बेलायत, नेपाल र म

बेलायत, नेपाल र म


  • प्रकाश केसी, लन्डन

बेलायत छिरेको नौ वर्ष भएछ, विदेशी बनेकोचाहिँ ६ वर्ष पुगेछ । ११ वर्षसम्मको हङकङ बसाइपछिको अर्थात् २१ वर्षपछिको निचोड यही रहेछ । २१ वर्षको अनवरत विदेश बसाइको प्राप्ति भनेको ‘विदेशी’ बन्नु मात्रै रहेको यो समयको उपलब्धि बनेको रहेछ, खासगरी मेरो भनेर मान्नुपर्दा तिखो झिरको घोचाइको अनुभूति हुन्छ । नेपाली पासपोर्ट र विदेशी पासपोर्ट बोकेर अन्य देशको यात्रा गर्दाको बखत मनमा चलेको अनुभूतिको कुरा नगरौँ । त्यसो त काङ्ग्रेसका नेता गगन थापाले आफ्नो जीवनकालमै नेपाली पासपोर्ट बोकेर हिँड्दा क्षोभ होइन, गर्व गर्न सकिने समय बनाउनेछु भनेर भनेका पनि वर्षौं नाघिसकेको छ । राष्ट्रियता भन्ने कागजमा मात्र सीमित हुन्छन् कि भन्ने वास्तविकता बोकेको मजस्ताले के नै राष्ट्रियताको कुरा गर्नु र ! तर, हामीलाई यो हालतमा यसरी असमञ्जस छोड्न अभिप्रेरित गर्नेचाहिँ तत्कालीन नेपाली राजनीतिक अवस्था हो भन्न छोड्दिनँ ।

मानिसको जीवनमा ऊर्जाशील २१ वर्ष भनेको खास अनि सार्थक अर्थमा लगभग पूरा जीवन नै हो । आँटेको काम गर्न सकिने यी उमेरका वर्षहरूको २१औँ अवसरले म र मजस्तालाई जीवनमा त्यसपछि स्थिर बनाउनुपर्ने हो । बनाएन, स्वीकार गर्दछु । स्थिरता मनाकाशमा मडारिएको बादलको त्यो थुप्रो रहेछ, जसलाई असामयिक समयको झट्काले नधकेलुञ्जेललाई हो, लाग्यो मलाई । काठमाडौंबाट पोखरा अनि पोखराबाट हङकङ हुँदै लामो समय र त्यो समयले कोतरेको अनुभवको कचौरा बोकेर बेलायत भित्रिएको नौ वर्ष बितिसकेछ । यही समयको भोगाइको क्रममा मेरो जीवनले अचानकै जस्तो गरी पचास वर्ष पार गरेको छ । यो पचास वर्ष टेक्दैको बखत जस्तैमा मैले आमालाई गुमाउनुपरेको छ ।

अनुभव/अनुभूति

जीवनमा आमाको उपस्थितिको आभास भनेको एउटा अनौठो अनि अपारदर्शी यस्तो आवरण रहेछ, जसले हरदम मनलाई सुरक्षित पारेको अनुभूति दिँदो रहेछ, र यो दौरानमा मैले त्यो गुमाएको छु, मैले मेरो सुरक्षा कवच गुमाएको छु । पचास वर्षको जन्मदिन भनेको एउटा अध्यायको एक त्यस्तो बिन्दु हो, जसलाई नजरअन्दाज गर्न सकिँदैन, तर खुसी र दुःख अनि प्राप्ति र खतिको त्यस्तो बेलामा साथीहरूको सौजन्यतामा त्यसबीच केही खुसीहरू खोज्ने जमर्को पनि गरियो । तर, मुख्य केचाहिँ भयो भने, यो पचास वर्षपछिको अवधि भनेको यस्तो पनि रहेछ, जसमा उभिएर जीवनमा बिताइएका अनुभवहरू, देखेका घटनाहरू, भोगेका भोगाइहरू र पछाडिको भविष्यबारे सोचमग्न भइँदो रहेछ, जसमा म पृथक रहन सकिनँ ।

