गरिबलाई वार्षिक ७२ हजार दिने राहुल गान्धीको घोषणा

गरिबलाई वार्षिक ७२ हजार दिने राहुल गान्धीको घोषणा


भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिव परिवारलाई वार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गरेका छन् ।

न्यूनतम आय योजना कार्यक्रम लागु गरेर अति गरिबीको रेखामुनि रहेका २० प्रतिशत परिवारलाई बैंक खातामै ७२ हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता उनले जनाएका हुन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले विश्वलाई नै उदाहरणीय हुनेगरी यो योजना ल्याइएको बताए । गरिबीमा रहेकाहरुलाई न्यूनतम आय सुनिश्चत गर्नका लागि न्यूनतम आय योजना लागु गरिने राहुलको भनाई छ ।

‘गत पाँच बर्ष जनता धेरै समस्याहरुबाट ग्रसित भए, विषेशगरी गरिब जनता बढी प्रभावित भए, त्यसैले हामीले गरिब जनताका लागि यो योजना ल्याएका हौँ,’ उनले भने ।

अध्यक्ष गान्धीले आफ्नो पार्टीले ल्याएको न्यूनतम आय सुनिश्चत गर्ने योजना ऐतिहासिक भएको दाबी गर्दै भने, ‘अत्यन्त गरिब २० प्रतिशत परिवारलाई न्यूनतम आयका लागि कांग्रेसले सुनिश्चत गर्दछ, बैंक खातामै हामीले ७२ हजार रुपैयाँ हाल्दिन्छौँ ।’

अहिले घोषणा गरेको योजनाका बारेमा अध्यक्ष गान्धीले झण्डै एक महिना अगाडि आयोजित एक चुनावी सभामा पनि चर्चा गरेका एएनआईले जनाएको छ । यस योजनाबाट झण्डै पाँच करोड परिवार र २५ करोड जनता लाभान्वित हुने कांग्रेस नेताहरुले बताएका छन् ।