जंगबहादुरका केही रोचक काम !

जंगबहादुरका केही रोचक काम !


एकपटक तबेलामा यसो टहल्दाटहल्दै महाराजको एकजना काबुली कपडा व्यापारीसँग भेट भयो । उससँग गफगाफको सिलसिला बढ्दै गयो र राजनीति तथा त्यस्तै प्रकृतिका अन्य विषयमा केन्द्रित हुन पुग्यो । महाराजलाई सिपाही, दर्जी, टमेटे, मल्लाह, बगरे, बञ्जाराजस्ता तल्ला श्रेणीका ठानिने मानिससँग गफ गर्ने ठूलो सोख थियो । महाराज उनीहरूसँग उच्च तहको राजनीतिक र सामाजिक विषयमा छलफल गर्थे । यसो गर्नुको आशय राष्ट्रको प्रशासनिक विषयमा सर्वसाधारण जनताको धारणा कस्तो रहेछ भनेर बुझ्नका लागि हुन सक्छ । किनभने नियम र कानुनमा उनीहरूको आवाज सम्बोधन गरिएको हुँदैनथ्यो ।

काबुलको व्यापारीको बुद्धिबाट प्रभावित भएर खुसी हुँदै महाराजले उसका सम्पूर्ण मालसामान किनिदिए । उक्त व्यापारी पनि आफ्नो सम्पूर्ण माल अनपेक्षित रूपमा एकैपटक बिक्री भएको हुँदा अत्यन्तै खुसी भयो । किनकि ऊ अब टाढाको आफ्नो देश फर्कन सक्थ्यो अन्यथा आफ्नो माल बिक्री गर्न उसलाई महिनौँ पनि कुरेर बस्नुपर्ने हुन्थ्यो । यी आगाले गर्ने व्यापारको प्रकृति विचित्रको हुन्थ्यो । उनीहरू आफ्नो सामान तल्ला तहका उपभोक्तालाई उधारोमा बेच्थे । उनीहरूलाई आफ्ना ग्राहकका बारेमा केही पनि थाहा हुँदैनथ्यो । तर, भुक्तानी भने मासिक किस्ताबन्दीका रूपमा लिने मौखिक सम्झौता गरेका हुन्थे । आफ्नो मालको रकम पूर्ण रूपमा भुक्तानी नभएसम्म उनीहरू बाँकी रकम उठाउन प्रत्येक महिना सम्बन्धित आसामीकहाँ आउने गर्थे । उनीहरू खास गरेर जाडो मौसममा भारत आउने गर्थे र गर्मी लाग्नासाथ आफ्नो देश फर्किन्थे ।

अप्रिल ३० का दिन महाराज थापाथलीबाट नगरकोट प्रस्थान गरे र आफ्नो न्यायिक अड्डा सत्ताइस दिनसम्म त्यहीँबाट चलाए । उनको दैनिक जीवनचर्या उही सदाको जस्तो, बाज लडाउने, सिकार खेल्ने, बिहानको समय फूलबारीमा काम गर्ने, मध्याह्नपछि आवश्यक कामकारबाही गर्ने, साँझ परेपछि घुमफिर गर्ने नै हुन्थ्यो । उनले कसैले थाहा नै नपाई छिमेकका गाउँलेको गुनासो सुन्ने आफ्नो बानी कहिल्यै परिवर्तन गरेनन् । रात परेपछि खाना खाने बेलासम्म उनले अङ्ग्रेजी पत्रपत्रिका पढेर सुनाउन र अर्थ्याउन लगाउँथे । यसपटकको नगरकोट बसाइको समयमा उनले एउटी छोरी जन्मेको खबर पाए । ती छोरीको पछि गएर बझाङका राजासँग विवाह भयो ।

