बालसैनिक लेनिन विष्ट पुगे नेदरल्यान्ड (हेग)

बालसैनिक लेनिन विष्ट पुगे नेदरल्यान्ड (हेग)


प्रचण्डको नेतृत्वमा सञ्चालित माओवादी हिंसात्मक युद्धको समयमा बालसेनाका रूपमा प्रयोग गरिएका लेनिन विष्ट नेदरल्यान्ड सरकारको विशेष आयोजनामा युरोप पुगेका छन् ।

कतार एयरबाट गत आइतबार राति (चैत ११ गते) नेदरल्यान्डको तिलबर्गलाई गन्तव्य बनाएर यात्रामा निस्किएका लेनिन विष्टलाई विमानस्थलमै रोक्न प्रयास भएको थियोे । उनलाई बाहिर जान नदिन रामबहादुर थापाको गृह मन्त्रालयद्वारा जारी भएको नोटिस अध्यागमन विभागमा यथावत् भएकोले केहीबेरको छलफलपछि मात्र ‘जान दिने’ निर्णयमा अधिकारीहरू पुगेका थिए ।

नेदरल्यान्डस्थित एक विश्वविद्यालयको परिचयपत्र देखाएर आफू अध्ययनका लागि जान लागेको भनेपछि अध्यागमन अधिकारीहरूले ‘माथिको आदेश’मा लेनिनलाई बाहिरिन अनुमति दिएका थिए । अब लेनिनले युरोपियन युनियनको हेडक्वार्टरमा आयोजित बैठकमा भाग लिनेछन् । त्यस्तै, जर्मनीका सांसदहरूसँग उनको छुट्टै छलफल हुने बुझिएको छ ।

लेनिनको स्वीट्जरल्यान्डको जेनेभामा उच्च तहका मानव अधिकारकर्मी, सांसद, मन्त्रीलगायतसँग भेटघाट तथा छलफल कार्यक्रम तय भएको छ । तिलबर्गमा उच्च सरकारी अधिकारी, मानवाधिकारवादी अगुवा, विज्ञ र व्यावसायिक क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूसँगको छलफलमा लेनिनले भाग लिनेछन् । तीन महिनासम्म युरोपमा रहँदा लेनिनले माओवादीले बालबालिकाहरूलाई कसरी हिंसात्मक युद्धमा दुरुपयोग गरेका थिए, सम्झौतामार्फत उनीहरू सत्ता राजनीतिमा आइसकेपछि तीन हजारभन्दा बढी बालसेनालाई कसरी अलपत्र बनाइयो र आफ्ना अधिकार एवम् हितका निम्ति सङ्गठित आवाज उठाउँदा माओवादीले कसरी दुःख कष्ट दियो भन्नेलगायतका विषयमा विश्व समुदायलाई सविस्तार जानकारी गराउने भएका छन् ।

लेनिन विष्ट माओवादीले दुरुपयोग गरेका तीन हजारभन्दा बढी बालसेनामध्ये एक हुन् । बाह्र वर्षको उमेरमै माओवादीको सम्पर्कमा पु¥याइएका विष्ट २०६३ को परिवर्तनलगत्तै आफूहरूलाई उपेक्षा गरिएपछि बाल सैनिकलाई सङ्गठित गरी त्यसको प्रमुख बनेका थिए । उनले निर्माण गरेको संस्थामा माओवादीले दुरुपयोग गरेका २९७३ जना किशोरकिशोरी सङ्गठित भएका छन् ।

