गाउँपालिकाका अध्यक्षमाथि आक्रमण गर्ने चार पक्राउ

गाउँपालिकाका अध्यक्षमाथि आक्रमण गर्ने चार पक्राउ


बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात गरेको आरोपमा प्रहरीले गए राति चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पञ्चेश्वर–६ का ३२ वर्षीय वीरेन्द्र भण्डारी, सोही ठाउँका ५५ वर्षीय बलदेव भण्डारी, ३४ वर्षीय रमेशराम लुहार र ४९ वर्षीय हिक्मत भण्डारी रहेका छन् ।

उनीहरूलाई गए राति हातपात भएको ठाउँनजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरले जानकारी दिए । मंगलबार रोडीदेवलदेखि गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकका विषयमा छलफल गरेर फर्किंदै गर्दा पाँच–छ जनाको समूहले आफूमाथि आक्रमण गरेको अध्यक्ष चन्दले बताए ।

सडकको विषयमा छलफल गरेर वडा नं. ४ का अध्यक्षसँगै फर्किरहेको बेला मंगलबार अपराह्न ४ः३० बजेतिर एक्कासि अध्यक्ष चन्दमाथि हातपात भएको जनाइएको छ । सडकको विषयमा विवाद हँुदा अध्यक्ष चन्दमाथि हातपात भएको बताइएको छ । अध्यक्ष चन्दले भने सडकका विषयमा कुनै विवाद नरहेको जिकिर गरेका छन् ।

अध्यक्षसँगै रहेका वडाध्यक्ष राजबहादुर चन्दका अनुसार सडकको छलफल सकेर कुलाउँ फर्कने क्रममा बीचजंगलको बाटोमा अध्यक्ष चन्दमाथि हातपात भएको हो । घटनाको थप अनुसन्धान भइरहेको र घटनाका विषयमा बुधबार दुवै पक्षबीच छलफल हुने बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए । उनले भने, ‘अहिले नै के–कति कारणले घटना भयो भनेर भन्न सकिने अवस्था छैन, दुवै पक्षको छलफलपछि सबै कुरा थाहा हुन्छ ।’