चैतभित्रै राजनीतिक मूलधारमा आउलान् विप्लव ?

चैतभित्रै राजनीतिक मूलधारमा आउलान् विप्लव ?


प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चैतभित्र राजनीतिक मूलधारमा ल्याइने दाबी गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलाई सम्बोधन गदै उनले विप्लव समूहको अतिवादी क्रियाकलापलाई अन्त्य गरिने अभिव्यक्ति दिए ।

‘सके राजनीतिक तवरबाट नसके जेल बसालेर’

‘सके राजनीतिक तवरबाट नसके जेलमा बसालेर भए पनि नक्कली कमरेडलाई राजनीतिक मूलधारमा ल्याइने छ’ भन्दै सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका केपीले अहिले विप्लव समूहले कम्युनिष्टको सरकारलाई असफल बनाउने, लोकतन्त्रलाई धरापमा पार्न खोज्ने, विकासनिर्माणको काम हुन नदिने र सरकारको लक्ष्य समाजवादलाई अवरोध गर्न खोजेको बताए । उनले थपे, ‘उहाँहरु सहज भएर आउनुहुन्छ । नभए जेलमा बसालेर भए पनि राजनीतिक मूलधारमा ल्याइन्छ ।’

प्रधानमन्त्री ओलीले आफूहरुले कम्युनिष्ट भनेर विप्लवको समूहलाई सहिष्णुता देखाए पनि उनीहरुले भने आफ्ना नेतालाई मार्ने भनेर कार्यकर्ता खटाएको जिकीर गरे। शान्ति प्रक्रियालाई चाँडो टुङ्ग्याउनका लागि सरकारले सबै पक्षसँग छलफल गर्दै सहमति गराउन थालेको जानकारी उनले गराए । ‘शान्ति प्रक्रियाको काम अब लामो समयसम्म राखेर कसैलाई खेल्न दिनुहुँदैन, कानूनी संरचना तयार भइसकेकाले अब समुचित ढङ्गले अविलम्ब शान्ति प्रक्रियालाई टुङग्याउने हो’, प्रम ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा सरकारले गरेका राम्रो कामको प्रचार गर्न तथा जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न सांसदसँग आग्रह गरे । आगामी वर्षको नीति र कार्यक्रमका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर फर्कन पनि सांसदसँग उनले अनुरोध गरे ।

यसैगरी, प्रधानमन्त्री ओलीले सरकारले २५ वर्षे विकासको लक्ष्य बनाउन थालेको जानकारी दिँदै उक्त लक्ष्यलाई ध्यानमा राखेर समेत योजना ल्याउन सांसदसँग आग्रह गरेका राससले जनाएको छ । उनले विस्तारै विश्व नै समाजवादतर्फ उन्मुख भइरहेको बेला नेपाल पनि समाजवादको ल्याउन सरकार दृढ छ भन्दै सामाजिक न्यायसहितको समाजवाद ल्याउन दिशामा सरकार क्रियाशील रहेको दाबी गरे । प्रचण्ड अमेरिकाबाट फर्कनेवित्तिकै पार्टी एकताको काम टुङग्याइने समेत उनले बताए ।