यसरी बालसेनालाई सङ्गठित गर्न थालेपछि माओवादीले लेनिनलाई निकै दुःख, कष्ट र सास्ति दिएको थियो । ०६८ सालमा भक्तपुरको सल्लाघारीस्थित लेनिनको डेरामा आक्रमण गरी लुटपाट गरिएको थियो । कुनै सहयात्री नामक व्यक्तिको कमान्डमा भएको आक्रमणमा लेनिन भागेर ज्यान जोगाउन सफल भए पनि लुटिएका सामग्री अहिलेसम्म उनले फिर्ता पाएका छैनन् । त्यसपछि आफ्नो हकअधिकार प्राप्तिका निम्ति ०६९ सालको वैशाखमा माओवादी कार्यालय (पेरिसडाँडा) घेराउ गर्न जाँदा लेनिनलाई कार्यालयकै ट्वाइलेटमा थुनी बन्दी बनाइएको र त्यसबेला उनी कुनै तरिकाले ट्वाइलेटबाट निस्की दुई तलामाथिबाट हामफाले र भाग्दै ज्यान जोगाउन सफल भएका थिए ।

त्यसपछि ०६९ सालकै कात्तिकदेखि ५७ दिनसम्म लेनिन विष्टको नेतृत्वमा पेरिसडाँडा (माओवादी कार्यालय) घेराउ गर्ने कार्य भएको थियो । यसरी माओवादीमाथि निरन्तर दबाब पैदा भएपछि ०६९ माघ १० गते लेनिनलाई झुटा मुद्दा लगाएर काराबास (डिल्लीबजार सदरखोरमा) पठाइएको थियो । अदालतले सफाइ दिएपछि एक वर्षपश्चात् ०७० माघ १० गते लेनिन काराबास मुक्त भएका थिए ।

त्यसयता पनि लेनिन सम्पूर्ण बालसैनिकको हकअधिकारका निम्ति लड्दै आएका छन् । उनको लडाइँ हकअधिकार प्राप्तिमा मात्र केन्द्रित नभई बालबालिकाहरूलाई आइन्दा कसैले पनि हिंसात्मक क्रियाकलापमा सामेल नगरून् भन्नेतर्फ पनि सोझिएको छ । यसै क्रममा गत कात्तिकमा बैंककमा आयोजित कार्यक्रममा सहभागी हुन जान लाग्दा बादल नेतृत्वको गृह मन्त्रालयको निर्देशनमा उनलाई विमानस्थलबाटै जबर्जस्ति फर्काइएको थियो । तर, यसपटक भने उनी युरोप प्रस्थान गर्न सफल भएका छन् ।

उनको भ्रमणको सम्पूर्ण खर्च नेदरल्यान्ड सरकारले व्यहोर्ने भएको छ । नेदरल्यान्डस्थित अन्तर्राष्ट्रिय अदालत (हेग) मा आयोजना हुने विशेष कार्यक्रममा लेनिनले आफू तथा आफूजस्तै बालबालिकाहरूलाई माओवादीले कसरी दुरुपयोग गऱ्यो र उनीहरूले सत्ता पाइसकेपछि कसरी दुःख दिए भन्ने विषयमा सविस्तार जानकारी गराउनेछन् । लेनिन विष्टको युरोप भ्रमण प्रचण्डहरूका निम्ति कालान्तरमा दुर्भाग्य बन्ने सङ्केतहरू देखिएका छन् । यदि प्रचण्डलाई आफ्नो मिसनमा उपयोग निमित्तको ‘बार्गेनिङ’ मात्र होइन भने हिंसात्मक युद्धकालमा भएको विभिन्न आपराधिक कार्यका लागि प्रचण्डहरू कानुनी कारबाहीको दायरामा पुग्ने सम्भावना बढेको छ ।

लेनिन विष्टलाई युरोपेली मुलुकहरूले जसरी उच्च महत्व दिएका छन्, यसले प्रचण्डहरूको दुःखका दिन शुरु गराउने सङ्केत दिएको छ । युरोप प्रस्थान गर्नुअघि लेनिनसँग विभिन्न युरोपेली मुलुकका राजदूतहरूसँग भेटवार्ता भएको थियो । ‘बालसेना’ मुद्दाप्रति युरोपेली मुलुकहरू निकै गम्भीर देखिएका छन् ।