लगानी सम्मेलन आशामै सीमित बन्नेछ

लगानी सम्मेलन आशामै सीमित बन्नेछ


अर्घाखाँची जिल्लामा रहेका स्थानीय तहमध्ये सन्धिखर्क नगरपालिकाबाहेकका स्थानीय तहहरू मुलुक सङ्घीयतामा गएसँगै स्थापित भएका हुन् । यसरी स्थापना भएका स्थानीय तहमध्ये भूमिकास्थान नगरपालिकाले सबैभन्दा पहिला आफनो भवन सम्पन्न गरी सेवा दिँदै आएको छ । तत्कालीन नेकपा माओवादी केन्द्रबाट विजयी भूमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापासँग मुक्तिनाथ भुसालले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

० मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा परिणत भएपछि तपाईं नगरपालिकाको मेयर बन्नुभएको छ, कस्तो महसुस गर्दै हुनुहुन्छ ?
– नेपालको संविधान २०७२ पछि नेपाल सङ्घीयतामा परिणत भएको र सङ्घ, प्रदेश तथा स्थानीय सरकार मुलुकमा रहेको सर्वविदित कुरा हो । सिंहदरबारको अधिकार अहिले गाउँमा आएको र सबै सरकारी कार्यालयहरूले गाउँबाटै सेवा प्रदान गरेकाले खुसीको महसुस भएको छ ।

० पद पाउनुअघि के–के न गर्छु भन्ने, तर ओहोदामा पुगेपछि यस्तै त हो नि भन्दै अवधि गुजार्ने नेपाली परम्परा छ, तपाईं पनि यस्तै हो कि केही नयाँ कामको योजना पनि बनाउनुभएको छ ?
– म चुनावी मैदानमा उत्रिँदा यो वा त्यो गर्छु भन्दै झुट आश्वासन दिएको थिइनँ, तर मलाई विश्वास गर्नोस् यो नगरपालिकालाई समृद्ध, सुशासन र भ्रष्टाचारमुक्त नगरपालिका बनाउँछु भनेकै हो । जसअनुसार स्वास्थ्य, शिक्षा, कृषि खानेपानीलगायतका विकास निर्माणमा नगरवासीलाई अपनत्व हुने गरी काम भएका छन् । सङ्क्षेपमा भन्नुपर्दा बोलेभन्दा बढी काम भूमिकास्थान नगरपालिकामा भएका छन् ।

० देश सङ्घीयतामा गएको नयाँ परिवेश छ, यस्तोमा काम गर्न अप्ठ्यारो त परेकै होला, हालसम्मको आफ्नो अनुभव सुनाइदिनुहोस् त ?
– देश सङ्घीयतामा गएसँगै नयाँ र जिरो लेभलबाट कार्यहरू सम्पादन गर्न कठिनाइ भएकै हो तथापि अप्ठ्यारो, चुनौती र सम्भावनालाई पछ्याउनका यो नगरपालिकाभित्र रहेका राजनीतिक दल, नगरवासी तथा कर्मचारीहरूबीचको एकताले असहजको महसुस भयो भन्दै दैनिक सम्पादन गर्नुपर्ने कार्यमा अवरोध भएन ।

० केही गर्छु भन्नेलाई खुट्टा तान्ने प्रवृत्ति निकै छ, अहिलेसम्म त्यस्तो अनुभूति गर्नुभएको छ ?
पहिलो कुरा त हामी झुट बोल्दैनौँ र भ्रष्टचारमुक्त नगरपालिका बनाउन लागिपरेका कारण हाम्रो व्यवहार देखेर यहाँ रहेका समाजसेवी, नागरिक, राजनीतिक दल, कर्मचारी मिडियाकर्मी सबैबाट हामीलाई सहानुभूति र सहयोग मिलेको छ । हाम्रा बजेट तथा कार्यक्रम र काम गर्ने शैली खुला कापीको पानाजस्तै भएको कारण कसैले आरोप लगाए पनि प्रमाणित हुन नसक्ने विश्वासका साथ अगाडि बढेको अवस्था छ ।