१९९७ मा बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेर फर्किएपछि हङकङमा भित्रिएको म त्यस्तो जनाभासको भुक्तभोगी भएको थिएँ, जो हिजोआज यहाँ बेलायतमा हुने गरेको छ । ९७ को शुरुबाट हङकङ छोड्नेहरूको हतोत्साहले हङकङमा त्यस्तो नकारात्मकताले वैधता पाएको थियो कि, लाग्थ्यो– गल्ती गरिएछ यसरी हङकङ आएर । विभिन्न अर्थशास्त्रीहरूको ज्ञानले बजारलाई आततायी पारे तापनि हङकङ एकै वर्षमा स्थिर हुँदै अर्को वर्षबाट चुलिन थालेको कसैको नजरबाट पनि चुकेको छैन । त्यो अनुभवलाई काखी च्यापेर बेलायत छिरियो । बेलायत छिर्नु एक अर्थमा पलायन हुने परिणति थियो । हङकङ र बेलायतबीचमा फरक त्यही थियो ।

२०१६ मा बेलायतमा जनमतसङ्ग्रह गरियो । ५१.९ प्रतिशत वालिग जनताले युनियनबाट अलग्गिनेमा आफ्नो मत जाहेर गरे, त्यसभित्र म पनि थिएँ । मेरो साथमा १६.१ मिलियन भोटहरूलाई पछार्दै १७.४ मिलियन जनताले युनियनबाट बाहिरिनेमा भोट हाले, जसमा २४२ लाई मात गर्दै ४०६ निर्वाचन क्षेत्रहरू अनि राजनीतिक पार्टीगत निर्वाचन क्षेत्रको आधारमा लेबर पार्टीको ८४ लाई मात दिँदै १४८ क्षेत्रहरू, कन्जर्भेटिभ पार्टीको ८० लाई मात दिँदै २४७ क्षेत्रबाट बाहिरिनेको पक्षमा मत हालिएको थियो । इङ्ग्ल्यान्ड र वेल्सले बाहिरिनेमा अनि स्कटल्यान्ड र नर्दन आयरल्यान्डले भित्र रहनेमा भोट हालेका थिए । तथ्याङ्कमा देखिएअनुसार सबै पार्टीका एमपीहरूमा ४८० जनाले युनियनमा रहने तर १६० ले बाहिरिनेमा भोट हालेका थिए । युनियनबाट सच्याइएर पास भएको एउटै मात्र सहमतिलाई हाउस अफ कमनमा दुईपटक नै भारी मतमा बहिष्कार गराएर आखिरमा अर्थात् यही २१ तारिख, मेईले युनियनसामु गएर डेडलाइनको मिति सार्नको लागि अनुरोध गर्न बाध्य भएकी थिइन्, जसअनुसार तीनवटा मिति अर्थात् यही मार्चको २९ को साटो, मेको २२, तर त्यसमा सहमति कायम गराउन नसके अप्रिल १२ र त्यसमा पनि दुई क्षेत्रबीच डिल जुटाउन नसके लामो समयको लागि स्वतः मिति सर्ने अवस्था बनाइएको छ, जुन अवधिमा बेलायतले युनियनको पार्लियामेन्टको चुनावमा भाग लिनुपर्नेछ ।

यसरी प्राप्त भएको लामो अवधिमा बेलायतले आर्टिकल ५०, जसले युनियनबाट सदस्य राज्यलाई अलग हुने प्रावधान प्रदत्त गर्दछ, जसलाई अपनाएर बेलायत अलग हुन खोजेको छ, लाई उल्ट्याउन सक्ने अवस्था पनि राखिएको छ । मैले माथि राखेको एक तथ्याङ्कको एक अंशमा भनिएको छ– जनता, पार्टीगत सङ्ख्या, क्षेत्रगत सङ्ख्या आदिले छुट्टिने भने तापनि तिनको प्रतिनिधित्व गर्ने एमपीहरूको ठूलो सङ्ख्याले चाहिँ युनियनलाई नछोड्ने भएका छन् । आफ्ना दाताहरूको निर्णयलाई लतार्ने एमपीहरू नै वास्तवमा सबैभन्दा मुख्य दोषी हुन् यसरी बेलायतलाई राजनीतिक रूपमा अस्थिरता दिनुमा, जसलाई सही रूपमा आफ्नो भाषणमा प्रधानमन्त्री मेईले बताएकी छिन् ।

