मात्र उल्लेख गरिएको भए पनि कमल थापा एजेण्डाविहीन हुने थिए । राजनीतिक हैसियत जोगाउन ‘हिन्दूराष्ट्र’को एजेण्डा जीवित हुनुपर्ने र एजेण्डा जीवित हुन संविधानमा ‘हिन्दूराष्ट्र’ लेखिन नहुने भएकोले थापा धर्मनिरपेक्षतासहितको संविधान निर्माण गर्ने प्रक्रियामा सहभागी भएको ठानिएको छ । यस घटनाबाट मण्डले प्रवृत्तिका व्यक्ति सिद्धान्त र विचारको राजनीतिमा रमाउन सक्दैनन् भन्ने फेरि एकपटक पुष्टि भएको छ । पार्टीले आफ्नो विचारअनुरूपको व्यवहार गर्ने विश्वासमा रहेका राप्रपा नेपालका इमानदार नेता तथा कार्यकर्ताले अब के गर्ने हुन्, प्रतीक्षाको विषय बनेको छ ।

काङ्गे्रस नेतृत्वमै विपक्षीको सुराकी
राष्ट्रपति र प्रधानमन्त्रीबीचको गोप्य कुराहरू विपक्षी नेताहरूसम्म पु-याउने सुराकीको भूमिकामा काङ्गे्रस पार्टीकै जिम्मेवार नेता रहेको खुलासा भएको छ । आइतबार (भदौ २७ गते) बिहान प्रधानमन्त्री सुशील कोइरालाले बोलाएको शीर्ष नेताहरूको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्ड सहभागी हुन नगएपछि सुराकीको पहिचान खुलेको हो । प्राप्त जानकारीअनुसार शुक्रबार मधेसी मोर्चाका नेता महन्थ ठाकुरसँग संवाद भएपछि प्रधानमन्त्री कोइराला पाँच दिन प्रक्रिया रोक्न सहमत भएका थिए र यस सम्बन्धमा प्रधानमन्त्रीको राष्ट्रपतिसँग पनि कुराकानी भएको बताइन्छ । मधेसी मोर्चासँगको सहमतिलाई कार्यान्वयनमा ल्याउन ओली र प्रचण्डसँग पनि छलफल गर्नुपर्ने भएकोले आइतबार बिहान बालुवाटारमा शीर्ष नेताहरूको बैठक बोलाइएको थियो । तर, ओली र प्रचण्डले उक्त बैठक किन आयोजना गरिएको थियो भन्ने जानकारी पहिले नै पाएकोले उनीहरू बैठकमा सहभागी नभएको त्यसबेला थाहा भयो जब दुवै नेताहरूले प्रधानमन्त्री कोइरालालाई फोन गरे । फोनमा ओली र प्रचण्डले भनेका थिए, ‘तपाईंले यो बैठक किन राख्नुभएको हो भन्ने हामीले बुझिसकेका छौँ, अब एक दिन र एक घन्टा पनि प्रक्रिया रोकिँदैन, कुनै पनि हालतमा आज (आइतबार) देखि मतदान प्रक्रिया सुरु हुनुपर्छ । व्यर्थ छलफल गरेर अब समय खेर फालिँदैन । त्यसैले बैठकमा आइरहनु नपर्ने ठानेको छु ।’
यसरी प्रचण्ड र ओलीले टेलिफोन गरी बैठकमा नआउने जानकारी गराएपछि प्रधानमन्त्री कोइराला झस्किए र कसरी सूचना चुहियो भनेर बुझ्न थाले । यस क्रममा कोइरालाले अघिल्लो दिन ‘प्रक्रिया स्थगित गरेर संवाद गर्नुपर्ने भयो’ भनी महामन्त्री कृष्ण सिटौलासँग सेयर गरेको सम्झिनुभएको थियो । राष्ट्रपति डा. रामवरण यादव र कृष्ण सिटौलासँग मात्र ‘सेयर’ भएको कुरा राष्ट्रपतिले ओली र प्रचण्डसम्म पु-याएको हुनसक्ने प्रधानमन्त्रीले ठानेनन्, त्यसपछि सिटौलाले नै विपक्षी नेताहरूलाई सूचना दिएको विश्वास प्रधानमन्त्री कोइरालाले गरेका थिए । यसरी सिटौलाले आफ्नै नेताको कुरासमेत विपक्षी नेताहरूसम्म पु-याएर आफ्नो वफादारी अन्यत्र कतै भएको स्पष्ट गरेका छन् । यसअघि ०६२/६३ तिर पनि गुप्त सूचनाहरू प्रचण्डसम्म पुग्ने गरेबाट तात्कालिक प्रधानमन्त्री एवम् काङ्गे्रस सभापति गिरिजाप्रसाद कोइराला हैरान भएका थिए । त्यसबेला पनि कोइराला आफ्ना निकटवर्तीहरूसँग सिटौलाको भूमिकालाई लिएर गुनासो गर्ने गर्दथे ।