० तपाईं तत्कालीन नेकपा माओवादी केन्द्रबाट चुनाव जित्नुभएको भए पनि अब सिङ्गै नगरको प्रमुख भएकाले कुनै पार्टी हेरेर व्यवहार गर्न मिल्दैन, तैपनि आफ्नो दलप्रतिको लगाव त भइहाल्छ, पार्टीका कार्यकर्ताले कत्तिको दुःख दिएका छन् ?
चुनाव जित्दा राजनीतिक दलबाट टिकट लिएको अवश्य पनि सत्य हो, तर चुनाव जितिसकेपछि भूमिकास्थान नगरपालिकामा रहनुभएका सबै नगरवासीको म नगरप्रमुख भएको नाताले भेदभावको कुरा आउँदैन र आउनु पनि हुँदैन । यो समय भनेको नगरपालिकालाई समृद्ध बनाउने बेला भएको कारण झिनामसिना कुराका पछाडि लाग्ने फुर्सद पनि छैन । तपाईंले प्रश्न गर्नुभएजस्तो कसैले पनि व्यक्तिगत स्वार्थका लागि दुःख दिने वा सताउने काम हालसम्म भएको छैन र भयो भने नगरवासीको सामु खडा भएर जवाफ दिनुपर्ने हुन्छ । जनता मालिक हुन् र हामी जनप्रतिनिधि सेवक हौँ । तसर्थ नागरिकले तिरेको कर कसैको व्यक्तिगत स्वार्थका लागि किमार्थ दुरुपयोग हुन हामी दिँदैनौँ ।

० मुलुकमा प्रजातन्त्र आएयता धेरैजसो अवधि देशमा शासन गरेको पार्टी नेपाली काङ्ग्रेस यतिबेला प्रतिपक्षमा खुम्चिनुपरेको र नेकपाको दुईतिहाइ बहुमतको सरकार छ, तपाईंलाई कस्तो अनुभूति भइरहेछ ?
– दलीय सिस्टममा प्रतिपक्ष र सत्तापक्ष भनेको चलिरहने कुरा हो र यतिबेला नेकपाको दुईतिहाइ बहुमतको सरकार छ । नेपाल चारैतर्फबाट शक्तिशाली राष्ट्रहरूले घेरिएको कारण विदेशीको सहयोगबिना जुनसुकै सरकारले पनि काम गर्न गाह्रो छ । सबै कुरामा विदेशीको मुख ताक्नुपर्ने बाध्यताका बाबजुद दुईतिहाइले भन्दा पनि विदेशीको सहयोगले मात्र काम गर्न सकिने कुरा हो र यसपालि अपेक्षाकृत विदेशी सहयोग नभएको कारण सत्ताभन्दा बाहिर बसेकाहरूले दलीय प्रथामा अनेकौँ कुरा उठाउनु अस्वाभाविक मानिँदैन ।

० तत्कालीन माओवादी केन्द्र र एमालेलाई एकीकरण गर्नेदेखि दुईतिहाइ बहुमत हासिल गर्नुमा नेकपाका अध्यक्ष प्रचण्डको मुख्य भूमिका छ भनिन्छ, तपाईंलाई के लाग्छ ?
– यो महत्वपूर्ण र नसोचेको कार्यलाई पूरा गर्ने कार्यमा दुवैजना अध्यक्षको महत्वपूर्ण भूमिका रहेको कारण म दुवैजना अध्यक्षलाई धन्यवाद व्यक्त गर्दछु ।

० यतिबेला नेपालमा लगानी भित्र्याउने भन्दै लगानी सम्मेलन सम्पन्न भइसकेको छ, तपाईं के भन्नुहुन्छ ?
– नेपालमा नेकपाको दुईतिहाइ सरकार भएको कारण अन्तराष्ट्रहरूले हेर्ने दृष्टि बेग्लै छ । अमेरिकालगातका राष्ट्रले दिन्छु भनेको रकमसमेत नदिएको अवस्था हो । सरकारले सकारात्मक सोचका साथ लगानी सम्मेलन गरे पनि यो आशामा मात्रै सीमित हुने मैले महसुस गरेको छु ।

० देश सङ्घीयतामा गएपछि जनताको आँगनमै सरकार आइपुग्छ भनिन्थ्यो, अहिलेको स्थानीय सरकार भनेको तपाईंहरू नै हो ? के स्थानीय सरकार जनताको घर–आँगनमा पुगेको छ त ? जनताले त त्यस्तो अनुभूति गर्न पाइएन भनी गुनासो गरेका छन् ? के भन्नुहुन्छ ?
– परिवर्तन एकैसाथ हुने कुरा होइन र हिजोका दिनहरूमा ससाना कामका लागि सदरमुकाम जानुपर्ने झन्झट समाधान भएको भए पनि यसले पूर्णता पाएको छैन । मालपोत, नापीदेखी नागरिकता बनाउनुपऱ्यो भने अझै पनि सदरमुकाम जानुपर्ने समस्या यथावत् रहेको कारण स्थानीयले सास्ती खेप्नुपरेको छ । अतः जबसम्म मालपोत, नापी र नागरिकताको काम स्थानीय निकायबाट हुँदैन तबसम्म नागरिकले सिंहदरबारको अधिकार गाउँमा आएको प्रत्यक्ष अनुभूति गर्न सक्दैनन् ।