अर्को हप्ता अर्थात् यही मार्चको २९ तारिख, लेखिएअनुसार अनि भनिएअनुसार युरोपियन युनियनबाट आधिकारिक रूपमा बेलायत अलग नहुने भएको छ । २३ जुन २०१६ बाट शुरु भएको कथाको सार यही हो अथवा कुरोको चुरो यही हो भनेजस्तै तीन वर्षको अभियानको निचोड यही हो । अब नेपथ्यभित्र र बाहिरको कुरा गरौँ ।

के रहेछ त जीवन यहाँ ? हामी दौडधुप गर्छौं, अरूभन्दा राम्रो र सफल अनि समृद्ध राख्न अरूलाई धकेल्छौँ, तानेर लडाउन खोज्छौँ, केही सफलतामा पुलकित हुन्छौँ र ठान्छौँ- हामी ठूला हौँ, बन्यौँ ।

बिहानै उठेको छु, बाहिर अहिले शरीरलाई जड बनाउन सक्ने चिसो अलि मत्थर भएको छ । अरूजस्तै एकाबिहानै सोसल मिडियामा सर्सर्ती खबरहरू छाम्न थाल्छु । खासगरी आफू र आफ्नो पक्षलाई सरोकारी राख्ने खालका समाचारहरू सेयर गरिएका हुन्छन् । तीमध्ये कुन–कुन समाचारले कसरी छुँदै छ आफूलाई भनेर लेख्ने विद्वान्हरूको फेसबुके, अनि ट्विटरे भित्ताहरूमा लेखिएका लेखहरूको कुरै बेग्लै । २७ लाखभन्दा ज्यादा नेपाली विदेशी भूमिमा बसोवास गर्दछन्, जसमध्ये केही अंश स्थायी रूपमा विदेशको नागरिकता लिएरै बसोवास गर्दछन् । नेपाल एउटा मूल खम्बा हो, नेपालमा जन्मनेहरूका लागि । त्यही खम्बालाई परिक्रममा गरी नेपाली चहार्ने मात्र हुन् । म जन्मेको मुलुक मेरो हो । मलाई जन्म दिने आमाबाबा मेरा हुन् । म जति नै वर्ष बाहिर रहे पनि ती मेरो हुन्, आफूबाट जति नै वर्ष पर गए पनि तिनले मलाई नकार्न सक्दैनन् । आमाबाबा एक आभास पनि हुन्, जन्मेको मुलुक एक आभास पनि हो । एकपटकको नेपाली सधैँको नेपाली हो । तर, नेपालमा सांसदहरूले बहुमतले बाहिरिएर विदेशी बन्नेहरूलाई नकारेका छन् । नेपालसँगको कडी तोड्न थाल्दै छन् । तिनले यो किन बिर्सन्छन्, भावनामा फसेको कडी होइन, त्यो रगतमा भिजेको कडी हो भनेर ? बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, पोर्चुगललगायतका मुलुकमा नागरिकता लिने नेपालीका लागि त्यो सुविधा हो । सुविधा लिनु अनि खोज्नु प्राकृतिक अधिकार हो । एक व्यक्तिको जन्मसिद्ध अधिकार हो । त्यस्ता जनतालाई नेपालसँग जोड्न सक्ने कडीको तर्जुमा गर्नुको साटो धपाउने कार्य त निन्दनीय हो, यो पक्षले पनि दुखाएको छ ।