भदौ २४ गते बिहीबार भएको शीर्ष नेताहरूको बैठकमा पनि प्रधानमन्त्री कोइरालाले पाँच–सात दिन प्रक्रिया स्थगित गरेर भए पनि असन्तुष्ट पक्षसँग संवाद गर्नुपर्ने धारणा प्रकट गरेका थिए । कोइरालाको वाक्य पूरा हुन नपाउँदै कृष्ण सिटौला जङ्गिए, ‘कुनै हालतमा पाँच दिन प्रक्रिया रोकिन्न, बढीमा दुई दिन हो, तपाईं प्रधानमन्त्री र पार्टी सभापति हुनुहुन्छ, त्यसैले मैले तपाईंलाई मँन्नुपर्छ । तर, तपार्इं प्रक्रिया रोक्ने कुरा कसको स्वार्थका लागि गर्दै हुनुहुन्छ ? संविधान निर्माण प्रक्रिया रोक्नुपर्छ भन्नेहरूबाट तपाईं पनि प्रभावित हुन थाल्नुभयो कि के हो ? दुई दिनभन्दा बढी प्रक्रिया रोकिँदैन ।’ सिटौला कड्किएपछि सुशीलको बोली नै बन्द भएको थियो ।

नयाँ प्रधानसेनापतिको यस्तो छ योजना
भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न नेपाली सेनालाई पेसागत अनुशासनमार्फत अझ सङ्गठित, सुदृढ र सबल बनाउँदै राष्ट्रिय सुरक्षा तथा स्थिरताको पहरेदार संस्थाको रूपमा विकास गर्दै लगिने धारणा नवनियुक्त प्रधानसेनापति राजेन्द्र क्षत्रीले अघिसार्नुभएको छ । नेपाली सेनाको ४२औँ प्रधानसेनापतिको रूपमा गत साता पदभार ग्रहण गरेपछि मातहतका सबै दर्जालाई सम्बोधन गर्दै उहाँले सेनाले आन्तरिक रूपमा एकढिक्का रही कार्य गर्ने र व्यक्तिगत हितभन्दा संस्थागत हितलाई सर्वोपरि राखेर काम गर्नुपर्ने बताउनुभयो । सेनालाई राष्ट्रिय एकता, स्थिरता र राष्ट्रिय सुरक्षाको सशक्त संयन्त्र र पहरेदार संस्थाका रूपमा स्थापित गर्न जटिल परिस्थितिमा समेत दिगो ढङ्गले जनताको विश्वास जित्ने गरी काम गर्न सक्नुपर्नेमा जोड दिँदै प्रधानसेनापति क्षत्रीले सेनाको विद्यमान साङ्गठनिक संरचनामा देखिएका व्यावहारिक कठिनाइ तथा भूकम्पले सिर्जना गरेको परिस्थितिलगायतलाई ध्यानमा राखी अझ व्यावहारिक, समयानुकूल तथा समसामयिक सुधारका लागि पुनः सन्तुलनको आवश्यक योजना र प्रक्रिया पु-याई चाँडै लागू गरिने उल्लेख गर्नुभयो ।
राष्ट्रिय सुरक्षामा मिडियाको महत्वलाई ध्यानमा राखी नेपाली सेना र मिडियाबीचको सम्बन्धलाई राष्ट्रिय हित र संस्थागत हितमा टेवा पुग्ने ढङ्गले थप सुमधुर र सुदृढ बनाइने जनाउँदै प्रधानसेनापति क्षत्रीले अब जारी हुने संविधान नेपालमा राष्ट्रिय एकता, शान्ति, स्थिरता र समृद्धि ल्याउन कासेढुङ्गा साबित हुनेछ भन्नेमा नेपाली सेना विश्वस्त रहेको पनि बताउनुभयो । नयाँ संविधान निर्माणसँगै देशमा स्थायित्व कायम तथा राष्ट्रिय सुरक्षानीति निर्धारणपछि भावी सङ्घीय स्वरूपसहितलाई ध्यानमा राखी दीर्घकालीन योजनाअन्तर्गतको पुनर्संरचना गर्ने लक्ष्य रहेको उहाँको कथन थियो । उहाँले संयुक्त राष्ट्रसङ्घको तत्वावधानमा शान्ति स्थापना कार्यमा सेनाको सहभागितालाई सङ्ख्यात्मक अभिवृद्धि र गुणात्मक सुधार गरी नेपालको परराष्ट्र नीतिका लक्ष्य हासिल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सेनाको कल्याणकारी कोषमा हाल २८ अर्ब ११ करोड ८४ रूपैयाँ रहेको जानकारी गराउँदै कल्याणकारी कोषलाई मितव्ययी तरिकाले उपयोग गर्नुका साथै कल्याणकारी योजनातर्फ भएका खर्चको लेखाजोखा र पुनरावलोकनसहित अझ न्यायिक हुने गरी सन्तुलनमा ल्याइने, कोषको आयआर्जन गर्ने मुख्य उद्देश्य राखेर इन्जिनियरिङ कलेज खोल्न सम्भाव्यता अध्ययन थालिने तथा आत्मनिर्भर भई सञ्चालन हुने र मुनाफासमेत हुने देखिएमा कलेज खोल्नेतर्फ आवश्यक प्रक्रिया थालिने कार्यनीति उहाँले उजागर गर्नुभयो ।
०३५ सालमा सैनिक सेवामा प्रवेश गर्नुभएका प्रधानसेनापति राजेन्द्र क्षत्री तनहुँको चिसापानी दूधेकुनामा जन्मनुभएको हो । विद्यालयस्तरको पढाइ काठमाडौंको शान्ति विद्या गृहबाट पूरा गर्नुभएका क्षत्रीले त्रिविबाट इतिहास र अमेरिकाको आर्मी वार कलेजबाट स्ट्राटेजिक स्टडिजमा स्नातकोत्तर पूरा गर्नुभएको छ । अमेरिकाको फोर्ट लेवनवर्थ, क्यान्ससबाट कमान्ड एन्ड जनरल स्टाफ कलेज तालिम लिनुभएका क्षत्रीले सन् २०१० मा अमेरिकाकै युनाइटेड स्टेट्स आर्मी वार कलेज कार्लाइल, पेन्सलभानियाबाट आर्मी वार कलेज गर्नुभएको थियो ।