० कुनै बेला अर्घाखाँचीमा काङ्ग्रेसको ठूलो वर्चश्व थियो, तर अहिले माहोल बदलिएको छ, वाम–प्रभाव बढेको छ, किन होला ?
– जनताको चाहनाअनुसार यस्तो हुन गएकोमा आश्चर्य मानिहाल्नुपर्ने देख्दिनँ । इतिहासको कालखण्डलाई नियालेर हेर्दा यो मुलुकमा कैयौँ वर्षसम्म नेपाली काङ्ग्रेसले सत्ता सम्हालेकै हो र कुनै समय नेकपा एमालेले अनि माओवादी केन्द्रले समेत सत्ता सम्हालेका हुन् । जनता परिवर्तन चाहन्छन् र स्थिर सरकारबिना विकास सम्भव छैन भन्ने नेपाली जनताको सोचका साथ यतिबेला नेकपाको दुईतिहाइ सरकार छ । जनताको भावना बुझेर सरकार अगाडि बढ्नुपर्छ ।

० देशको राजनीतिक हावा एकातिर बगेको छ, तपाईंको सोच र सिद्धान्त अर्कोतिर छ, कसरी तालमेल मिलाउनुहुन्छ ?
– जनताले सोचेअनुसार र मुलुकको परिस्थितिलाई बुझेर अगाडि बढ्न त्यति तालमेल नमिलेको तीतो यथार्थ हो । सुखी नेपाली समृद्ध नेपालका लागि केन्द्रीय रणनीतिअनुसार अगाडि बढ्ने कामका लागि कन्जुस्याइँ भएको छैन ।

० आफ्नो कार्यकालमा खास यी–यी कामचाहिँ गर्छु भन्ने कुनै योजना या सपना बुन्नुभएको छ तपाईंले, भए के–के हुन् तपाईंका खास कार्ययोजना ?
– भूमिकास्थान नगरपालिकाका सपना विपनामा परिणत भइसकेका छन् । हिजो चौरमा बसेर जनताको सेवा गर्ने हामीसँग आज आफ्नै भवन छ । प्रत्येक वडाकार्यालयमा भवन बनिसकेका छन् र बन्दै छन् । धुलो उड्ने सडक पिच हुँदै छन् भने सडक नपुगेको वा साँघुरा सडक विस्तार हुने क्रमले तीव्रता लिएको छ । सबै नगरवासीलाई स्वस्थ पिउने पानीका लागि तीव्र गतिमा काम भइरहेको छ । शिक्षा, स्वास्थ्य, कृषिलगायतमा हामीले प्रचारभन्दा पनि काममा गति लिएकै कारण आज उल्लेखनीय सफलता भित्रिएका छन् । हामीले नामकाजीभन्दा पनि कामकाजीमा विश्वास गर्दै अगाडि बढेको अवस्था छ ।

० तपाईं आफ्ना प्रतिस्पर्धीलाई उछिनेर यो स्थानमा आइपुग्नुभएको छ, आफ्नो राजनीतिक हैसियत जोगाइराख्न सक्छु भन्ने लागेको छ ?
– सम्पन्न स्थानीय निर्वाचनमा जिविसका पूर्वसभापति तथा तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता पीताम्बर भुसालसँग म चुनावी मैदानमा होमिँदै गर्दा यहाँका नगरवासीले मलाई विजयी गराउनुभयो । अहिले पार्टी पनि एकीकरण भएको अवस्था छ र हामी एकै स्थानमा छौँ । नगरवासीले मलाई गर्नुभएको विश्वासलाई जोगाउन म सचेत रहँदै दत्तचित्तका साथ नगरवासीको सेवामा इमानदारपूर्वक काम गर्ने कुरामा सजग रहेको छु ।

० मेयरको रूपमा सफल हुन प्रदेश सरकारको सहयोग कत्तिको पाउने आशा गर्नुभएको छ ?
– हाम्रो नगरपालिकामा अपेक्षाकृत बजेट कमी भएको कारण पनि सङ्घ तथा प्रदेशले विशेष प्राथमिकतामा राखी सहयोग गर्नुहुनेछ भन्ने आशावादी छु ।

० अन्य थप केही भन्नु छ कि ?
– यसरी हाम्रै कार्यालयमा आएर हाम्रा कुरा सुन्दिनुभएकोमा धन्यवादसहित यहाँ रहेका राजनीतिक दल, समाजसेवी, सञ्चारकर्मीलगायत समग्र नगरवासीले विगतमा जस्तै आगामी दिनमा पनि सहयोग पुऱ्याउनुहुनेछ भन्ने आशा र अपेक्षा राखेको छु । सबैको सहयोग भयो भने जिल्लामा रहेका पालिकाहरूमध्ये हाम्रो भूमिकास्थान नगरपालिका निर्वाचनसम्पन्न भएको दिनदेखि पाँच वर्षभित्रमा कायापलट हुने विश्वाससमेत व्यक्त गर्दछु ।