आठौँ राष्ट्रियमा एनआरएनएका २४ खेलाडी

आठौँ राष्ट्रियमा एनआरएनएका २४ खेलाडी


प्रदेश ५ मा हुने आठौँ राष्ट्रिय खेलकुदमा एनआरएनएबाट २४ खेलाडी सहभागी हुने भएका छन् । सात राष्ट्रबाट विभिन्न ९ खेलमा २२ पुरुष र २ महिला गरी २४ एनआरएनए खेलाडीले प्रतिस्पर्धा गर्ने चैत १० गते आइतबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी गराए । खेलाडीबाहेक एनआरएनएबाट २ प्रशिक्षक र ४ निर्णायक पनि आठौँ राष्ट्रियमा सहभागि हुनेछन् ।

सबैभन्दा बढी करातेमा १२ खेलाडी रहेका छन् । पुरुषतर्फ करातेमा यूएईबाट विजय तामाङ, लक्ष्मण मगर, उत्तम गुरुङ, कुमार भुसाल, लोकबहादुर श्रेष्ठ र रामबहादुर तामाङ, मकाउबाट नानबहादुर थापा र लोकमानसिंह श्रेष्ठ, अमेरिकाबाट जनकसिंह खड्का तथा मलेसियाबाट नोर्बु तामाङले प्रतिस्पर्धा गर्ने भएका छन् । करातेमै भाग लिने दुई महिला खेलाडीमा शान्तिदेवी अधिरकारीले मकाउ तथा १७औँ इन्चोन एसियाडमा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी विमला तामाङले अमेरिकाबाट खेल्ने छिन् ।

फुल कन्ट्याक्टमा जापानबाट अविरल घिमिरे, जुडोमा अस्ट्रेलियाबाट मोहन बम, बक्सिङमा जापानबाट प्रचण्ड केसी, लनटेनिसमा अस्ट्रेलियाबाट अमृत पौडेल र संरक्षकभूषण बज्राचार्य, गल्फमा हङकङबाट लवकुमार गुरुङ, ब्याडमिन्टनमा यूएईका विक्की बुढा, सूर्य गिरी र हीरालाल श्रेष्ठ, एथलेटिक्सको म्याराथनमा मकाउबाट नारी चन्द तथा तेक्वान्दोमा यूएईबाट नवीन श्रेष्ठ र अमेरिकाबाट पुष्प थापामगरले सहभागिता जानउने जानकारी दिइयो । पत्रकार सम्मेलनमा २४ खेलाडीले प्रतिस्पर्धा गर्ने स्पर्धासमेत सार्वजनिक गरिएको थियो ।

निर्णायकमा रवि शाही, योगेन्द्र कोइराला, शान्त ठोकर र राजेश कर्माचार्य तथा टिम प्रशिक्षकमा ११औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका स्वर्णधारी सुनील लामा र पर्शुराम घिमिरे छन् ।

बृहत् राष्ट्रिय खेलकुदमा एनआरएनए टोली पहिलोपटक सहभागी हुन लागेको हो । आठौँ राष्ट्रियमा एनआरएनएसहित सात प्रदेश र तीन विभागीय (आर्मी, प्रहरी र एपीएफ) गरी ११ टिमको सहभागिता रहनेछ ।