सैनिक जीवनको सुरुका वर्षमा भारत, पाकिस्तान र चीनबाट फिल्ड आर्टिलरी तथा एयर डिफेन्स आर्टिलरीसम्बन्धी तालिम लिनुका साथै पाकिस्तानको स्कुल अफ आर्मी एयर डिफेन्सबाट युनिट कमान्डर कोर्स र भारतको डिफेन्स इन्स्टिच्युट अफ साइकोलोजिकल रिसर्चबाट साइकोलोजिकल टस्टिङ अफिसर कोर्ससमेत उहाँले गर्नुभएको छ । कमान्डतर्फ तत्कालीन नं. ४ हवाई सुरक्षा ब्याट्री, जगदल गण, नं. ७ पदिक बाहिनी, नं. ३ पदिक बाहिनी र मध्य पृतनाको कमान्ड सम्हाल्नुभएका राजेन्द्र क्षत्रीले बाहिनी सेनानी र द्वन्द्वकालमा मध्यपृतना मुख्यालयको सहायक चिफ अफ स्टाफ तथा जंगी अड्डा तहमा अनुसन्धान र विस्तार निर्देशनालय, निरीक्षणाधिकृत विभाग, युद्धकार्य निर्देशनालय र सैनिक सचिव विभागमा वरिष्ठ स्टाफ अधिकृतको हैसियतमा कार्य गर्नुभएको थियो ।
नेपालको सैनिक शिक्षालयबाट आयुक्त पद प्राप्त गरी प्रधानसेनापति पदमा नियुक्त हुने क्षत्री पहिलो व्यक्ति हुन् ।

नयाँ प्रधानसेनापतिको यस्तो छ योजना
भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न नेपाली सेनालाई पेसागत अनुशासनमार्फत अझ सङ्गठित, सुदृढ र सबल बनाउँदै राष्ट्रिय सुरक्षा तथा स्थिरताको पहरेदार संस्थाको रूपमा विकास गर्दै लगिने धारणा प्रधानसेनापति राजेन्द्र क्षत्रीले अघिसार्नुभएको छ । नेपाली सेनाको ४२औँ प्रधानसेनापतिको रूपमा गत साता पदभार ग्रहण गरेपछि मातहतका सबै दर्जालाई सम्बोधन गर्दै उहाँले सेनाले आन्तरिक रूपमा एकढिक्का रही कार्य गर्ने र व्यक्तिगत हितभन्दा संस्थागत हितलाई सर्वोपरि राखेर काम गर्नुपर्ने बताउनुभयो । सेनालाई राष्ट्रिय एकता, स्थिरता र राष्ट्रिय सुरक्षाको सशक्त संयन्त्र र पहरेदार संस्थाका रूपमा स्थापित गर्न जटिल परिस्थितिमा समेत दिगो ढङ्गले जनताको विश्वास जित्ने गरी काम गर्न सक्नुपर्नेमा जोड दिँदै नवनियुक्त प्रधानसेनापति क्षत्रीले सेनाको विद्यमान साङ्गठनिक संरचनामा देखिएका व्यावहारिक कठिनाइ तथा भूकम्पले सिर्जना गरेको परिस्थितिलगायतलाई ध्यानमा राखी अझ व्यावहारिक, समयानुकूल तथा समसामयिक सुधारका लागि पुनः सन्तुलनको आवश्यक योजना र प्रक्रिया पु-याई चाँडै लागू गरिने उल्लेख गर्नुभयो ।
राष्ट्रिय सुरक्षामा मिडियाको महत्वलाई ध्यानमा राखी नेपाली सेना र मिडियाबीचको सम्बन्धलाई राष्ट्रिय हित र संस्थागत हितमा टेवा पुग्ने ढङ्गले थप सुमधुर र सुदृढ बनाइने जनाउँदै प्रधानसेनापति क्षत्रीले अब जारी हुने संविधान नेपालमा राष्ट्रिय एकता, शान्ति, स्थिरता र समृद्धि ल्याउन कासेढुङ्गा साबित हुनेछ भन्नेमा नेपाली सेना विश्वस्त रहेको पनि बताउनुभयो । नयाँ संविधान निर्माणसँगै देशमा स्थायित्व कायम तथा राष्ट्रिय सुरक्षानीति निर्धारणपछि भावी सङ्घीय स्वरूपसहितलाई ध्यानमा राखी दीर्घकालीन योजनाअन्तर्गतको पुनर्संरचना गर्ने लक्ष्य रहेको उहाँको कथन थियो । उहाँले संयुक्त राष्ट्रसङ्घको तत्वावधानमा शान्ति स्थापना कार्यमा सेनाको सहभागितालाई सङ्ख्यात्मक अभिवृद्धि र गुणात्मक सुधार गरी नेपालको परराष्ट्र नीतिका लक्ष्य हासिल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सेनाको कल्याणकारी कोषमा हाल २८ अर्ब ११ करोड ८४ रुपैयाँ रहेको जानकारी गराउँदै कल्याणकारी कोषलाई मितव्ययी तरिकाले उपयोग गर्नुका साथै कल्याणकारी योजनातर्फ भएका खर्चको लेखाजोखा र पुनरावलोकनसहित अझ न्यायिक हुने गरी सन्तुलनमा ल्याइने, कोषको आयआर्जन गर्ने मुख्य उद्देश्य राखेर इन्जिनियरिङ कलेज खोल्न सम्भाव्यता अध्ययन थालिने तथा आत्मनिर्भर भई सञ्चालन हुने र मुनाफासमेत हुने देखिएमा कलेज खोल्नेतर्फ आवश्यक प्रक्रिया थालिने कार्यनीति उहाँले उजागर गर्नुभयो ।
