नयाँ वर्षको अर्को अवतार

नयाँ वर्षको अर्को अवतार


  • मीरा पाण्डे

हिजोको वर्षमा रमाएको यो मन
कलिला कल्पनासँगै साँचेका सुमधुर सपनाहरू
भत्केका संरचनाको पुनःनिर्माण
सललल ती काला पिच बाटा
तुइनको ठाउँमा झोलुङ्गे पुल
जताततै समृद्धि अनि विकास
सबैको मुहारमा मुस्कान

तर उफ् !
तिमीलार्ई आत्मसात गर्दा भोगेका विपनाहरू
हिजो मात्रै पल्लाघरे साइँलोलार्ई
बाकसभित्र बन्द भई आएको देख्दा
तिमीले देखाएको रोजगारीको सपना
बिचबाटोमै भ्वाङ परेको देख्दा
आज बिहान मात्रै तल्लाघरे काकालार्ई दमले च्याप्दा
त्यो धुवाँ–धुलोरहितको शहर मिथ्या भएको थाहा पाएँ
लजाउँदै तिम्रा बाहुमा समाहित हुँदा
आँखामा समाहित सुन्दर सपनाप्रति साँच्चिकै विश्वास थियो
तिम्रा मिठा–मिठा भाषणमा लोभिएको यो मन
तिम्रो बहिर्गमनसँग मात्र कल्पनामा सीमित हुँदा
अझ एउटा बलात्कारीमाथिको तिम्रो दयाले
मेलम्चीको पानीको रोमाञ्चक झूटले
साँच्चै भन्नु पर्दा मेरो छनोटमा लज्जित म !

आफैंमा सशंकित तिम्रो पुरुषत्वमाथि
गतवर्षको आक्रामक त्राशले
मरिसकेको प्रेतजस्तो आशले
कँपकँपाइरहेछ यो मन मुटु
लकपकाइरहेछ यो हात
तिमीलार्ई चुम्न लालायित हुने ओठहरू
तर थरथराएका छन् यी यो वर्षलार्ई चुम्न
कसरी गरुँ तिमीलार्ई अंकमाल
तिमीले पनि कतै गतवर्षले जस्तै
सपना मात्र देखाउने पो हौ कि ?
रङ्गीन सपनामा लुटपुटाएर
मेरो अस्तित्वको सत्यानाश गर्ने पो हौ कि ?
क्रिमपाउडरको लोभ देखाएर
मेरो प्राकृतिक सौन्दर्यको विनास पो गराउँछौ कि ?
बिन्ती अब सपनामा बाँच्नु छैन मलार्ई !

त्यसैले हे सुकुमार नयाँ वर्ष !
तिमी मेरो सुन्दर विपना बनेर आइदेऊ
दुर्योधन र दुशासनबिचको द्रौपदी भए म
तिमी कृष्ण बनेर मेरो लाज बचाइदेऊ
घाउहरुले चहराइरहेको यो छातीमा
अमन चयनको मल्हम लगाइदेउ
प्यासी यो आँतमा
विकासको छहरा बगाइदेऊ
आग्रह फेरि पनि तिमीलार्ई
मेरो देशको सुनौलो पाइला
तिम्रै गोडामा छ
नत्र तिम्रो नाउँको सिन्दुरभन्दा
हातका चुरा फुटाउन खुसी हुनेछ यो मन !!