मिलेन ट्रम्पसँग फोटो खिच्ने मौका

मिलेन ट्रम्पसँग फोटो खिच्ने मौका


पूर्वमाओवादी कमान्डर एवम् नेकपाका सहअध्यक्ष प्रचण्डले अमेरिकामा दक्षिण तथा मध्यएसिया हेर्ने ‘असिस्टेन्ट सेक्रेटरी’सँग भेटवार्ता गर्ने मौका पाएका छन् ।

पत्नी सीता दाहालको उपचारको बहानामा अमेरिका पुगेका प्रचण्डले उपराष्ट्रपतिको तहमा भेटवार्ता गर्ने र राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोटो खिच्न पाउने आशा राखेका थिए । तर, सोमबार (चैत १२ गते) प्रचण्डले दक्षिण तथा मध्यएसिया मामिला हेर्ने ‘असिस्टेन्ट सेक्रेटरी’ एलिस जी वेल्ससँग मात्र भेट गर्न पाएका छन् ।

देशको प्रधानमन्त्री भइसकेका व्यक्तिले ‘असिस्टेन्ट सेक्रेटरी’लाई उनकै कार्यालयमा धाएर भेट्नु कूटनीतिक दृष्टिले उचित मानिएको छैन । तर, प्रचण्डले यही भेटलाई पनि अवसरका रूपमा ग्रहण गरेको बुझिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले प्रचण्डसँगको भेटवार्ताको विषयलाई लिएर सामान्य विज्ञप्ति जारी गर्ने औपचारिकता पूरा गर्न पनि आवश्यक ठानेन । प्रचण्डले मेरिल्याण्ड हाउस अफ डेलिगेटमा निर्वाचित पहिलो नेपाली ह्यारी भण्डारीको पहलमा राज्य संसद्को अवलोकन गरेका थिए ।

असिस्टेन्ट सेक्रेटरीसँग के–कस्ता विषयमा वार्तालाप भए भन्ने विषयलाई अमेरिकी विदेश मन्त्रालय र प्रचण्ड स्वयम्ले पनि गोप्य राखेका छन् । हरदम गम्भीर र निन्याउरो अनुहारमा प्रचण्डलाई देख्नेहरूले उनी ठूलो पीडामा रहेको महसुस गरेका छन् ।