०३५ सालमा सैनिक सेवामा प्रवेश गर्नुभएका प्रधानसेनापति राजेन्द्र क्षत्री तनहुँको चिसापानी दूधेकुनामा जन्मनुभएको हो । विद्यालयस्तरको पढाइ काठमाडौंको शान्ति विद्या गृहबाट पूरा गर्नुभएका क्षत्रीले त्रिविबाट इतिहास र अमेरिकाको आर्मी वार कलेजबाट स्ट्राटेजिक स्टडिजमा स्नातकोत्तर पूरा गर्नुभएको छ । अमेरिकाको फोर्ट लेवनवर्थ, क्यान्ससबाट कमान्ड एन्ड जनरल स्टाफ कलेज तालिम लिनुभएका क्षत्रीले सन् २०१० मा अमेरिकाकै युनाइटेड स्टेट्स आर्मी वार कलेज कार्लाइल, पेन्सलभानियाबाट आर्मी वार कलेज गर्नुभएको थियो ।
सैनिक जीवनको सुरुका वर्षमा भारत, पाकिस्तान र चीनबाट फिल्ड आर्टिलरी तथा एयर डिफेन्स आर्टिलरीसम्बन्धी तालिम लिनुका साथै पाकिस्तानको स्कुल अफ आर्मी एयर डिफेन्सबाट युनिट कमान्डर कोर्स र भारतको डिफेन्स इन्स्टिच्युट अफ साइकोलोजिकल रिसर्चबाट साइकोलोजिकल टस्टिङ अफिसर कोर्ससमेत उहाँले गर्नुभएको छ । कमान्डतर्फ तत्कालीन नं. ४ हवाई सुरक्षा ब्याट्री, जगदल गण, नं. ७ पदिक बाहिनी, नं. ३ पदिक बाहिनी र मध्य पृतनाको कमान्ड सम्हाल्नुभएका राजेन्द्र क्षत्रीले बाहिनी सेनानी र द्वन्द्वकालमा मध्यपृतना मुख्यालयको सहायक चिफ अफ स्टाफ तथा जंगी अड्डा तहमा अनुसन्धान र विस्तार निर्देशनालय, निरीक्षणाधिकृत विभाग, युद्धकार्य निर्देशनालय र सैनिक सचिव विभागमा वरिष्ठ स्टाफ अधिकृतको हैसियतमा कार्य गर्नुभएको थियो ।
नेपालको सैनिक शिक्षालयबाट आयुक्त पद प्राप्त गरी प्रधानसेनापति पदमा नियुक्त हुने क्षत्री पहिलो व्यक्ति हुन् ।

‘परिचालन नभएको’ सेनाको प्रस्टोक्ति
‘दङ्गाग्रस्त क्षेत्रबाट सेना फर्कने’ भन्दै केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको नेपाली सेनाले जनाएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले मङ्गलबार एक विज्ञप्ति प्रकाशित गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा २ र दफा ६ (ख) बमोजिम मुलुकका केही स्थानमा शान्ति सु–व्यवस्था कायम गर्न स्थानीय प्रशासनको लिखित अनुरोधमा नेपाली सेना खटिएको प्रस्ट्याउँदै यसलाई सेना परिचालन भएको भन्ने अर्थमा नलिई स्थानीय प्रशासनलाई सहयोग गर्ने कार्यको रूपमा मात्र बुझिदिन आग्रह गरिएको छ । यसैगरी, प्रधानसेनापति र नेपालका लागि भारतीय राजदूत रणजित रायबीच भदौ २५ गते भएको भेटवार्ताका क्रममा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयहरूमा मात्र छलफल भएको र उक्त भेटका क्रममा अन्य कुनै पनि बिषयमा छलफल नभएको पनि सेनाले जनाएको छ ।
नेपाली सेना दङ्गाग्रस्त क्षेत्रमा स्थानीय प्रशासनको सहयोगको निमित्त खटिने अवस्थामा स्थानीय प्रशासन ऐन २०२८ को परिधिभित्र रही आमनागरिकको जीउधन, सार्वजनिक एवम् सरकारी सम्पत्तिको सुरक्षाका साथै सामाजिक सद्भाव कायम राख्न निष्पक्ष, विश्वसनीय एवम् पेशेवर ढङ्गले कार्य गर्न प्रतिबद्ध रहेको र आफ्नो जिम्मेवारी पुरा हुनासाथ व्यारेक फर्कने पनि उक्त विज्ञप्तिमार्फत् सेनाले विश्वास दिलाएको छ ।

