गोरखाली सैनिकमाथि विभेद भएको दाबी

गोरखाली सैनिकमाथि विभेद भएको दाबी


गोरखा भूतपूर्व सैनिक सङ्घले बेलायती सेना र गोरखा भूपू सैनिकबीच हुँदै आएको विभेद अन्त्य नभएसम्म आफूहरुको सङ्घर्ष अन्त्य नहुने जनाएको छ ।

सङ्घले सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सन् १९९७ जुलाई १ अघि सेवा निवृत्त गोरखा भूतपूर्वसैनिकमाथिको तलव, निवृत्तिभरण र अन्य सुविधा बेलायती सैनिकलाई सरह बराबरी नदिएको गुनासो गरेको हो ।

सङ्घका अध्यक्ष कृष्णकुमार राईले हालै बेलायती रक्षा राज्यमन्त्रीको नेपाल भ्रमणपछि गोरखा भूपूसैनिकका लागि गरेको प्याकेज घोषणाबाट आफूहरु सन्तुष्ट नभएको बताउँदै सबैखालका सेवासुविधा बेलायती सैनिकसरह उपलब्ध हुनुपर्ने माग गरे । उनले गोरा सेना र गोरखा सैनिकबीच पेन्सनमा मात्रै २९५ प्रतिशत विभेद रहेको बताउँदै यसको समस्या समाधानका लागि नेपाल सरकार र बेलायत सरकारले पहल गर्नुपर्ने तर्क गरे ।

सङ्घका उपसभापति मणिकिराँत वान्तवाले पेन्सनको माग मात्र पूरा गरे पनि आफूहरुको मागको ९५ प्रतिशत माग सम्बोधन भएको ठहरिने बताउँदै बेलायत सरकारले विभेद नहटाएसम्म आफूहरुको आन्दोलन स्थगित नहुने चेतावनी दिए भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य राजेन्द्र राईले गोरखा भूतपूर्वसैनिकको समस्या समाधानका लागि सहयोग गर्न सांसदले आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेको दाबी गरे ।

अवकाश प्राप्त पूर्वगोरखा सैनिक डा. चन्द्र लक्सवाले गोरखा सैनिकबीचको सेवासुविधामा विभेदविरुद्ध आफूहरुले लामो समयदेखि आन्दोलन गर्दै आएको बताउँदै यसलाई सम्बोधन भएन भने आफूहरुले थप आन्दोलन गर्ने जानकारी दिए ।