नेपाल र जापानबीच श्रमिक पठाउने समझदारी





नेपाल र जापान सरकारबीच नेपाली कामदारलाई जापानमा रोजागारीको अवसर उपलब्ध गराउने सम्बन्धी ‘सहयोग समझदारी’ भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा आज नेपाली श्रमिक जापान पठाउनेसम्बन्धी सो समझदारी पत्रमा श्रम मन्त्रालयका निमित्त सचिव डा रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिसी साइगोले हस्ताक्षर गरेका हुन्।

हस्तारक्षरसँगै नेपाली कामदारलाई जापानको श्रम बजारमा रोजगारीको अवसर उपलब्ध गराउने मार्ग प्रशस्त भएको छ । गत जनवरीमा जापानले आफ्नो श्रम बजारमा अपुग श्रमशक्ति नेपाललगायत विभिन्न नौ देशबाट भित्र्याउने निर्णय गरेको थियो ।

सो अवसरमा श्रममन्त्री विष्टले नेपाली कामदार लैजानेसम्बन्धी समझदारीले नेपाल र जापानबीचको सम्बन्धलाई थप मजबुद र समृद्ध बनाउने विश्वास व्यक्त गर्र्दै समझदारीलाई छिटोभन्दा छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका राससले जनाएको छ ।

सरकारले सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै उनले नेपाली युवा कुनै झमेलामा नपरी आकर्षक गन्तव्य जान सकून् भन्ने उद्देश्यले दुई देशबीच समझदारी गरिएको बताए । रोजगारीका क्रममा नेपाली युवाले जापानमा सिकेको सीप र अनुभव नेपालको विकासमा प्रयोग हुने विश्वास पनि उनले व्यक्त गरे ।

सरकारले सीपयुक्त जनशक्तिलाई मात्र वैदेशिक रोजगारीमा पठाउने योजना अघि सारेको जानकारी दिँदै मन्त्री विष्टले जापानको श्रम बजारमा माग गर्ने दक्ष जनशक्ति उपलब्ध गराउन सरकारको ध्यान केन्द्रित हुने बताए।

श्रम मन्त्रालयका निमित्त सचिव घिमिरेले सघन सहकार्यका आधारबाटै समयसीमाभित्रै दुई देशकबीच समझदारी सम्भव भएको जानकारी दिए। उनले यस समझदारीले श्रम क्षेत्रमा सँगसँगै अगाडि बढ्न दुई देशलाई बलियो आधार सिर्जना गरेको बताए। नेपालका लागि जापानी राजदूत साइगोले यस समझदारीले नेपाली श्रमिकलाई जापानी नागरिक सरह सेवा सुविधा सुनिश्चित गर्ने उल्लेख गरे ।

प्रतिक्रिया