ऐतिहासिक स्थल संरक्षण गर्न भारत र अमेरिकाको सहयोग
वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेका ललितपुर तथा काठमाडौंका ऐतिहासिक स्थलको संरचनागत मूल्याङ्कन, स्थिरीकरण र पुनर्निर्माण कार्यमा सघाउन नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लू बोडीले तीन लाख बीस हजार अमेरिकी डलर (करिब रु. तीन करोड २० लाख) रकमको ‘एम्बेसेडर्स फन्ड फर कल्चरल प्रिजर्भेसन’ अनुदान प्रदान गर्नुभएको छ । नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहनुभएका राजदूत बोडीले गत शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमबीच दुई दशकभन्दा लामो समयदेखि अमेरिकी दूतावासले नेपालको प्राकृतिक विपत्को प्रभावलाई न्यून गर्ने प्रयत्नलाई सघाउँदै आइरहेको उल्लेख गर्दै काठमाडौं दरबार र पाटन दरबार क्षेत्रका पुनर्निर्माणसम्बन्धी पहलकदमीले विश्वकै सर्वाधिक महत्वपूर्ण केही ऐतिहासिक सहरीस्थलको संरक्षणमा मद्दत पु-याउने विश्वास व्यक्त गर्नुभयो । अमेरिकी दूतावासबाट प्रदान गरिएको सो सहयोग रकम काठमाडौं उपत्यका संरक्षण कोषलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा अमेरिकी विदेश मन्त्रालयको एम्बेसेडर्स फन्ड फर कल्चरल प्रिजर्भेसन कार्यक्रम निर्देशक मार्टिन पेस्लरले नेपालका सांस्कृतिक सम्पदाको पुनरोत्थानसम्बन्धी प्राथमिकता तथा लक्ष्यलाई सम्मान गर्दै सहयोग गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्मरणीय छ, सन् २००३ यता नेपालको सांस्कृतिक सम्पदाको जगेर्नाका लागि एम्बेसेडर्स फन्ड फर कल्चरल प्रिजर्भेसनले २२ लाख अमेरिकी डलर लगानी गरिसकेको छ ।
यसैबीच, वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट प्राचीन नगरी ललितपुरमा भएको क्षतिप्रति नेपालका लागि भारतीय राजदूत रणजित रायले दुःख व्यक्त गर्नुभएको छ । ‘ललितपुर विकासका लागि समाज’ नामक संस्थाको नवौँ वार्षिक साधारणसभालाई गत शनिबार सम्बोधन गर्दै राजदूत रायले ललितपुरको ऐतिहासिक स्थल खोकना र बुङ्मतीमा रहेका सम्पदा पुनर्निर्माणमा सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो । भूकम्पबाट ऐतिहासिक स्थलमा पुगेको क्षतिप्रति दुःख प्रकट गर्दै विश्व सम्पदामा रहेका संस्कृति र सम्पदा जोगाइराख्न भारत सरकारका तर्फबाट आवश्यक सहयोग हुने उहाँको भनाइ थियो । भारत सरकारबाट हुने सहयोगबारे जानकारी दिने क्रममै रजदूत रायले ‘आफ्नो संस्कृति र सम्पदा बचाउने दायित्व सम्बन्धित देशकै हुने’ सुझाव दिँदै यस कार्यमा भारत सरकारले आर्थिक सहयोग मात्र गर्ने प्रस्टोक्ति पनि दिनुभयो । राष्ट्रिय योजना आयोगका उपाध्याक्ष प्रा.डा. गोविन्दराज पोखरेलसमेतको उपस्थिति रहेको सो कार्यक्रममा ‘ललितपुर विकासका लागि समाज’का अध्यक्ष बुद्धिराज बज्राचार्यद्वारा ललितपुर विकासका लागि सो संस्थाबाट आवश्यक पहल भइरहेको जानकारी दिइएको थियो ।

बीपीको जीवनबाट पाठ सिक्न सुझाव
महामानव विश्वेश्वरप्रसाद कोइरालाको १०१औँ जन्मजयन्तीको अवसरमा नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ रावा बैंक केन्द्रीय समितिद्वारा ‘नेपालको वर्तमान राजनीतिमा बीपी विचारको सान्दर्भिकता’ विषयक विचारगोष्ठीको आयोजना गरियो । कार्यक्रममा विशेष अतिथिको रूपमा सहभागी भएका वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले चिन्तक, अभियन्ता, साहित्यकार, राजनीतिज्ञलगायत बहुआयामिक व्यक्तित्वका धनी बीपी यस युगकै मार्गदर्शक रहेको बताउँदै उहाँको साहित्यिक विधामा मानवीय मूल्य र राजनीतिक विधामा मानव स्वतन्त्रता, समृद्धि र समतामूलक समाज मुखरित भएको उल्लेख गरे । मन्त्री आचार्यले युद्धको निरर्थकताबाट भित्रैदेखि प्रभावित बीपीको राष्ट्रिय मेलमिलाप नीति अद्यापि उत्तिकै सान्दर्भिक रहेको बताए ।