नगरकोटबाट राजधानी फर्केपछि उनी र उनका भाइहरू हुलाक विभागको वार्षिक प्रतिवेदन अध्ययन गर्न एक महिनासम्म खटिए । सरकारी प्रशासनका सम्पूर्ण विभागमध्ये जंगबहादुरले हुलाकलाई सबभन्दा बढी महत्व दिने गर्थे । त्यो विभागलाई एउटा मानिसले गर्न सक्ने जति सम्पूर्ण प्रयास गरेर ठीक दुरुस्त र अद्यावधिक अवस्थामा राखेका थिए । हुन पनि त्यस जमानाको भौगोलिक कठिनाइ र यातायातको अवस्थालाई ध्यानमा राख्दा यति गर्न सक्नु पनि चानचुने चुनौती थिएन । यसका साथै उनले अन्य महत्वपूर्ण विभागको काम पनि पन्छाउँदैनथे । मूलतः उनी सैनिक व्यक्ति थिए र सैनिक प्रशासनमा विशिष्ट स्थान राख्थे, तर निजामती प्रशासनतर्फ पनि उनले ढिलासुस्ती हुन दिँदैनथे । सार्वजनिक निर्माण विभागमा उनको निकै ध्यान जान्थ्यो । सडक, पुलपुलेसा, सार्वजनिक भवनहरू उनको विशेष माया पाएर देशको कुनाकाप्चामा पनि विकसित भइरहेका थिए । सिकार खेल्दा बास बस्ने थलोका रूपमा युरोपेली शैलीमा उनले हात्तीवनमा एउटा भवन निर्माण गर्ने आदेश दिए । यो पहाडी इलाका उनलाई अत्यन्त मनपर्ने ठाउँमध्ये एक थियो । त्यहाँ सिकारसम्बन्धी सम्पूर्ण विवरण उपलब्ध थिए ।

शिक्षा क्षेत्रमा पनि महाराजलाई विशेष रुचि थियो । उनले शिक्षालाई राष्ट्रिय चासोका रूपमा लिन्थे । उनी प्रत्येक वर्ष दरबार स्कुल निरीक्षण गर्न जान्थे । अति जेहेनदार विद्यार्थीलाई पुरस्कार दिन्थे र साना कक्षाका केटाकेटीलाई भविष्यका राष्ट्रिय गौरव भन्दै प्रोत्साहित गर्थे ।

जुन २९ को राति पाटनमा एउटा आगलागी काण्ड भयो । त्यो खबर प्राप्त हुनासाथ महाराज तत्काल त्यस ठाउँमा पुग्न हतार गर्दै फायर बिग्रेडलाई विगुल फुक्ने आदेश दिए । केही क्षणमा नै पाटन ग्यारिजनका १५ सय सेना जम्मा गराए र आगो निभाए । त्यस आगलागीमा एक पुरुष र एक महिलाको मृत्यु भयो । तर, दश–बाह्रवटा घर जल्नुभन्दा बढी नोक्सान हुन पाएन ।

जुलाई १२ का दिन महाराजले आफ्नो जन्मदिन मनाए । हिन्दू समाजमा जन्मदिनलाई एउटा धार्मिक उत्सवका रूपमा लिइन्छ । त्यसको गणना हिन्दूहरूको चन्द्र संवत्सरअनुसार गरिन्छ । सदाझैँ उल्लासमय वातावरणमा दानदातव्यका कार्य साथ गरिएको उक्त उत्सवमा ठूलाठूला विद्वान् पण्डितहरू निम्त्याइएका थिए । महाराजलाई एकप्रकारको विशेष अन्नसँग बराबर परिमाणमा प्रत्येक शुभ जन्मदिनको अवसरमा तौलिइने गरिन्थ्यो र त्यो अन्न गरिब दुःखीलाई वितरण गरिन्थ्यो । उक्त अवसरमा ब्राह्मणलाई मीठामीठा खानेकुरा ख्वाउने र महँगामहँगा उपहारहरू पनि दिने गरिन्थ्यो । यहाँका कि आकाशमा उड्ने परेवाजस्ता चराचुरुंगी र गाईवस्तुलाई पनि ठाउँठाउँमा अन्न छरेर चारा ख्वाउने गरिन्थ्यो । यति मात्र होइन, किरा र कमिला बस्ने गुँडका प्वालमा पनि यथेष्ट मात्रामा पीठो र चिनी छरेर ख्वाउने गरिन्थ्यो । एक दिन सार्वजनिक बिदा दिइन्थ्यो । काठमाडौंका बन्दीगृहमा रहेका ६ महिना वा त्योभन्दा कम अवधि बाँकी रहेका दश प्रतिशत बन्दीलाई कैदमुक्त गरिन्थ्यो । त्यसैगरी दश रुपैयाँभन्दा कम जरिवाना लागेका सबै व्यक्तिको जरिवाना माफ गरिन्थ्यो । त्यो रकम सरकारले नै वहन गथ्र्यो ।