यसबीच आप्रवासीहरूको विपरीत आमनागरिकहरूको केही कट्टर उग्र पक्षहरू लागिपरेका छन् । घटना अमेरिका, अस्ट्रेलिया, क्यानडा हुँदै अहिले न्युजिल्यान्डमा सरेको छ । कसैले युनियनबाट बेलायत अलग हुन खोज्नु त्यही उग्रपक्षको गति हो भनेका छन् । अवसरहरूको आधारमा भन्ने भए हामी जो ज्यादै नै न्यून छौँ, हरूका लागि युनियनबाट बाहिरिने अवस्था राम्रो हो, देशको आर्थिक अवस्थालाई आधार मान्ने भए पनि राम्रो हो । हङकङमा जस्तै यहाँ अर्थविद्हरूको डरलाग्दा भविष्यवाणीहरू एकपछि अर्को हुँदै गलत प्रमाणित भएका छन् । युनियन ठूलो बजार भए तापनि डब्लूटीओअन्तर्गत मात्र रहे पनि बेलायतले एक्लो भएर पनि प्रगति गर्न सक्ने थुप्रै कारणहरू छन्, तर देशअनुसारले नभई बराबर साधन तथा स्रोतको परिचालन गरी देशअनुसारको मौलिक अवस्थालाई आँच नदिएर राख्न सकिने भए युनियन धेरै धेरै राम्रो हो, खासगरी सन्ततीहरूका लागि । हाम्रो लागि यतिखेर बेलायतमा उग्रपक्षको उग्र सोचको आंशिक आशङ्का मात्र हो जसले खासै मनलाई स्थिरता भने दिन सकेको छैन, तब, जब स्वदेशले पनि पाखा लगाउँदै छ भने ।

मलाई जन्म दिएको लगभग पचास वर्षपछि मेरी आमाको देहान्त भएको छ । म अक्सर भन्छु, मृत्यु एउटा त्यस्तो शून्य हो, जो अँध्यारो हुन्छ, निष्पस्ट अँध्यारो । जीवनमा गरिएका अनि बोलिएका र भोगिएकाबाहेक सबै हराउँदछन् । सपनाहरूलाई पढ्दै, पन्छ्याउँदै अनि पछ्याउँदै उहाँले आफ्नो ८२औँ जन्महरू काट्नुभयो । समयले दिएका खुसीहरूमा रमाउँदै अनि दुःखहरूमा रुँदै उहाँले आफ्नो जीवनको पूरा अवसरहरू बिताउनुभयो । मेरो र आफ्नो भन्दै उहाँले एउटा निजत्वको निर्माण गर्नुभयो । तर, आखिरमा ती सबैलाई पाखा लगाउँदै एक रात सुत्नुभयो, त्यसपछि उठ्नुभएन । अचानकै उहाँ पत्थर हुनुभयो, काठ हुनुभयो ।

के रहेछ त जीवन यहाँ ? हामी दौडधुप गर्छौं, अरूभन्दा राम्रो र सफल अनि समृद्ध राख्न अरूलाई धकेल्छौँ, तानेर लडाउन खोज्छौँ, केही सफलतामा पुलकित हुन्छौँ र ठान्छौँ- हामी ठूला हौँ, बन्यौँ । हामीले हेर्ने अनि हामीलाई हेर्ने नजरियामा फरक आयो । तर, आखिरमा त्यही हो, शून्य, अन्धकार र सुनसान । मेरी आमाले …एकपटक तिमीहरू बस्ने बेलायत घुमाउँदैनौ भनेर सोध्नुभएको थियो, सकिएन । उहाँलाई बेलायत घुमाउन सकिएन, जहाँ मानिसले आफ्नो चिताको आफैँ नै प्रबन्ध गर्दछन्, जहाँ आफ्नो अन्तिम बाटोलाई सुलभ राख्दछन् । बिरामी आमालाई यो ठाउँ घुमाउन सकिएन । हिन्दू धर्ममा विश्वास दिलाइएअनुसार, अहिले त हामीलाई माथिको आकाशमा कतै बसेर हेर्दै हुनुहोला आमाले र बुझ्दै पनि हुनुहोला, आखिर कति रहेछन् हामीजस्ता गैरनेपालीका लागि, नेपालमा पुसिङ फ्याक्टर ?