सो अवसरमा राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष डा. रेवतबहादुर कार्कीले देशले केही वर्षयता अवलम्बन गरेको आर्थिक उदारीकरणबाट राष्ट्रिय अर्थतन्त्र आत्मनिर्भरतातर्फ उन्मुख भएको दाबी गरे भने राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले राष्ट्रको उन्नयनको निम्ति आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने तर्क गरे ।
कार्यक्रममा साहित्यकार डा. तुलसी भट्टराई, संविधानसभाका सदस्य एवम् काङ्ग्रेस नेता चन्द्र भण्डारी गगन थापा, प्रदीप पौडेल, बहादुरसिंह लामा, रामहरि खतिवडा, नेपाल ट्रेड युनियन काङ्ग्रेसका केन्द्रीय अध्यक्ष खिलानाथ दाहाललगायत वक्ताले बीपीको बहुआयामिक व्यक्तित्व तथा बीपी आदर्श एवम् सिद्धान्तबाट वर्तमान पुस्ताले सिक्नुपर्ने पाठबारे मन्तव्य दिएका थिए । सो अवसरमा बीपीको राजनीतिक–साहित्यिक व्यक्तित्व समाजमा ल्याउन लामो अवधियता सक्रिय रहेका साहित्यकार डा. तुलसी भट्टराई र गत वर्षको एसएलसी परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने रावा बंैक कर्मचारीका छोराछोरीलाई नगद राशिसहित सम्मानित गरिएको थियो । आयोजक सङ्घका केन्द्रीय अध्यक्ष जितेन्द्रसिंह थापाको सभापतित्वमा आयोजित गोष्ठीको सञ्चालन महासचिव माधवदत्त पन्तले गरेका थिए भने वरिष्ठ उपाध्यक्ष दिनेशविक्रम थापाको स्वागत मन्तव्यबाट आरम्भ भएको सो समारोहमा रावा बैंकका वरिष्ठ प्रबन्धक मुकुन्द अर्यालले बीपी वाणी शीर्षकको कविता वाचन गरेका थिए ।

पासवानमाथि यस्तो आरोप !
अनेक उद्दण्ड हर्कत र नौटङ्की गरेर चर्चामा रहिरहन मनपराउने बहुजन पार्टीका अध्यक्ष एवम् सभासद् विश्वेन्द्र पासवानले फेरि अर्को नौटङ्की गरेका छन् । पासवानले संविधानसभा भवननजिकै बानेश्वरस्थित एभरेष्ट होटलअगाडि सडक–पेटीमा, विगत ६ दिनदेखि सरकारसमक्ष दलितहरूका तर्फबाट विभिन्न माग राख्दै आमरण–अनशन बसेका छन् । तर, आश्चर्यको कुरा के छ भने उनले आफ्ना एक परियार थरका विश्वासपात्र सहयोगीमार्फत भीमसेनगोलास्थित एकजना दलितको होटलबाट मासु र भात मगाएर राति सबै सुतिसकेपछि खाने गरेको उनकै अर्का निकटतम् सहयोगीले बताएका छन् । मध्यरातपछि प्रहरीहरू पनि पाखा लाग्ने, अनि सहयोगीहरूको पनि आँखालाग्ने मौका मिलाएर पासवानले खाना खाने गरेको सूत्रको दाबी छ ।
३–४ घन्टामा केही न केही नखाए ढलिहाल्ने रोगले ग्रस्त पासवानले प्राण पनि नखुस्कोस्, माग पनि पूरा होस् भन्ने अभीष्टले यसो गरेको स्रोतको दाबी छ । यो रहस्यबारे गाइँगुइँ चलेपछि दलित आन्दोलनमा संलग्न काङ्ग्रेस, एमाले र एमाआवादीका दलित कार्यकर्ताहरूले पासवानलाई, धोकेबाज करार दिँदै साथ–समर्थन दिन छोडिसकेका छन् भने उनकै कार्यकर्ताले पनि यो रहस्यबारे सुइँको पाएपछि ‘यो फटाहा मर्दैन, यसबाट अब दलित आन्दोलन तुहिने भयो’ भन्दै धारेहात लगाएर आ–आफ्नो बाटो लागेका छन् ।
स्मरण रहोस्, नौटङ्की गर्न माहिर पासवानले ०६७ जेठ १५ गते बिहान पहिलो संविधानसभाबाट २ वर्षभित्र संविधान जारी नभएपछि सभासद्को हैसियतले पाउने तलब–भत्ता फिर्ता गर्ने घोषणा गरी अनावश्यक चर्चा बटुलेका थिए । तर, उनले अहिलेसम्म एक रुपैयाँ पनि फिर्ता गरेका छैनन् । ज्ञातव्य छ, काङ्ग्रेस सभासद् गगन थापाले तलब–भत्ता फिर्ता गरे पनि प्रचार गर्न चाहेका थिएनन् ।
त्यसैगरी, आफ्नी छोरीले आफूभन्दा सानो जातको केटासँग प्रेमविवाह गरी भागेर जाँदा पनि पासवानले आफ्नो इज्जत फालिदिएको भन्दै ज्वाइँलाई गोली ठोकेर मार्ने उर्दी जारी गरेका थिए । तर, सदनमा छोरीको अपहरण भएको र सरकारले तुरुन्तै खोजिदिनुप-यो भनी झुट बोलेर होहल्ला मच्चाउन पासवान हिच्किचाएका थिएनन् ।
त्यस्तै, पासवानले प्रतिगमनकारी शक्तिको पैसा खाएर पहिलो संविधानसभालाई धेरै दिनसम्म अवरुद्ध गरेको आरोप पनि लाग्दै आएको छ । उनको छद्मभेषी र धोकेबाज चरित्रका कारण त्यतिबेला साथ दिने साथीहरूले यसपटक भने साथ दिएका छैनन् । मन्त्री हुन पाइन्छ कि भनेर जुनसुकै मोर्चामा पनि छिरिहाल्ने पासवानले कसैले मन्त्री नबनाइदिएपछि चर्चामा आउन पछिल्लोपटक आमरण अनशनको नौटङ्की गरेका हुन् ।
यसैबीच प्रधानमन्त्री सुशील कोइरालाले विश्वेन्द्र पासवानलाई पत्र लेखी अनसन तोड्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले सभासद् पासवानलाई पठाएको पत्रमा ‘तपाईंको माग अहिलेको संविधानमा पूरा भइसकेको छ, अरू कुरा पछि पनि मिलाउन सकिन्छ…’ भन्दै आमरण अनशन फिर्ता लिन आग्रह गरिएको छ ।

सिमिकोटमा सीमा वार्ता सम्पन्न
हुम्लाको सिमिकोटमा नेपाल–चीनबीच सीमा वार्ता सम्पन्न भएको छ । वार्तामा सीमाबाट हुने अवैध गतिविधि रोक्ने, पशु चरणसम्बन्धी समस्या, हिन्दू तथा बौद्ध धर्मावलीहरूको पवित्र तीर्थस्थल कैलाश मावरोवरको दर्शन, पुरान काउन्टीका लगानीकर्ता जिल्लाका आकर्षित गर्ने, हुम्लाको उत्तरी क्षेत्र हिल्सामा चीनबाट विद्युत् विस्तारलगायत ११ वटा विषयमा छलफल भएको र यसप्रति चिनियाँ पक्ष सकारात्मक भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण घिमिरेलाई उद्धृत गर्दै राससले जनाएको छ । वार्तामा नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी घिमिरेको नेतृत्वमा स्थानीय विकास अधिकारी रवि भट्टराई, प्रहरी नायब उपरीक्षक त्रिलोकबहादुर चन्द, सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज न्यौपाने, राष्ट्रिय अनुसन्धानका होमराज रेग्मी सहभागी थिए भने चिनियाँ पक्षबाट पुरान काउन्टीका सेक्रेटरी गाओ बोगाउको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली सिमिकोट पुगेको थियो । यसअघि चीनमा मात्र हुँदै आएको र तीन वर्षदेखि आयोजना हुन नसकेको उक्त वार्ता नेपालमा पहिलोपटक भएको बताइएको छ ।

करोडौँको ‘सी’ माला लुट्ने समूह पक्राउ
बौद्ध सम्प्रदायबीच महिमामय ‘सी’ माला दुई करोडमा हत्याएर १६ करोडमा बिक्री गर्ने रमाइलो सपनामा तैरिरहेका भक्तपुर बागेश्वरीका उपेन्द्र लामिछानेको उक्त सपना त तुहियो नै, रातारात करोडौँ कमाउने लोभमा फस्दा झन्डै उनले ज्यानसमेत गुमाएका ! बहुमूल्य वस्तुको अवैध धन्दामा संलग्न लामिछानेबाट ‘सी’ माला लुटेर भाग्ने क्रममा पाँच विदेशी लुटेरा मकवानपुरको भिमफेदीबाट पक्राउ परेका छन् । गत शुक्रबार जोरपाटीको बौद्ध स्तुपानजिक रहेको होटल छोर्तेनमा ‘सी’ माला बिक्रीसम्बन्धी छलफल गर्न पुगेका लामिछानेको हातखुट्टा बाँधेर १५ थान ‘सी’माला लुटपाट गरी फरार रहेका व्यक्तिहरू भाग्ने क्रममै मकवानपुरको भिमफेदीमा प्रहरीको फन्दामा परेका हुन् । लामिछानेलाई करोडौँको लोभ देखाएर होटलमा बोलाएपछि अभियुक्तहरूले उनलाई बन्धक बनाएका थिए । घटनाबारे सूचना मिलेलगत्तै महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौंबाट पछ्याउँदै गई इप्रका भिमफेदीको सहयोगमा पाँच लुटेरालाई भिमफेदीबाट गत २५ गते नै पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तहरूमा भुटान फुन्छोलिङका डी दोर्जे लामा, भुटान घर भई हाल भारत पश्चिमबंगाल जयगाउँ बस्ने छिरिङ लामा, भारत सिलगुडी रम्पासरीका असित सैवो, सिलगुडी सालुवडाका नहिर अली र सिलगुडीकै सरोज गुरुङ रहेका छन् । निजहरू सबैलाई बरामद दसीसहित आवश्यक कारबाहीका लागि महानरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
लुटेराहरूको साथबाट ‘सी’ माला २४ र सय दरका पाँच सय ६७ थान नक्कली अमेरिकन डलरसमेत बरामद भएको प्रहरीले जनाएको छ । उक्त १५ थान माला बेचबिखन गर्न बौद्धमा कपडा व्यापार गरी बस्ने नरेश अग्रवाल नामक व्यक्तिले उपेन्द्रलाई दिएको खुलासा भएको छ । प्रहरी अनुसन्धानबाट खुलेअनुसार डी दोर्जेलगायतका भुटानी र तीन भारतीय ‘सी’ माला लुट्ने योजनाअन्तर्गत नै भुटान र भारतदेखि नेपाल आएका हुन् । डी दोर्जे लामाले त पटक–पटक नेपालमा आई अवैध सामानको ओसारपसार गर्ने गरेको खुलेको छ । यस्तै, थिम्पुनिवासी अतिसा बटियाले ‘सी’ माला खरिद गर्नका लागि डी दोर्जे लामालाई नक्कली अमेरिकन डलर ५६ हजार सात सय दिएर भक्तपुर बागेश्वरी बस्ने उपेन्द्र लामिछानेलाई भेट गरी सामान ल्याउन काठमाडौं पठाएको बताइन्छ ।
भदौ १९ गते ‘सी’ माला ल्याउने योजनाअनुसार डी दोर्जे काठमाडौं आई बौद्धस्थित बौद्ध छोर्तेन होटलमा बसेका थिए भने आतिस बोटियाले डी दोर्जेको पिछा र ‘सी’ मालाको सुरक्षा गर्न सोही दिन छिरिङ लामा, सरोज गुरुङ, नहिर अली र असित सैबोसमेतलाई काठमाडौं पठाएकोमा निजहरू काठमाडौं आई दुई दिन बौद्धस्थित बौद्धनाथ होटेलमा बास बसी त्यसपछि डी दोर्जे लामा बसेको होटेल बौद्ध छोर्तेनमा गई तीन दिन गुजारेका थिए । लुटिएको ‘सी’ माला कथित कपडा व्यवसायी अग्रवालले विभिन्न ठाउँबाट खरिद गरी सञ्चय गरेको अनुसन्धानमा खुलेको छ । अग्रवालले १५ वटा मालाको दुई करोड मूल्य तोकी बिक्रीका लागि उपेन्द्र लामिछानेलाई जिम्मा दिएको र उपेन्द्रले उक्त माला डी दोर्जेलाई १६ करोडमा बिक्री गर्न डिल गरेका थिए । अझै नौ थान ‘सी’ माला डी दोर्जेले आफूसँग रहेको प्रहरीलाई बताएको छ ।
प्रहरी सूत्रका अनुसार नरेश अग्रवालले एक वर्षअगाडि उपेन्द्र लामिछानेमार्फत बौद्ध बस्ने रिमझिम लामालाई एउटा ‘सी’ माला ५७ लाखमा बिक्री गरेका थिए । यो काम गरेबापत डी दोर्जेलाई १० लाख, छिरिङ लामालगायत चारजनालाई तीन–तीन लाख दिन्छु भनी आतिस बोटियाले आश्वासन दिएका थिए । उपेन्द्र लामिछानेले नरेश अग्रवाललाई बौद्ध छोर्तेन होटेलको कोठा नं. २१६ मा बोलाई ‘सी’ माला बिक्री गरेबापतको रकम (अमेरिकन डलर) नरेश अग्रवाललाई दिन लागेकोमा उक्त डलर नक्कली भएको र लुटिएको खबर प्रहरीमा आएको थियो । लुटिएको खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाको टोली तत्काल परिचालन भई अभियुक्तहरूको हुलियासमेत अन्य जिल्लामा परिपत्र गरी समन्वय गरेको र सोही क्रममा इप्रका भिमफेदीको सहयोगमा भाग्दै गरेका अभियुक्त एवम् लुटी लगेको सामान महाशाखाको टोलीले भिमफेदीबाट बरामद गरी ल्याएको हो ।
‘सी’ मालाको खरिद स्रोतको सम्बन्धमा अनुसन्धान जारी रहेकोे र पुरातत्व विभागसँग समेत समन्वय भइरहेको र नक्कली अमेरिकन डलरको सम्बन्धमा प्रारम्भिक परीक्षण गर्न नेपाल राष्ट्र बैंकमा पठाइएको प्रहरीले जनाएको छ ।